मत-विमत

प्रेम र सद्भावको पर्व होली

ललितकुमार यादव २०७७ चैत १६ गते ७:१० मा प्रकाशित

ललितकुमार यादव

होलीलाई विकृत बनाउँदै लगिएको छ । होलीमा खानपिन गर्ने हाम्रो परम्परा हो । तर, आपूm होसमै रहन नसक्ने गरी नशालु पदार्थको सेवन गर्नु हाम्रा कुनै चाडपर्वले सिकाउँदैन । होली मनाउन नशालु पदार्थ सेवन गर्नै पर्दैन । सेवन गर्नै परेमा सरकारले सेवन गर्न छुट दिएको नशालु पदार्थ सीमित मात्रामा सेवन गरेर होली मनाउन उपयुक्त हुन्छ ।

वैदिक सनातन धर्मालम्बी अर्थात हिन्दूहरूका महत्वपूर्ण चाडपर्वहरू मध्ये फागुपूर्णिमा (होली) पनि हो । खासगरी नेपालको पहाड र तराईमा विशेष महत्वका साथ होली मनाउने चलन रहेको पाइन्छ । होली वसन्तको चाड, रंगहरूको पर्व, प्रेमको उत्सव आदि नामले परिचित रहेको छ । तराईमा फगुवा वा फागु पनि भन्ने गरिन्छ । तराईमा होली र मिथिला परिक्रमा को सम्बन्ध जोडिएको छ । मिथिला परिक्रमाको समापन जनकपुर अन्तगृह परिक्रमा समापनपश्चात् हुन्छ । जनकपुर अन्तगृह परिक्रमा पूर्णिमाको दिन घुम्ने गरिन्छ । पूर्णिमाको भोलिपल्ट मात्र तराईमा होली मनाउने चलन रहेको छ । पहाडी जिल्लाहरूमा फागु पूर्णिमाकै दिन होली मनाउने चलन रहेको छ ।

हरेक हिन्दू चाडपर्व कुनैनकुनै पौराणिक कथासँग जोडिएका छन् । होली महोत्सवको उत्पत्ति हाम्रा धर्मग्रन्थमा फेला पार्न सकिन्छ । पौराणिक कथा अनुसार राजा हिरण्यकश्यप एकदम अहंकारी व्यक्ति थिए र मानिसहरूलाई भगवान् विष्णुको पूजा गर्न दिँदैन थिए । यद्यपि राजकुमार प्रल्हाद विष्णुको प्रख्यात भक्त थिए र आफ्ना बाबुको खुलमखुल्ला विरोध गरे । यसले अहंकारी हिरण्यकश्यपलाई रिस उठायो । त्यस बेला राजाले आफ्नी बहिनी होलिकालाई पूर्णिमाको रात राजकुमार जलाउन आदेश दिए । होलिकासँग आगोमा पनि नजल्ने वरदान प्राप्त एउटा वस्त्र थियो । भगवान् विष्णुको आशीर्वादमा प्रह्लाद बाँच्यो जबकि होलिका जलिन् । जब राजकुमार आगोबाट बाहिर निस्के, मानिसहरूले उनलाई भलाइ र नम्रताको प्रशंसा व्यक्त गर्न रंगीन पानीले छर्किए । दुष्ठमाथि सदाचारको विजय भएको स्मरण गर्न होली मनाउने चलन रहेको छ । होलीले प्रेम र सद्भाव कायम राख्न विशेष जोड दिने गरेको छ ।

होलीको धेरै महत्वहरू रहेको छ । मूख्यतः यो वसन्तको सुरुआतको रूपमा मनाउने गरिन्छ । १७औँ शताब्दीका साहित्यहरूमा होलीलाई कृषि उत्सवको रूपमा पहिचान गरेको पाइन्छ । होलीले जाडोको अन्त्य, वसन्तको आगमन, विच्छेदित सम्बन्धहरूलाई नविकरण गर्ने, द्वन्द्वको अन्त्य गर्ने, आफूलाई भावनात्मक अशुद्धताबाट छुटाउने र प्रेमपूर्ण सम्बन्धको सुरुआत गर्ने दिनको संकेत गर्दछ । होलीले प्रेम र सद्भावको सन्देश प्रवाह गर्ने गर्छ ।

होलीमा परिवार, आफन्त, छिमेकी र इष्टमित्रहरू भेला हुने, एकअर्काकोमा जाने, खानपिन गर्ने, रंग अबिर लगाउने र रमाइलो गर्ने चलन छ । ठूलोले सानोलाई रंग अबिर लगाएर स्नेह प्रकट गर्दै आशीर्वाद दिने र सानोले ठूलोलाई रंग अबिर लगाएर सम्मान प्रकट गर्दै आशीर्वाद लिने गरिन्छ । होलीमा उच, निच, ठूलो सानो, धनी गरिब आदि कुनै किसिमको भेदभाव नराखी सबै जना एकअर्कासँग गला मिल्ने र एकअर्काप्रति सद्भाव दर्शाउँदै रंग र अबिर लगाउने गरिन्छ । यसलाई सामाजिक सद्भाव कायम गर्ने अवसर प्राप्त भएको दिनको रूपमा लिन सक्नुपर्छ ।

तराईमा होलीको विशेष महत्व रहँदै आएको छ । पहिले पहिले तराईमा विशेष किसिमले होली मनाउने गरिन्थ्यो । समूह बनाएर स्थानीय बाजागाजासहित होरी गाउँदै घरघरमा जाने र होली खेल्ने चलन थियो । होलीमा होरी अर्थात लोकगीतको विशेष महत्व हुन्छ । एकअर्कालाई ब्यंग्य गर्ने, जिस्किने, होरी गाउने र राधाकृष्णको प्रेमको चर्चा गर्दै भजन गाउने आदि होलीको मुख्य आकर्षणको रूपमा रहेको थियो र रहनु पनि पर्छ । तर, आधुनिकताको विकाससँगै बढ्दो सहरीकरण र घट्दो युवा आकर्षणको कारण होली मनाउने मौलिक चलन लोप हुने खतरामा रहेको छ । अहिलेसम्म यो चलन ग्रामीण भेगमा कहीँकहीँ कायमै रहेको छ । होली मनाउने नयाँनयाँ विकृतशैली भित्रिने क्रम जारी रहेको छ ।

होली खानपिनसँग पनि जोडिएको पर्व हो । होलिमा पेय पदार्थ सेवन गर्ने चलन रहेको छ । यही चलनको नाममा होलीमा अत्यधिक रक्सी सेवन गर्ने, भाङ र गाँजाजस्ता नसालु पदार्थ सेवन गर्ने चलन बढ्दो छ । यसले होलीलाई विकृत बनाउँदै लगेको छ । होलीमा खानपिन गर्ने हाम्रो परम्परा हो । तर। आपूm होसमै रहन नसक्ने गरी नशालु पदार्थको सेवन गर्नु हाम्रा कुनै चाडपर्वले सिकाउँदैन । होली मनाउन नशालु पदार्थ सेवन गर्नै पर्दैन । सेवन गर्नै परेमा सरकारले सेवन गर्न छुट दिएका नशालु पदार्थ सीमित मात्रामा सेवन गरेर होली मनाउन उपयुक्त हुन्छ । यसैले होलीको आकर्षण जोगाइराख्न र होलीलाई विकृतिको पर्व बन्नबाट जोगाउन मद्दत पुग्नेछ । अहिले होलीले दिने सन्देश ग्रहण गर्नु र होलीको महत्व बुझ्नुभन्दा होलीलाई मादकपदार्थ सेवन गर्न छुट पाएको दिनजस्तो लिने गरेको पाइन्छ । जुन कार्य होलीले दिने सन्देश विपरीत रहेको छ र बढ्दो क्रममा रहेको छ । यस्ता क्रियाकलाप हाम्रो धर्म र संस्कृति विपरीत मात्र होइन हाम्रो संस्कारको खिलापमा समेत रहेको छ ।

होलीमा रंग र अबिरको विशेष प्रयोग हुने गर्छ । होलीलाई रंग र अबिरको पर्वसमेत भन्ने गरिन्छ । अहिले होलीको रंग र अबिरमा विभिन्न किसिमको रसायन मिसाउने गरिन्छ । यस्ता रसायनले मानव स्वास्थमा प्रतिकूल असर पार्न सक्छ । तसर्थ होली मनाउँदा रंग र अबिरको प्रयोगमा विशेष ध्थान दिन जरुरी छ । साथै जबरजस्ती होइन कि सहज र सौहार्दपूर्ण रूपमा मात्र रंग र अबिर लगाउनु उचित हुन्छ । हामी सानासाना केटाकेटी हुँदा पिचकारीमा रंग भरेर होली खेलेको अझै सम्झिन्छु । त्यति बेलाको होलीको कुरै बेग्लै थियो । अहिले होलीमा पिचकारी भन्दा लोला, रंग र अबिरभन्दा पेन्ट र लुब्रीकेन्टसको प्रयोग बढनुको साथै गाला मिल्ने नाममा लुगाा च्यात्ने, टुटेको सम्बन्ध जोडनुको सट्टा प्रतिशोध साध्ने प्रवृत्ती बढेको छ ।

हाम्रो हरेक परम्परा, संस्कृति र चाडपर्वमा विकृति र अश्लीलता हाबी हुन थालेको छ । होली पनि विकृत र अश्लील बन्दै गएको छ । होली उदार हृदयका साथ मनाउने गरिन्छ । यसमा प्रेम, सदभाव, आदर्श, आदर र संस्कारका कुराहरू रहेको छ । अहिले होली मनाउने क्रममा विभिन्न अप्रिय घटनाहरू हुने गरेको पनि सामाचार आउँछ । होलीमा रंग लगाउने र खानपिन लगायतको कार्यमा भए÷गरेको जबरजस्ती लगायतका विभिन्न विकृति र अश्लीलताले होलीको महत्वमा कमी ल्याउने काम गरेको छ । यसले होलीको उद्देश्य र सन्देशलाई समेत ओझेलमा पार्न खोज्दै छ ।

होली प्रेम र सद्भावको पर्व रहेको र यसलाई प्रेम र सद्भावकै पर्वको रूपमा कायम राख्नुपर्छ । यसको लागि होली मनाउने नाममा बढ्दै गएको विकृति र अश्लीलतामा रोक लगाउन सक्नुपर्छ । साथै होली मनाउने हाम्रो बाबुबाजेको विकृति र अश्लीलतारहित संस्कारको विकास गर्न जरुरी छ । गतवर्ष बढदो कोरोना संक्रमणको कारण प्रशासनले सावधानी अपनाएर भिडभाड नगरी होली मनाउन आग्रह गरेको थियो । साथै रंग र पानीको प्रयोग नगर्न आव्हान गरेको थियो । यसपाली पनि अवस्था फरकजस्तो छैन । केही समय संक्रमणमा कमी आएको भए पनि छिमेकी मित्रराष्ट्र भारतमा संक्रमण बढेसँगै हाम्रो देशमा जोखिम बढेको छ । तसर्थ यसपाली पनि होली मनाउने क्रममा सवधानी अपनाउन जरुरी छ । स्वास्थ्य सावधानी अपनाएर मात्र होली मनाउन बुद्धीमानी हुनेछ ।

प्रतिक्रिया

पछिल्ला अपडेट्स

लोकप्रिय