इटालीको लगातार तेस्रो जित

लण्डन । फिफा विश्वकप कतार २०२२ को युरोपियन छनोट खेलमा फ्रान्सले जित निकाल्दा इटालीले समूह चरणमा लगातार तेस्रो जित निकालेको छ । एन्टोइन ग्रिजमनको एकमात्र गोलमा फ्रान्सले बोस्निया एन्ड हर्जगोभिनामाथि उसकै मैदानमा १–० को झिनो जित निकालेको हो । उनले ६०औं मिनेटमा एड्रिएन राविओटको पासमा गोल गरेका थिए । घरेलु टोलीविरुद्ध बल पोसेसनमा पकड राखेपनि त्यसपछि थप गोल निस्कन नसक्दा ग्रिजमनको गोल नै फ्रान्सको जितमा निर्णायक बन्यो ।

यही समूह ‘डी’ को अर्काे खेलमा युक्रेन र काजकस्तानले १–१ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् । घरेलु टोली युक्रेनका रोमन यारेमचुकले गोल गर्दा काजकस्तानका सेरिकजान मुजहिकोभले बराबरी गोल फर्काए । यो नतिजापछि समूम फ्रान्स ३ खेलबाट ७ अंक जोडेर शीर्षस्थानमा रहँदा युक्रेन ३ अंक जोडेर दोस्रो स्थानमा रहेको छ । २ अंक जोडेको फिनल्यान्ड तेस्रो स्थानमा रहँदा समान १ अंक जोडेका बोस्निया र काजकस्तान चौथो र पाँचौ स्थानमा रहेको छ ।

यस्तै समूह ‘सी’ को खेलमा इटालीले लिथुआनियालाई उसकै मैदानमा २–० ले हराएको छ । इटालीको जितमा स्टेफानो सेन्सी र सिरो इमोविलेले गोल गरे । स्टेफानो सेन्सीले ४८औं मिनेटमा गोल गर्दा सिरो इमोविलेले इन्ज्युरी समयको थप गरिएको चौथो मिनेटमा विजयी गोल गरेका थिए । यही समूहको अर्काे खेलमा नर्दन आयरल्यान्ड र बुल्गेरियाले गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन् । यो नतिजापछि इटाली तीन खेलबाट तीन जितपछि ९ अंक जोडेर शीर्षस्थानमा रहेको छ । स्वीट्जरल्यान्ड ६ अंक जोडेर दोस्रो स्थानमा रहेको छ । समान १ अंक जोडेको नर्दन आयरल्यान्ड र बुल्गेरिया तेस्रो र चौथो स्थानमा रहँदा अंकविहीन लिथुआनिया पुछारमा रहेको छ ।

प्रतिक्रिया