पोखरा स्पोर्टसको सबै विधाका खेलाडी छनौट

पोखरा । पोखरा स्पोर्टस अवार्डका लागि खेलाडी छनौट गरिएको छ । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले आयोजना गर्ने पाँचौ पोखरा स्पोर्टस अवार्डका लागि महिला, पुरुष तर्फका उत्कृष्ट खेलाडी, उत्कृष्ट प्रशिक्षक र उदियमान विधाबाट छनौट गरिएका खेलाडीको नाम सार्वजनिक गरिएको हो । सोमबार पोखरामा पत्रकार सम्मेलनको आयोजना गरी मञ्चले मनोनयनमा परेका खेलाडीहरु सार्वजनिक गरेको हो । त्यस्तै आइफ टाईम अचिभमेन्ट अवार्ड र उत्कृष्ट खेलमा पर्ने संघको नाम भने पछि सार्वजनिक गरिने मञ्चका अध्यक्ष एकराज गिरीले जानकारी दिए ।

अवार्डका लागि छनौट भई सार्वजनिक गरिएका खेलाडीमा वर्ष खेलाडी (पुरुष विधामा) नवीन रसाइली (कराँते), विनेश खनियाँ (टेबलटेनिस), सुमन अर्याल (फुटबल) रहेका छन् । त्यस्तै वर्ष खेलाडी महिलामा जमुना थापा (साइक्लिङ), पार्वती गुरुङ (तेक्वान्दो) तथा प्रशंसा क्षेत्री (तेक्वान्दो) रहेका छन् । त्यस्तै, उदियमान खेलाडीतर्फ दुवाना लामा (पौडी) प्रदीप खड्का (लनटेनिस) र विपिन खत्री (क्रिकेट) रहेका छन् । उत्कृष्ट प्रशिक्षकमा आनन्द कुँवर (पौडी), किरण श्रेष्ठ (फुटबल) तथा सुरेश मल्ल ठकुरी (बक्सिङ) रहेका छन् । पुरस्कारतर्फ लाइफटाइम अचिभमेन्ट अवार्ड (चाँदीको करुवा, ट्रफी, ताम्रपत्र र दोसल्ला) रहेको छ । मञ्चले छनौट गरेका पुरुष तथा महिला उत्कृष्ट वर्ष खेलाडीलाई नगद २ लाख, ट्रफी र दोसल्लाले सहित सम्मान गरिनेछ ।

यस्तै वर्ष उत्कृष्ट उदियमान खेलाडीलाई नगद ३५ हजार सहित ट्रफी र दोसल्ला, वर्ष उत्कृष्ट प्रशिक्षकलाई नगद ३५ हजार ट्रफी र दोसल्ला, वर्ष उत्कृष्ट खेल पत्रकारलाई नगद ३५ हजार ट्रफी र दोसल्लाले सम्मान गरिने अध्यक्ष गिरीले बताए । त्यसैगरी वर्ष उत्कृष्ट खेलकुद संघलाई पनि नगद ३५ हजार ट्रफी र प्रमाणपत्रसहित सम्मान गरिनेछ । उत्कृष्ट ३ को मनोनयन सूचीमा परेकाहरुलाई अघिल्ला वर्षहरुमा झैं ट्रफी र उपहारहरु प्रदान गरिनेछ । कार्यक्रमको सहयोगका लागि राष्ट्रिय खेलकुद परिषद् (राखेप), गण्डकी प्रदेश सरकार, पोखरा महानगरपालिका, कास्कीका माछापुच्छे, अन्नपूर्ण, मादी र रुपा गाउँपालिकाले सहयोग गरेका छन् ।

त्यसैगरी स्याङ्जाको पुतलीबजार नगरपालिका र फेदीखोला गाउँपालिकाले सहयोगको प्रतिबद्धता जनाइसकेका छन् । यस्तै, पोखरा लेकसिटीका तर्फबाट निर्देशक डा.विष्णु नेपालीले लाइफ टाइम अचिभमेन्ट अवार्ड वापत ४० हजार, माई होटल, लेकसाइडतर्फबाट प्रबन्ध निर्देशक तोरणबहादुर बानियाँले सहयोग गर्ने भएका छन् । त्यस्तै उदीयमान खेलाडीलाई प्रदान गरिने ३५ हजार र पोखरा राम बजार निवासी स्व.सेनानी हेमबहादुर पुनको स्मृतिमा उनको परिवारजनबाट पत्रकारलाई प्रदान गरिने अवार्डमा नगद ३५ हजार रुपैयाँ प्रदान गर्ने सम्झौता भएको छ ।

प्रतिक्रिया