खाने तेलको मुल्य पुनः बढ्यो

काठमाडौं । खाने तेलको मुल्य पुनः बढेको छ । ८ महिनाको अवधिमा करिव दोब्बरले मुल्य बढेको छ । साउन देखी चैत सम्म आइपुग्दा खाने तेलको मूल्य प्रतिलिटरमै १ सय रुपैयाँले बढेको छ । खासगरी भटमास, सनफ्लावर, तोरीको तेलको मुल्य अकासिएको हो । दाल, चामल, पिठोलगायतका खाद्यान्नको मूल्यको तुलनामा तेलको भाउ थेग्नै नसक्ने गरी बढेको हो । भारतीय नेसनल कमोडिटिज एन्ड डेरिभेटिभ मार्केट (एनसीडेक्स) अनुसार विश्व बजारमै तोरी, भटमास, र सनफ्लावरको मूल्य दोब्बरभन्दा बढीले बढेको छ । असारको तुलनामा चैतमा तोरी, भटमास तथा सनफ्लावरको प्रतिटन मूल्य करिव दोब्बरभन्दा बढीले बढेको छ । महँगोमा किनेर ल्याएपछि त्यसको उत्पादन स्वतः बढ्नु स्वाभाविक हो । विश्व बजारमा हुने जुन–जुन व्यापार छ, ती वस्तुको मूल्य बढ्दा त्यसको असर नेपाली बजारमा पर्ने गरकेो छ ।

एनसीडेक्सका अनुसार साउनमा ७०० डलर प्रतिटनमा पाइने भटमास अहिले १ हजार ३ सय डलर पुगेको छ । त्यो बेला तेलको मूल्य प्रतिलिटर १२५ रुपैयाँ कारखाना मूल्य थियो । अहिले प्रतिलिटर भटमासको तेल २०५ रुपैयाँ पुगेको छ । जुन गतिमा अन्तर्राष्ट्रिय बजारमा भटमासको मूल्य बढेको छ, सोही गतिमा नेपालमा तेलको मूल्य पनि बढेको देखिन्छ । भटमास आयात गर्दा १० प्रतिशत भन्सार पनि लाग्छ । साउनमा ७ सय डलरमा १० प्रतिशत भन्सार लाग्ने गरेकोमा अहिले १ हजार ३ सय डलरमा १० प्रतिशत भन्सार लाग्दा मुल्य अकासिएको व्यवसायीहरु बताउछन । साउनमा प्रतिटन ८४० डलर पर्ने सनफ्लावरको मूल्य १६८० डलर पुगेको छ । यो मूल्य घटेको एनसीडेक्टमा देखिएको छ । एक महिना अघिसम्म १ हजार ८ सय डलरसम्म पुगेको थियो । त्यो बेला पनि उद्योगीले माल मगाएर तेल बनाएका थिए ।

साउनमा प्रतिलिटर सनफ्लावर तेलको मूल्य १३५ देखि १४० रुपैयाँ थियो । अहिले २३० रुपैयाँ पुगेको छ । अन्तर्राष्ट्रिय बजारमा भएको मूल्य यहाँ राख्ने हो भने अझै तेलको मूल्य लिटरमै १५ देखि २० रुपैयाँसम्म बढ्न सक्ने देखिन्छ । धेरै व्यापारीले मगाएको सामान अझै आइसकेको छैन । त्यो सामान आइपुग्ने बित्तिकै तेलको मूल्य अझै उकालो लाग्न सक्ने व्यापारीहरू बताउँछन् ।

प्रतिक्रिया