खोजखबर

परिवर्तनको प्रक्रिया उल्ट्याउन खोजियो : प्रचण्ड

सौर्य अनलाइन २०७७ चैत २० गते १८:३६ मा प्रकाशित

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली जनताको सात दशकदेखिको संघर्षबाट प्राप्त उपलब्धि उल्ट्याउन खोजिएको बताएका छन् ।

पछिल्ला दिनमा केही मानिसले देखाएको व्यवहार चरम निरङ्कुश भएको टिप्पणी गर्दै उनले परिवर्तनले स्थापित गरेका मूल्य तथा मान्यता उल्ट्याउन भइरहेको प्रयास जनताले परास्त गर्ने उल्लेख गरे ।

प्राध्यापक माणिकलाल श्रेष्ठको श्रद्धाञ्जलीसभालाई आज यहाँ सम्बोधन गर्दै अध्यक्ष दाहालले भने, ‘नेपाली जनताको सात दशक लामो संघर्षबाट प्राप्त उपलब्धिलाई उल्ट्याउन खोजिँदैछ ।’

उनले लोकतन्त्रका मूल्य मान्यता र आन्दोलनका उपलब्धि, शहीदले बगाएको रगतलाई अपमान गर्ने र समाजलाई नकारात्मक दिशातिर लैजाने प्रयास भएको बताए । अध्यक्ष दाहालले गत पुस ५ गते संसद् विघटन गरेर त्यसको सङ्केत दिएको भन्दै आन्दोलनको बलमा संसद् पुनःस्थापना भए पनि खतरा अझै टरिनसकेको स्पष्ट पारे ।

उनले नियम, मूल्य र मान्यताले काम नगर्ने तर सेटिङले काम गर्ने विडम्बनाको सामना गर्नुपरिरहेको भन्दै यस्तो अवस्थामा श्रेष्ठको जीवनबाट शिक्षा लिने बेला भएको बताए ।

प्रतिगमनका विरुद्ध एक भएर जान र आवश्यक परे आन्दोलन गर्न पनि पछि पर्न नहुने उनको भनाइ थियो । स्व श्रेष्ठको व्यक्तित्वको प्रशंसा गर्दै उनी स्मरण गरिरहनुपर्ने खालको व्यक्तित्व रहेको बताए । उहाँले वर्तमान परिस्थितिमा उनको जीवनीबाट निकै शिक्षा लिनुपर्ने धारणा राखे ।

प्रतिक्रिया

पछिल्ला अपडेट्स

लोकप्रिय