आरबिबी एनभीए लिग : उद्घाटन खेलमा न्यू डायमण्ड र ढोरपाटन भिड्ने

काठमाडौं । बिहीबारदेखि राजधानीमा शुरु हुने पाँचौ आरबीबी एनभीए महिला तथा पुरुष राष्ट्रिय क्लब लिग भलिबल च्याम्पियनसिपको उद्घाटन खेलमा न्यू डायमण्ड स्पोट्र्स क्लब र ढोरपाटन स्पोर्टस् क्लब भिड्ने भएका छन् । नेपाल भलिबल संघ एनभीएको आयोजनामा हुने प्रतियोगिताको उद्घाटन खेलमा महिलातर्फ न्यू डायमण्ड र ढोरपाटनबीच खेल हुने भएको हो । खेल त्रिपुरेश्वरस्थित कभर्डहलमा बिहान १० बजे शुरु हुनेछ । त्यसपछि उद्घाटन समारोह हुनेछ ।

प्रतियोगिताअघि बुधबार बसेको प्राविधिकहरुको बैठकले खेल तालिका तय गरेको हो । जसअनुसार बिहीबारै पुरुषर्फ नेपाल पुलिस क्लब र नयाँबजार सामाजिक युवा क्लब, एपीएफ र बुलबुले रारा क्लब तथा त्रिभुवन आर्मी क्लब र मणिमुकुन्द भलिबल क्लबबीच खेल हुनेछ ।
प्रतियोगितामा पुरुषतर्फ ७ र महिलातर्फ ६ टिमले प्रतिस्पर्धा गर्नेछन् । यसअघि पुरुषतर्फ ८ टिम खेल्ने भनिए पनि अन्तिम समयमा बुद्धटोल क्लब सहभागी भएन । चैत १९ देखि २६ गतेसम्म हुने प्रतियोगिता राउण्ड रोविन लिगका आधारमा हुनेछ । त्यसपछि महिला र पुरुषतर्फका शीर्ष दुई टिमबीच फाइनल खेल हुनेछ ।

प्रतिक्रिया