ललितपुर मेयर वुमन्स च्याम्पियनसिप : सुदूरपश्चिमको विजयी शुरुवात

काठमाडौं । सुदूरपश्चिम प्रदेशले ललितपुर मेयर वुमन्स च्याम्पियनसिप–२०७७ टि२० क्रिकेट प्रतियोगिता विजयी सुरुवात गरेको छ । शनिवार ललितपुर मेयर–११ लाई ७ विकेटले पराजित गर्दै सुदूरपश्चिमले विजयी सुरुवात गरेको हो । जितको लागि १ सय ८ रनको विजयी लक्ष्य पछ्याएको सुदूरपश्चिमले १९ ओभरमा ३ विकेटको क्षतिमा पूरा गर्यो । सुदूरपश्चिमकी युवा आक्रामक ब्याटर डली भट्ट १४ बलमा २ चौका र १ छक्का सहित २२ रनमा अविजित रहिन् । कविता जोशी १० बलमा १ छक्का सहित १० रनमा अविजित रहिन् । १९ औं ओभरको अन्तिम बलमा सुमन खतिवडालाई कविता जोशीले छक्का प्रहार गर्दै सुदूरपश्चिमको सहज जित पक्का गरिन् ।

विकेटकिपर मञ्जु बोगटी ४२ बलमा ६ चौका सहित सर्वाधिक ४१ रन बनाइन् । रेवती धामी १८ र कविता कुँवर ९ रनमा आउट भइन् । ललितपुरकी सुमन खतिवडा र आरति विडारीले १–१ विकेट लिए । त्यसअघि टियु क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ थालेको ललितपुर मेयर ११ ले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ७ रन बनाएको थियो । ललितपुरकी शीर्षक्रमकी ब्याटर कञ्चन श्रेष्ठ ५६ बलमा ८ चौका ६३ रनमा अविजित रहिन् । कन्चनले ४९ बलमा अर्धशतक पूरा गरेकी थिईन् ।

तीव्र गतिकी बलर कविता कुँवरको तेस्रो ओभरको तेस्रो बलमा ओपनर सोभा आले १ रनमा विकेटकिपर मञ्जु मोगटीबाट स्टम्पिङ आउट भइन् ।सातौं ओभरको तेस्रो बलमा अनुराधा चौधरी ४ रनमा रन आउट भइन् । लगत्तै अर्को बलमा विन्दा कटुवाल शून्यमा रन आउट हुँदा ललितपुर २२–३ को अवस्थामा पुगेको थियो । सुमन खतिवडा १७ बलमा २ चौका सहित १६ रनमा क्याच आउट भइन् । अस्मिना कर्माचार्य २३ बलमा २ चौका सहित १६ रनमा आउट भइन् । सुदूरपश्चिमका कविता कुँवर, ऋतु कनोजियाले र सम्झना खड्काले १–१ विकेट लिइन् । सुदूरपश्चिमले आफ्नो दोस्रो खेलमा आइतबार एपिएफसँग खेल्ने छ । ललितपुरले आइतबार लुम्बिनी प्रदेशसँग खेल्ने छ ।

प्रतिक्रिया