पछिल्लो ८ महिनामा ४४७ व्यक्तिको हत्या

काठमाडौं । कोरोना महामारीले गर्दा लकडाउन भएको अवस्थामा अपराधको घटना बढेको देखिएको छ । नेपाल प्रहरीको तथ्यांकले नै विगतका भन्दा हत्या, आत्महत्या र बलात्कारका घटना बढेको देखाएको हो । १५ देखि २६ प्रतिशतले अपराधको श्रृखंला बढेको देखिन्छ । प्रहरी प्रधान कार्यालयले उपलब्ध गराएको पछिल्लो ८ महिनाको अपराधमा व्यक्ति हत्या २१.१३ र आत्महत्या करिव २६.८५ प्रतिशतले बढेको देखिन्छ । यो अघिल्लो आर्थिक वर्षसँग तुलना गरिएको आधारमा हो । प्रहरीका अनुसार चालु आर्थिक वर्षको फागुनसम्म चार सय ४७ वटा व्यक्ति हत्याका घटनाहरु भएका छन् । यसैगरि आत्महत्याका ४ हजार ४ सय ८३ वटा घटनाहरु प्रहरीमा दर्ता भएको जानकारी दिएको छ । बलात्कारका एक हजार ६ सय ५३ उजुरी परेका छन् ।

अघिल्लो वर्षका ८ महिनाको तुलनामा यो वर्ष व्यक्ति हत्या २१.१३, बलात्कार १५.६७ र आत्महत्याका घटना २६.८५ प्रतिशतले बृद्धि भएको छ । यसैगरी अन्य अपराधमा अपहरणका ६३, लागु औषधका एक हजार ९ सय ८३, मानव बेचबिखन तथा ओसारपसारका ६५, चोरीका एक हजार पाँच सय ६९, बैंकिङ कसुरका एक हजार ६ सय ८८ र साइबर अपराधका ३० वटा घटना भएका छन् । प्रहरीले बलात्कारका घटनामा ११.२१ प्रतिशत आफन्त संलग्न रहेको बताएको छ । चिनजान तथा आफन्त संलग्न रहेको प्रतिशत करिब ८२ रहेको छ ।

चालु वर्षको फागुनसम्म विभिन्न कसुरमा गरि २६ हजार ३ सय ६ वटा मुद्दा दर्ता भएका छन् । अघिल्लो वर्षको यो अवधिको तुलनामा १६.१६ प्रतिशतले मुद्दा बढेको प्रहरी प्रधान कार्यालयले जनाएको छ । प्रहरी प्रधान कार्यालयले अघिल्लो आर्थिक वर्षको सुरुको ८ महिनाको तुलनामा फरार पक्राउ एक सय ३८ प्रतिशतले बढेको जनाएको छ । चालु वर्षको फागुनसम्म ४ हजार ७ सय ५ जना फरार प्रतिवादी पक्राउ परेका छन् ।

प्रतिक्रिया