भोकमरी शून्यमा झार्ने लक्ष्य प्राप्तिमा ढिलाइ, नेपाल मध्यम अवस्थामा

काठमाडौं । कोरोना महामारी र अन्य चुनौतीका कारण सन् २०३० सम्म भोकमरी शून्यमा झार्ने भनी दिगो विकास लक्ष्य अनुरुप अन्तर्राष्ट्रिय समुदायले लिएको लक्ष्य प्राप्तिमा ढिलाइ हुने भएको छ । विश्वव्यापी भोकमरी सूचांक (जिएचआइ) ले संयुक्त राष्ट्रसंघका विभिन्न एजेन्सीद्वारा उपलब्ध गराइएका तथ्यांकहरूमा आधारित रहेर तयार गरेको सन् २०२० को प्रतिवेदनले यो तथ्य औँल्याएको हो ।

यो प्रतिवेदन १३२ देशका तथ्यांकहरू मूल्यांकन गरी तयार गरिएको हो । आज ललितपुरमा आयोजित एक कार्यक्रममा प्रतिवेदन सार्वजनिकीकरण गरिएको हो । कार्यक्रममा नेपालको स्थितिबारे पनि समीक्षा गरिएको थियो । राष्ट्र संघले सन् २०१५ मा नेपाल लगायत अन्य सदस्य राष्ट्रहरूद्वारा दिगो विकासका लक्ष्यहरू अवलम्बन हुने घोषणा गरेको थियो जसमध्ये भोकमरी शून्यमा झार्ने एउटा लक्ष्य हो ।

यो वर्षको प्रतिवेदनले मानव समुदाय भोकमरी शून्यमा झार्ने लक्ष्यबाट झन् धेरै टाढिएको देखाउँछ । दीर्घकालीन भोकमरीको समस्याले संसारभरका ६९ करोड मानिसलाई प्रभाव पारिरहेको छ भने १३ करोड ५० लाख मानिसले अहिले उपयुक्त पोषण नपाइरहेको अवस्थामा छन् । अहिले विश्वव्यापी भोकमरी सूचांक १८.२ छ ।

सन् २००० को तुलनामा यसमा सुधार भए पनि अझै धेरै सुधार हुन आवश्यक छ । पचास भन्दा बढी देशमा अहिले पनि भोकमरी दर उच्च छ । चौध करोड चार लाख बालबालिका अझै पनि कुपोषणका कारण आफ्नो उमेरभन्दा कम उचाइका छन् । चार करोड सात लाख बच्चाहरू कुपोषणको शिकार भएका छन् र सन् २०१८ मा ५३ लाख बच्चाहरूको पाँच वर्ष नपुग्दै मृत्यु भयो । यसको मुख्य कारण कुपोषण नै देखिएको थियो ।

नेपालको स्थिति सुधारोन्मुख

विश्वव्यापी भोकमरी सूचांकमा नेपाल १०७ देशमध्ये ७३ औँ स्थानमा परेको छ । सन् २००० मा नेपालको जिएचआइ सूचांक ३७.४ थियो जुन जोखिमपूर्ण मानिन्छ । तर, यो क्रमशः घट्दै सन् २०२० मा १९.५ छ । नेपाल भोकमरी अवस्थामा जोखिमपूर्णबाट गम्भीर हुँदै अहिले मध्यम अवस्थामा आएको छ ।

सन् २००० मा मानिसहरूमा कुपोषणको प्रतिशत करिब २४ प्रतिशत थियो भने सन् २०२० मा ७ प्रतिशत हाराहारी छ । त्यस्तै आफ्नो उमेरका तुलनामा कम उचाइ भएका पाँच वर्षमुनिका बालबालिकाको प्रतिशतमा पछिल्ला २० वर्षमा नेपालले राम्रो सुधार गरेको छ । सन् २००० मा यस्ता बालबालिकाको सङ्ख्या ५८ प्रतिशत थियो भने सन् २०२० सम्म आइपुग्दा ३७ प्रतिशतमा झरेको छ ।

नेपालमा आफ्नो उमेर र शारीरिक बनावटको तुलनामा कम तौल भएका पाँच वर्षमुनिका बालबालिकाको प्रतिशतमा भने यी बीस वर्षमा खासै सुधार भएको छैन । सन् २०२० को जिएचआइले नेपाल र डेमोक्रेटिक रिपब्लिक अफ कङ्गोको पोषण अवस्थालाई नजिकबाट नियालेको हो । सन् २००० मा यो संख्या ११ प्रतिशत थियो भने सन् २०२० मा ९ प्रतिशत छ ।

त्यस्तै नेपालको शिशु मृत्युदर (पाँच वर्ष नपुग्दै मृत्यु हुने) सन् २००० मा ८ प्रतिशत थियो भने २०२० मा ५ प्रतिशत हाराहारीमै छ । समग्रमा, द्वन्द्व, गरिबी, असमानता र तीव्र गतिमा भइरहेको जलवायु परिवर्तनका कारण भोकमरी बढिरहेको छ । अझ विश्वव्यापी कोरोना भाइरस महामारी र अफ्रिकी देशहरूमा आएको सलह महामारीका कारण दसौँ लाख मान्छे भोकमरीको शिकार हुन सक्ने देखिएको छ ।

राष्ट्रसंघले संसारभर अब थप सात लाख बालबालिका भोकमरीको शिकार हुने अनुमान गरेको छ । त्यस्तै न्यून र मध्यम आय भएका देशमा छ करोड सात लाख बालबालिका कुपोषणको शिकार हुने अनुमान छ । कोरोना भाइरसले निम्त्याएका बन्देजहरुका कारण करिब एक लाख तीस हजार बालबालिकाले ज्यान गुमाउन सक्ने अनुमान गरिएको छ । – रासस

प्रतिक्रिया