मनकामना केबलकारको स्तरोन्नति

काठमाडौं । मनकामना केबलकारको स्तरोन्नति गरिने भएको छ । २०५५ सालदेखि केबलकार सेवा प्रदान गर्दै आएको कम्पनीले नयाँ–नयाँ प्रविधिको प्रयोग गर्दै केबलकारको स्तरोन्नति गर्न लागेको हो । पूर्ण रुपमा स्तरोन्नति गर्न करिब दुई वर्ष लाग्ने कम्पनीले जनाएको छ । केबलकार भने मर्मतको समयमा बाहेक अन्य समयमा सञ्चालनमा आउने कम्पनीका कार्यकारी सञ्चालक राजेशबाबु श्रेष्ठले बताएका छन ।

दुई साता अघि तीन चरणमा स्तरोन्नति गर्न सकिने रिपोर्ट आएकोले सोही अनुसार केबलकारको स्तरोन्नति गर्न लागिएको पनि कम्पनीले जनाएको छ । केबलकारको मुख्य लट्ठा दुई वर्षपछि फेरे हुने प्राविधिक अडिट रिपोर्ट आएकाले लट्ठा फेर्ने काम अन्तिम चरणमा गरिने भएको छ ।

तीन चरणमा केबलकारको स्तरोन्नति सम्पन्न गरिने भएको छ । पहिलो चरणमा तत्काल अति आवश्यक र मर्मत गर्न नसकिने पाटपुर्जा फेर्ने, दोस्रो चरणमा नयाँ प्रविधमैत्री बनाउन पूर्वाधार तयार तथा केही अन्य थप पाटपुर्जा फेर्ने र अन्तिम चरणमा हालको एनालग प्रणालीबाट डिजिटल प्रणालीमा स्तरोन्नति गर्ने, केबलको लट्ठा फेरबदल गर्ने, डीसी ड्राइभलाई एसी ड्राइभमा रुपान्तरण गरी विद्यमान प्रविधियुक्त बनाइने भएको छ ।

प्रतिक्रिया