पत्रकार महासंघको निर्वाचनका लागि तीनवटा संगठनद्वारा साझा उम्मेदवारी

इलाम । आगामी २५ चैतमा हुन लागेको नेपाल पत्रकार महासंघको निर्वाचनका लागि इलाममा तीन वटा संगठनले साझा उम्मेदवारी घोषाणा गरेका छन् । नेपाली कांग्रेस निकट नेपाल प्रेस युनियन, नेकपा एमाले निकट प्रेस चौतारी नेपाल र जनता समाजवादी पार्टी नेपाल निकट प्रेस मञ्च नेपालले साझा उम्मेद्वारी सार्वजनिक गरेका हुन् ।

सोमबार साँझ एक संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै ती संगठनहरूले १८ सदस्यीय जिल्ला कार्यसमिति, पाँच सदस्यीय केन्द्रीय परिषद् सदस्य र १२ सदस्यीय प्रदेश परिषद् सदस्यमा साझा उम्मेद्वारी सार्वजनिक गरेका हुन् । नेपाल पत्रकार महासंघ इलाम शाखालाई समावेशी र साझा महासंघ बनाउने प्रतिवद्धतासहित उनीहरूले विभिन्न पद बाँडफाँड गरी उम्मेद्वारी सार्वजनिक गरेका हुन् ।

१८ सदस्यीय जिल्ला कार्यसमितिमा प्रेस युनियनले अध्यक्ष, महिला उपाध्यक्ष, सहसचिव, दलित सदस्य र चार खुला सदस्य गरी आठ पद पाएको छ । युनियनले अध्यक्षमा विप्लव भट्टराई (युवराज) अध्यक्षमा उम्मेद्वार बनाएको छ । महिला उपाध्यक्षमा सुनिता खालिङ राई, सहसचिवमा प्रेम अधिकारी, दलित सदस्यमा तिलविक्रम दर्जी र खुल्ला सदस्यहरूमा गणेश घिमिरे, लोकेन थेवे, टीका खतिवडा र बालकृष्ण बस्नेतलाई उम्मेद्वार बनाएको छ ।

प्रेस चौतारीले उपाध्यक्ष, सचिव, महिला सदस्य, समावेशी सदस्य र तीन खुला सदस्य गरी सात पद पाएको छ । चौतारीले उपाध्यक्षमा ख्याम भुजेल, सचिवमा भीम चापागार्इं, महिला सदस्यमा सुजता सुनुवार, समावेशी सदस्यमा भगीरथ भण्डारी र खुला सदस्यहरूमा रमेशकुमार पराजुली, गोविन्द भट्टराई र किरण पौड्याललाई उम्मेद्वार बनाएको छ ।

त्यस्तै प्रेस मञ्चले कोषाध्यक्ष, समावेशी सहसचिव र जनजाति सदस्य पाएको छ । मञ्चले समावेशी सहसचिवमा ज्ञानु केदेम लिम्बू, कोषाध्यक्षमा राम योङहाङ र जनजाति सदस्यमा काकीराम लावतीलाई उम्मेदवार बनाएको छ । त्यस्तै पाँच जना केन्द्रीय परिषद् सदस्यमा तीन जना चौतारी र दुई जना युनियनले पाएको छ । चौतारीले सटेन्द्र जवेगू, कोकिला ढकाल र राजकुमार दाहाललाई उम्मेद्वार बनाएको छ । युनियनले प्रभाकर प्रधान र विजयशेखर भट्टराईलाई उम्मेद्वार बनाएको छ ।

त्यसैगरी १२ प्रदेश परिषद् सदस्यमा पाँच जना चौतारीले, चार जना युनियनले र तीन जना मञ्चले पाएको छ । चौतारीले विमल दाहाल, योगेन्द्र शंकर, गोविन्द लामिछाने, सिजन राई र सोम सुनुवारलाई उम्मेद्वार बनाएको छ । युनियनले दिनेश महत, जीवन शर्मा, वेदमाया मुखिया (सोनु) र गोविन्द पौड्याललाई उम्मेद्वद्वार बनाएको छ । त्यसैगरी मञ्चले सरिता राई, सङसेमी माङयुङ र प्रविन सेलिङलाई उम्मेद्वद्वार बनाएको छ ।
सहमति पत्रमा नेपाल प्रेस युनियनका तर्फबाट जिल्ला अध्यक्ष सविता पाण्डे, प्रेस चौतारीका तर्फबाट संवाद तथा समन्वय समितिका संयोजक सटेन्द्र जवुगू र प्रेस मञ्च नेपालका तर्फबाट संवाद समितिका सदस्य राम योङहाङले हस्ताक्षर गरेका छन् । यसअघि गत २२ गते शनिबार ती संगठनहरूले सहमतिमा नेतृत्व चयन गर्ने सहमति गरेका थिए । यो सहमतिमा नेकपा (माओवादी केन्द्र) निकट प्रेस संगठन भने संलग्न छैन । प्रेस संगठनले छुट्टै उम्मेद्वारी घोषणाको तयारी गरिरहेको छ ।

प्रतिक्रिया