‘रियल सेक्टर’ को विकास आवश्यक

काठमाडौ । नेपाली अर्थतन्त्रमा वास्तविक क्षेत्र (रियल सेक्टर)को विकास अपरिहार्य देखिएको छ । पछिल्लो दुई दशकमा रेमिट्यान्सको आप्रवाह विस्तार हुन थालेसँगै त्यसले वित्तीय क्षेत्रको विस्तारलाई टेवा पु¥याए पनि त्यसको प्रभाव रियल सेक्टरमा कम देखिएको नेपाल राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक नरबहादुर थापाले बताएका छन ।

नेपाली अर्थतन्त्रमा पछिल्लो एक दशकमा सेवा क्षेत्रको विस्तार तीव्र देखिन्छ । सेवा क्षेत्र र रेमिट्यान्स आप्रवाहबीच सकारात्मक सहसम्बन्ध देखिएको छ । पछिल्लो एक दशकमा जीडीपीमा सेवा क्षेत्रको योगदान झण्डै ८ प्रतिशतले बढेर सेवा क्षेत्रको योगदान ६० प्रतिशत पुगेको छ । कृषिबाट औद्योगिक विकासको चरण परिपक्व नहुँदै नेपाली अर्थतन्त्रमा सेवा क्षेत्रको प्रभुत्व बढेको छ ।

विप्रेषणको वृद्धीले आयात र उपभोग बढाउन प्रोत्साहन गरेसँगै सेवा क्षेत्रको विस्तार पनि बढेको हो । देशमा उत्पादनको मजबुत आधार विकासका लागि वास्तविक क्षेत्रको विस्तार मानिएको छ । अहिले नेपालको अर्थतन्त्रमा कृषि क्षेत्रको योगदान २६.६ प्रतिशत र उत्पादन तथा औद्योगिक क्षेत्रको योगदान १३.२ प्रतिशत छ । औद्योगिक क्षेत्रको मात्र योगदान ५ प्रतिशत हाराहारीमा छ ।

वास्तविक क्षेत्रको विकासका लागि मजबुत उत्पादन आधार, त्यसका लागि मुलुकभित्रै उत्पादन सह–सम्बन्धको खोजी गर्नुपर्ने जानकारहरू बताउँछन् । केही दिन अघिमात्रै प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुक अण्डा र मासुमा आत्मनिर्भर भएको घोषणा गरीसकेका छन । मजबुत उत्पादन आधार नभएका अर्थतन्त्रहरूमा कम रोजगारी सिर्जना हुन्छ । रोजगारी नै कम भएपछि आम मानिसहरूको आय विस्तार भएको हुँदैन र अर्थतन्त्रलाई चलायमान गराइराख्न कठीन हुने भएकाले कृषि, कृषि प्रशोधन, औद्योगिक उत्पादन र मुलुकभित्रै मूल्य श्रृंखला विकास वा उत्पादन सम्बन्ध कायम हुने वास्तविक क्षेत्रको विकास र विस्तारलाई महत्व दिनुपर्ने जानकारहरू बताउँछन् ।

प्रतिक्रिया