महामारीको महिला बन्दीको भोगाइ

‘जेलको कोठा दुर्गन्धित थियो । मलाई प्रयोग अरूले प्रयोग गरिसकेको सुकुल दिइयो । धेरै जनाले प्रयोग गरिसकेको सुकुललाई मैले प्रयोग गरिरहेकी थिएँ ।’ साफोरा जर्गर बन्दी गृहमा बस्ने आफ्नो ठाउँ देखेर आश्चर्यमा परेकी थिइन् तर कोभिड–१९ ले अवस्था अझ खराब बनायो । अप्रिल २०२० मा भारतकी यी २८ वर्षीया विद्यार्थीलाई प्रदर्शनमा सहभागी भएको आरोपमा गिरफ्तार गरिएको थियो । महामारीसँग जुध्न देशव्यापी लक डाउन लगाइएको थियो र साफोराले दक्षिण एसियाकै ठूलो दिल्लीको तिहाड जेलमा समय बिताउनु कतिको कष्टकर हुन्छ भन्ने अनुभव गर्न लागिरहेकी थिइन् । ‘जेलको एउटा पूरै वार्डका लागि जम्मा एउटा बोतल स्यानिटाइजर राखिएको थियो । केही डिस्पेन्सर भए पनि त्यो कहिल्यै पनि पुनः भरिएका थिएनन्,’ उनले भनिन् । उनले आफूले ल्याएका स्यानिटाइजरले वरपरको क्षेत्र सफा गरेकी थिइन् ।

‘म जेलमा प्रवेश गर्दा उनीहरूले प्रत्येक कैदीलाई दिने जस्तै मलाई पनि आधा टुक्रा साबुन र खादीको मास्क दिएका थिए ।’ साफोरालाई लक डाउनको समयमा पक्राउ गरिएको थियो जेलको अवस्था पीडादायी रहेको भन्दै उनले महामारी सुरु हुनुअघि नै तिहाड जेलमा कैदी बन्दी बसेको दर १ सय ७५ प्रतिशत रहेको बताइन् । पक्राउ परेको समयमा तीन महिनाको गर्भ रहेकाले साफोराका लागि अवस्था अझ खराब बनेको थियो । ‘म अल्ट्रासाउन्ड परीक्षणका लागि जानुपथ्र्यो । त्यो पीडादायी अनुभव थियो किनभने डाक्टरले मलाई हेर्दैनथे र अस्पतालका कर्मचारीहरू मसँग बोल्दैन थिए ।’ उनले आफूले भोगेको पीडा सुनाइन् ।

साफोराले बन्दी भएकाले आफूले त्यस्तो बहिष्कार भोग्नुपरेको उल्लेख गर्दै त्यो आफूले भोगेको कष्टको सुरुआत मात्रै भएको उल्लेख गरिन् । ‘अल्ट्रासाउन्डबाट फर्किएपछि म १५ दिन एक्लै बन्दी गृहमा बसेँ,’ उनले भनिन् । तिहाड जेलमा क्वारन्टिन शब्दले भय बुझाउँछ । एकल कारावास शब्द खराब व्यवहारका लागि दिइने दण्डलाई बुझाउन प्रयोग गरिन्छ । ‘एउटा सानो प्वालबाट बन्दीलाई खाना उपलब्ध गराइन्छ । कोही पनि बन्दीँसँग बोल्दैनन् । त्यहाँ कुनै मानवीय अन्तरक्रिया हुँदैन ।’ उनले भनिन्, ‘भुइँमा भएको एउटा प्वाल नै शौचालय हो ।’ साफोरालाई पछि अरू थप दुई बन्दीहरूसँगै अर्कै सेलमा स्थानान्तरण गरियो ।

‘उक्त कोठामा हामीलाई सुत्नका लागि पर्याप्त ठाउँ थियो तर त्यो सामाजिक दूरी कायम गर्नका लागि पर्याप्त थिएन ।’ उनले त्यहाँको अवस्था बताइन् । हल्का हिँडडुल गर्न पाएपछि जेलको गेटबाट भित्र–बाहिर गर्ने गरेका गार्डहरूबाट कोरोना भाइरस सर्ने चिन्ताले आफूलाई सताएको उनले बताइन् । पानी उपलब्ध हुने एउटै विन्दुमा एक हजारभन्दा बढी महिला बन्दी आश्रित रहेको भन्दै उनले भान्सा र खाने ठाउँमा पनि धेरै महिला जम्मा भएको आफूले देखेको बताइन् । कोभिडको अर्को नकारात्मक असर भनेको सम्पूर्ण फौजदारी न्याय प्रणालीमा उत्पन्न भएको विलम्ब पनि हो ।

बन्दीहरूलाई नियमित रूपमा आगन्तुकहरू भेट्न नदिने गरिएकाले त्यसबाट कानुनी सहायतामा पहुँच पाउन ढिलाइ भएको थियो । यसको अर्थ साफोराले आफ्ना वकिललाई पहिलोपटक भेट्न २० दिन र परिवारका सदस्यलाई भेट्न १५ दिन कुर्नुपरेको थियो । जेलमा नै बच्चा जन्माउनुपर्ने परिकल्पनाले साफोराको भय बढेको थियो । क्षमताभन्दा बढी कैदी, पर्याप्त खानेकुरा, शौचालय र स्नानघर अनि स्वास्थ्य उपचार सहितका आधारभूत सेवाको अभाव जस्ता विषयले साधारण अवस्थामा नै धेरै देशका बन्दी गृहहरूलाई सताउने गर्छ । तर, कोभिडको महामारीले थप चुनौती सिर्जना गरेको छ ।

पीनल रिफर्म इन्टरन्यासनलकी कार्यकारी निर्देशक ओलिभिया रोपले भनिन्, ‘धेरै देशका महिलाहरू पर्याप्त स्यानिटरी उत्पादन र अरू अत्यावश्यक वस्तुहरूविनै बस्नुपरेको छ ।’ परिवारका सदस्यहरूमा त्यस्ता सामग्री प्राप्त गर्न धेरै महिलाहरू निर्भर रहेको र आगन्तुकमाथि लगाइएको प्रतिबन्धले त्यसलाई प्रभाव पारिरहेको उनले बताइन् । त्यसबाहेक आफ्ना सन्तानलाई देख्न नपाउँदा आमाहरूलाई मानसिक प्रभाव पनि परिरहेको छ । हालै एमनेस्टी इन्टरन्यासनलले सार्वजनिक गरेको एउटा प्रतिवेदनले महामारीले बन्दीहरूमा पारेको प्रभावको अध्ययन गरेको थियो । उक्त अध्ययनले धेरै देशमा जेलहरूमा कोभिड महामारी नियन्त्रण गर्ने रणनीति सरकारहरूसँग नरहेको र राष्ट्रिय खोप योजनामा कैदीहरूको चर्चा खासै हुने नगरेको पाइएको थियो ।

विश्वका १ करोड १० लाख बन्दीहरूमध्ये ७ लाख ४१ हजारभन्दा बढी महिला वा किशोरी रहेको उक्त प्रतिवेदनले उल्लेख गरेको छ । त्यसमध्ये कैयौँ अपराधी होइनन् र उक्त आँकडामा अपराध गरेको आशंकामा गिरफ्तार गरिएका, सुनुवाइ भइरहँदा वा सुनुवाइ सुरु हुनुअघि थुनामा राखिएका व्यक्तिहरू पनि समावेश गरिएको छ । उक्त प्रतिवेदनका लेखक नेट्सानेट बेलीले भने, ‘हाम्रो अध्ययनले कोभिड–१९ को महामारीमा विश्वभर बन्दीहरूलाई बिर्सिएको संकेत गरेको छ ।’

बैंकक नियम भनिने महिला बन्दीहरूलाई गर्नुपर्ने व्यवहार सम्बन्धी संयुक्त राष्ट्रसंघको नियमले महिलाहरूका लागि सेवा, सरसफाइ निःशुल्क उपलब्ध गराउनुपर्ने व्यवस्था गरेको छ । उनले भने, ‘गर्भ रहेका, स्तनपान गराइरहेका वा महिनावारी चलिरहेका महिलाहरूलाई जेलमा विशेष व्यवस्था गर्नुपर्छ । सरकारले यो उच्च जोखिममा रहेको समूहलाई रिहाइ र खोपजस्ता निरोधात्मक उपचारलाई उच्च प्राथमिकतामा राख्नुपर्छ ।’
साफोराले भोगको अनुभवले कैयौँ जेलहरू यो मापदण्ड पूरा गर्न अझै कति टाढा छन् भन्ने देखाउँछ । आफूले मानसिक समस्या भोग्नुपरेको भन्दै उनले भनिन्, ‘म उदास भएँ र खुसीको अभावसहित अस्वाभाविक मौनता देखाएँ । मलाई कुनै पनि मानवले यस्तो अनुभव गर्नु नपरे हुन्थ्यो जस्तो लाग्छ ।’ (बिबिसी)

प्रतिक्रिया