एमबाप्पे, नेयमार अनि पिएसजीको प्राथमिकता

पेरिस । पेरिस सेन्ट जर्मेन (पिएसजी) सुपर स्टार नेयमारसँग सम्झौता नविकरणको नजिक रहेको बताइन्छ । तर, अर्का स्टार केलियन एमबाप्पेको सम्झौता थप भएमा के पिएसजीमा के होला भन्ने अड्कल बाजी पनि हुने गरेको छ । दुवै स्टारको सम्झौता सन् २०२२ को समरमा सकिदैछ । तर नेयमारले भने ४ वर्षे सम्झौता थप गर्ने विश्वास गरिएको छ । उनले पिएसजीलाई पनि आफु २०२६ सम्म रहने विश्वास दिलाएको बताइन्छ । धेरैलाई लागेको थियो नेयमार लामो समय पिएसजी बस्ने छैनन् । उनी आफै पनि पिएसजी छाड्ने चाहनामा थिए । तर परिस्थिति फेरिएकोले नेयमार पनि आफू पिएसजीमै रहनेमा दृढ रहेको दाबी गरिएको छ । यो पिएसजीका लागि पनि सुखद पक्ष हो ।

नेयमार २९ वर्षका भए । एमबाप्पे भर्खर २२ वर्षका भए । नेयमारका तुलनामा एमबाप्पेलाई भविष्यको सुपर स्टारका रुपमा हेरिएको छ । आउने दशकमा उनी विश्व फुटबलका एक स्टार मध्येका हुने विश्वास गरिन्छ । २०१८ का विश्व कप विजेता एमबाप्पे केहि वर्ष अझै नेयमारको जोडीका रुपमा रहन्छन् वा उनले विकल्प रोज्छन् धेरैको चासो रहने गरेको छ ।
एमबाप्पले नेयमार विना पनि उच्च प्रदर्शन गर्न सक्ने पटक पटक प्रमाणित गरिसकेका छन् । तर, नेयमार हुँदा उनको छायाँ एमबाप्पलेमाथि पर्ने सम्भावना पनि उत्तिकै रहन्छ । अर्कोतर्फ रियल म्याड्रिड र लिभरपुल जाने विकल्प पनि एमबाप्पेसँग रहेको छ । दुवै टोलीले उनलाई भित्राउन चाहिरहेका छन् । कारण उनी क्लबको ठूलो नामका रुपमा स्थापित हुनेसक्छन् भन्ने अनुमान गरिएको छ ।

एमबाप्पेका लागि पैसा ठूलो विषय नहुन सक्छ । पिएसजीले उनलाई ठूलो रकम प्रस्ताव गर्ने सम्भावना छ । मुख्य विषय उनी नेयमारका साथमा अघि बढ्न चाहन्छन् वा उनको छायाँबाट मुक्त भएर आफ्नो क्षमता प्रदर्शन गर्न चाहन्छन् भन्ने हो । फ्रेन्च लिग भन्दा बलियो लिगमा आफूलाई प्रस्ताव गर्ने पनि एमबाप्पलेको चाहना हुन सक्छ । यद्दपी, नेयमार र एमबाप्पबीच हार्दिकतापूर्ण सम्बन्ध रहेकोले उनी पिएसजीमै केहि वर्ष बस्ने सम्भावना पनि उत्तिकै छ । तर एक पटक पिएसजीको नविकरण प्रस्तावलाई भने एमबाप्पेले अस्वीकार गरेकाले उनले विकल्पका बारेमा सोचेको अनुमान गरिएको छ । एमबाप्पेका लागि पनि निर्णय लिन सजिलो भने छैन । तर उनी जहाँ रहेपनि आउने वर्षमा उनी युरोपियन फुटबलका एक स्टारका रुपमा भने स्थापित हुने बलियो सम्भावना छ ।

प्रतिक्रिया