खोजखबर

देशका विभिन्न भागमा देखिएको तुवाँलो तत्काल नहट्ने

सौर्य अनलाइन २०७७ चैत १८ गते १२:०० मा प्रकाशित

काठमाडौं । विगत केही दिनयतादेखि देशका विभिन्न भागमा देखिएको तुवाँलो तत्काल नहट्ने भएको छ । मौसमविद् समिर श्रेष्ठका अनुसार तुवाँलो हट्नका लागि मौसमी प्रणाली विकसित भई कि त ठूलो पानी पर्नुपर्छ वा वेगले हावा चल्नुपर्छ । ‘अबको दुईतीन दिनमा त्यस्तो कुनै मौसमी प्रणाली विकास हुने अवस्था देखिएको छैन’, मौसमविद् श्रेष्ठले भने ।

नेपालका अधिकांश जिल्लामा डढेलो लागिरहेको र लामो समय खडेरी पर्नाका साथै हावा नचेलेका कारणले सोबाट सिर्जित प्रदूषणका कणहरू वायुमण्डलमा नै जम्मा भएकाले तुवाँलो लागेको बताइएको छ । हाल देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको आंशिक प्रभाव परेको छ । यी प्रणालीहरू सक्रिय नभएकाले वर्षा हुन नसकेको मौसमविद्को भनाइ छ ।

दिउँसो देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही प्रदेश नं १, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन, चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।

मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम १२ दशमलव शून्य डिग्री र अधिकतम तापक्रम २७ दशमलव दुई डिग्री सेल्सियस रहने छ ।त्यस्तै, आज सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम पाँच दशमलव शून्य डिग्री र सबैभन्दा धेरै नेपालगञ्जको अधिकतम तापक्रम ३७ दशमलव पाँच डिग्री सेल्सियस रहने अनुमान गरिएको छ ।

प्रतिक्रिया

पछिल्ला अपडेट्स

लोकप्रिय