रामेछापमा प्रचलित उखान – टुक्का

नवीन केसी, दर्शनाचार्य

बालकृष्ण पोखरेलले उखान–टुक्कालाई लोकसाहित्यको धरातल खडा गर्ने मेरुदण्डका रूपमा लिएका छन् । कृष्णप्रसाद पराजुलीले कुनै पनि जातिका भाषिक समुदायका विभिन्न व्यक्तिले पुस्तौँ पुस्तादेखि साझा अनुभवका रूपमा आख्यान वा दृष्टान्तमूलक अभिव्यक्तिको सामान्यीकरण नै उखान–टुक्का हो भनेका छन् ।

 

वागमती प्रदेशमा पर्ने रामेछाप जिल्ला लोक साहित्यका विविध विधा, उपविधाहरू र ऐतिहासिक गरिमाले भरिपूर्ण छ । यहाँ लोकगीत, लोककविता, लोकगाथा, लोकनाटक, लोककथा, पहेली, उखान–टुक्का, गाउँखाने कथा आदि पाइन्छन् । तीमध्ये लोकसाहित्यअन्तर्गत उखान–टुक्का, गाउँखाने कथा आदिको स्थान महत्वपूर्ण छ । उखान–टुक्का लोकसाहित्यको एक प्रमुख विधा हो । उखान–टुक्काको सिर्जनाभूमि लोकजीवन हो । लोकमानस स्वभावतः प्रचलित भाषाप्रति आकर्षित भइरहने हुनाले भाषाको प्राप्तिसँगसँगै उखान टुक्काको जन्म भएको हो । उखान–टुक्काको उत्पत्ति खोज्दै जाँदा प्राचिन युगसम्म पुगिन्छ । लोकभावनाको पहिलो संकलन नै वेद हो । ऋग्वेदमा पाइने काव्यमूल्यलाई लोकसाहित्यकै रूपमा गणना गर्ने गरिएको छ ।

संस्कृत भाषाको आख्यान शब्दमा ‘उप’ उपसर्ग गाँसिएर उपाख्यान शब्द बनेको र त्यसैबाट विकसित हुँदै उखान–टुक्का शब्द भएको मानिन्छ । लोकजीवनका अनुभूतिको खँदिलो अनुभवका रूपमा उखान–टुक्कालाई लिइन्छ । जीवन अनुभवका विविध पक्षलाई गहकिलो रूपमा प्रस्तुत गर्ने, नीतिनिर्देशन गर्ने, शिक्षा दिने क्रममा दृष्टान्त र उपमाका रूपमा उखान–टुक्काहरू आएका छन् । उखान–टुक्काले लोकजीवनका विश्वास र मान्यता बोकेको हुन्छ । उखान–टुक्का सबै भाषाको अलंकार हो । नेपालीमा उखान–टुक्कालाई लोकोक्ति पनि भनिन्छ । नेपाली बृहत् शब्दकोशमा लोकको अनुभव सँगालिएको र संक्षेपमा व्यक्त गरिएको छ । त्यसै गरी सो शब्दकोशमा लोकजीवनका प्रचलित अनुभवपूर्ण चुड्किला, उक्ति, आहान र कहावतलाई उखान–टुक्काका अर्थमा प्रस्तुत गरिएको छ । लोकले प्रयोग गर्ने उक्ति लोकोक्ति भएकाले उखान–टुक्काको अर्थ लोकका जनसाधारणको उक्ति हो । जनसाधारण समुदायको अनुभव र विश्वासको अभिव्यक्ति उखान–टुक्कामा पाइन्छ । उखान–टुक्कामा सामाजिक, सांस्कृतिक पक्षको प्रतिबिम्ब पाइन्छ । भाषाको सुरुआतसँगै उखान–टुक्काको जन्म भएकाले यसले भाषालाई प्रभावकारी बनाउँदै अघि बढेको पाइन्छ । लोक अनुभवबाट सिर्जना भएका चुट्किला उक्तिलाई उखान–टुक्का भनिन्छ । उखान–टुक्कामा लोकको सारगर्भित उक्ति रहन्छ । उखान–टुक्काले लोक अनुभवलाई बोक्ने र लोकविश्वासलाई सूत्रबद्ध रूपमा पोख्ने खिरिलो उद्गारका रूपमा प्रकाश पार्दछ । कुनै पनि उखान–टुक्का परिपक्व बन्दै लोकव्यवहारमा गहकिलो कुराको बोध गराउँछ ।

उखान–टुक्काको उत्पत्ति लोकसाहित्यको उत्पत्तिसँगै भएको मानिन्छ । लोकले परम्परागत रूपमा भन्दै र सुन्दै आएको परम्परित उक्तिलाई उखान–टुक्का भनिन्छ । परम्परादेखि लोकजीवनमा मौखिक रूपमा चलिआएको उक्ति नै उखान–टुक्का हो । यो जहाँ उत्पत्ति भए पनि स्थान र समय दुबै दृष्टिले सार्वभौम मौखिक उक्ति हो । यसका रचनाकार अज्ञात रहेका हुन्छन् भने मौखिक रूपमा सम्प्रेषित गद्यात्मक छोटो उक्ति हुन्छ । उखान–टुक्का मौखिक रूपमा वा श्रुति परम्पराबाट विकसित हुँदै आजसम्म आइपुगेको छ । यो एक पुस्ताबाट अर्को पुस्ता र एक समयबाट अर्को समयमा सर्दै आएको छ । लोकसाहित्यको उत्पत्तिसँगै उखान–टुक्का–टुक्काको पनि विकास भएको मानिन्छ । उखान–टुक्काका विषयमा विभिन्न विद्वान्हरूले आ–आफ्नो किसिमबाट परिभाषा दिएका छन् । शम्भुप्रसाद कोइरालाले मानव जीवनका पुस्तेनी अनुभवका वौद्धिक एवं सारगर्भित निचोड नै लोक मानसमा प्रचलित उखान–टुक्काहरू हुन् भनेका छन् । वालकृष्ण पोखरेलले उखान–टुक्कालाई लोकसाहित्यको धरातल खडा गर्ने मेरुदण्डका रूपमा लिएका छन् ।

कृष्णप्रसाद पराजुलीले कुनै पनि जातिका भाषिक समुदायका विभिन्न व्यक्तिले पुस्तौँ पुस्तादेखि साझा अनुभवका रूपमा आख्यान वा दृष्टान्तमूलक अभिव्यक्तिको सामान्यीकरण नै उखान–टुक्का हो भनेका छन् । कृष्णदेव उपाध्ययले हजारौँ वर्षदेखि बोलचालमा आइरहने उखान–टुक्का मनुष्यजीवनको मुख्य साथी हो भनेर परिभाषा गरेका छन् । मोहनराज शर्माले वाक्यस्तरको संरचनामा हुने सूत्रात्मक अभिव्यक्तिलाई उखान–टुक्का भनेका छन् । जसको अर्थ श्रोतासँग गाँसिएको हुन्छ । जीवेन्द्रदेव गिरीका अनुसार उखान–टुक्काको आकार लोककथा, लोकगाथा, लोकनाटक र धेरै जसो लोकगीतका भन्दा सानो तर अर्थको गहनता, व्यापकता र चमत्कार भने ज्यादै सशक्त र प्रभावकारी हुन्छ । कपिल अज्ञातले उखान–टुक्कालाई लोक अनुभवले खारिएको खँदिलो अति प्रभावकारी गद्यात्मक अभिव्यक्ति हो भनेका छन् । तेजप्रकाश श्रेष्ठले लोकमानसका संक्षिप्त तथा लोकप्रिय उक्तिलाई उखान–टुक्का मानेका छन् । दीपकप्रकाश सिवाकोटी लोकजीवनका व्यापक अनुभवबाट सिर्जना भएको उक्ति वा कथन नै उखान–टुक्का हो भन्ने निष्कर्षमा पुगेका छन् ।

यसरी उखान–टुक्कालाई परिभाषित गर्ने क्रममा विभिन्न साहित्यकारहरूमा खासै तात्विक भिन्नता भने भेटिँदैन । यथार्थमा भन्दा उखान–टुक्का लोकजीवनको खँदिलो उद्गार हो । उखान–टुक्काले कथनलाई मीठो र सामान्य भनाइलाई विशिष्ट बनाउने काम गर्दछ । भाषिक व्यवहारमा उखान–टुक्काले छोटो समयमै परिपक्व व्यवहारको अभिव्यक्ति दिने, गहकिला अनुभव व्यक्त गर्ने, सामाजिक, सांस्कृतिक प्रतिबिम्ब व्यक्त गर्ने हुनाले यसको भाषिक व्यवहारमा महत्वपूर्ण स्थान रहेको छ । उखान–टुक्का–टुक्काले भाषालाई प्रभावकारी बनाउँदै अगाडि बढेको पाइन्छ ।
रामेछाप जिल्लामा प्रचलित उखान–टुक्काहरूलाई संरचनाका आधारमा विश्लेषण गर्न सकिन्छ । संरचना भन्नाले आकार प्रकार र त्यसको निर्माण प्रक्रियालाई संकेत गर्दछ । यस जिल्लामा प्रचलित उखान–टुक्काहरू सबै एकै प्रकृतिका छैनन् । कुनै लामा, कुनै छोटा, कुनै गद्यात्मक, कुनै पद्यात्मक, कुनै सामान्य छन् भने कुनै प्रश्नोत्तरात्मक छन् । यसै आधारमा रामेछाप जिल्लाका उखान–टुक्काहरूको विश्लेषण गर्न सकिन्छ ।

यस जिल्लामा प्रचलित उखान–टुक्कालाई आकारगत रूपमा लामा र छोटा गरी दुई किसिमबाट विश्लेषण गर्न सकिन्छ । दुई शब्ददेखि चार शब्दसम्मको मेलबाट बनेका उखान–टुक्कालाई छोटा आकारका उखान–टुक्का भन्न सकिन्छ । उखान–टुक्काका रूप छोटा भएता पनि त्यसले पूर्ण अर्थ दिन्छन् । ती मध्ये कुनै क्रियाको प्रयोग भएका छन् भने कुनैमा क्रियाको प्रयोग नभएर पनि भाव प्रकट गरेका उखान–टुक्काहरू प्रचलनमा रहेका छन् । जस्तै ः ‘उम्रदै तीनपात । तित्राको मुखै वैरी । जति मान्छे उति बुद्धि । आए आँप गए झटारो आदि ।’ यी र यस्ता किसिमका उखान–टुक्काहरू कुराको सिलसिलामा भन्ने गरेका पाइन्छन् ।

रामेछाप जिल्लामा लामा रूप भएका उखान–टुक्काहरू पनि प्रशस्त पाइन्छ । यहाँ प्रचलित उखान–टुक्काहरू १५ अक्षर सम्मका छन् । जस्तैं ः ‘बाबुआमाको मन छोराछोरीमाथि छोराछोरीको मन ढुंगामुढामाथि । एक दिनको पाहुना मीठोमीठो खाउ, दुई दिनको पाहुना जसोतसो खाउ, तीन दिनको पाहुना जतासुकै जाउ । माछो देख्दा दुलाभित्र हात, सर्प देख्दा दुलाबाहिर हात । बिग्रेको मान्छेको भत्केको चाल, जता हे¥यो झ्यालै झ्याल । पढ्नु गुन्नु छैन काम हलो जोती खायो माम । भदौमा आँखा फुटेको डिँगो सधैँ हरियो देख्छ आदि ।’

रामेछाप जिल्लामा प्रचलित उखान–टुक्काहरूलाई लयका आधारमा पनि विश्लेषण गर्न सकिन्छ । लयका आधारमा गद्यात्मक र पद्यात्मक गरी दुई किसिमबाट विश्लेषण गरिन्छ । निर्माण शैली गद्य नै भए पनि कुराको प्रसंगमा प्रयोग गरिने भाषिका सौन्दर्यले गर्दा श्रोताका लागि श्रुति ग्राह्य बनेको छ । जस्तै ः ‘अनाथको दैव सहाय । अचानाको पिर खुकुरीले जान्दैन । आलु खाएर पेडाको धाक । साँढेको जुधाइ, बाच्छाको मिचाइ । लोभीको देशमा ढाँट मर्दैन ।’ यसरी प्रसंगवश यी उखान–टुक्काहरूको प्रयोग भएका पाइन्छन् ।

प्रचलित उखान–टुक्काहरू केही पद्यात्मकता किसिमका पनि पाइन्छन् । यस्ता किसिमका उखान–टुक्काहरूबाट गद्यात्मकता भन्दा भिन्दै किसिमको रसानुभूति प्राप्त हुन्छ । पद्यात्मक उखान–टुक्कामा भएको लय र भावले ती उखान–टुक्काहरूमा कलात्मकता थप्ने काम गर्दछ । यस जिल्लामा पद्य लयका पनि प्रशस्त उखान–टुक्काहरू प्रचलनमा छन् । जस्तै : ‘अघिपछि अन्त, चैतमा जन्त । अन्नको तरान, पानीको परान । उम्केको माछा तीन धार्नी, मरेको छोरी जम्दार्नी । उत्तर केरा, दक्षिण बाँस, उसका घरको सर्वनाश । एक पैसाको लेनदेन, कुरा गर्न तीन दिन । खडेरीले भेटेको जेठ, खोलाले देखेको खेत । जसका छोरा उसका धन, जसका वस्तु उसका वन । जसले खायो चिसो घिउ, उसकै सुक्यो ढाडै जिउ । जसले लायो आली, उसले खायो बाली । ढाँटेको कुरा काटे मिल्दैन, मूलाको ड्याङभित्र हात्ती लुक्दैन । बिहानको बिमिरो दिउँसोको राई, बेलुकाको मूला कालको भाइ । तै रानी मै रानी कसले भर्छ कुवाको पानी आदि ।’

प्रतिक्रिया