खोजखबर

वामपन्थी नेता विष्णुबहादुर मानन्धरको निधन

सौर्य अनलाइन २०७७ चैत १७ गते ६:१५ मा प्रकाशित

काठमाडौं । वामपन्थी नेता बिष्णुबहादुर मानन्धरको ९१ वर्षको उमेरमा पाटन हस्पिटलमा सोमबार साँझ निधन भएको छ। स्वासप्रश्वासमा समस्या देखिएपछि १५ दिनअघि अस्पताल भर्ना गरिएका मानन्धरलाई आइतबारबाट भ्यान्टिलेटरमा राखेर उपचार थालिएको थियो।

छोरा सुनिल मानन्धरका अनुसार, उपचारका क्रममा साँझ ८ः२० बजे अस्पतालमा मानन्धरको निधन भएको हो। स्वर्गीय मानन्धरको शव मङ्गलबार विहान ८ बजेदेखि ११ बजेसम्म पशुपति आर्यघाटमा अन्तिम श्रद्धाञ्जलिका लागि राखिने छ । विक्रम सम्वत् १९८७ साल पुस ३ गते जन्मिएका नेता मानन्धर बारा, पर्सा, रौतहट क्षेत्रमा लोकप्रिय किसान नेताको रुपमा परिचित थिए।

सादगी र इमान्दार कम्युनिस्ट नेताका रुपमा स्थापित मानन्धरले १२ वर्षअघि सक्रिय राजनीतिबाट अवकाश लिएका थिए । मानन्धरले राज्यका कुनै पनि सुविधा र सहुलियत नलिने घोषणा समेत गरेका थिए । उनले ज्येष्ठ नागरिक भत्तासमेत नलिएको परिवारले जनाएको छ। उनकी श्रीमतीको सात वर्षअघि निधन भएको थियो। स्वर्गीय मानन्धरका एक छोरा र तीन छोरी छन्।

प्रतिक्रिया

पछिल्ला अपडेट्स

लोकप्रिय