रहेनन् कांग्रेस नेता जोशी

काठमाडौं । नेपाली कांग्रेसका नेता एवं पुर्वमन्त्री नवीन्द्रराज जोशीको निधन भएको छ । मस्तिष्कघात भएपछि काठमाडौंको नर्भिक अस्पतालमा भर्ना भएका जोशीको शुक्रबार राति ८ बजेर २४ मिनेटमा निधन भएको हो । नर्भिक अस्पतालका जनसम्पर्क अधिकृत सोमनाथ बास्तोलाका अनुसार जोशीको शुक्रबार राति मृत्यु भएको जानकारी दिए । ५७ वर्षीय जोशीलाई एक महिना पहिले फागुन १४ मा मस्तिष्कघात भएपछि थापाथलीस्थित नर्भिक अस्पतालमा उपचारका लागि भर्ना गरिएको थियो ।

मस्तिष्कघात भएपछि अस्पताल भर्ना भएका जोशीको भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो । केही समयको उपचारपछि स्वास्थ्यमा सामान्ध सुधार देखिएपनि पछि उनको स्वास्थ्य अवस्था थप जटिल बनेको थियो । अस्पतालका अनुसार जोशीको मुटुले शुक्रबार विहानदेखी काम गर्न छाडेको थियो । एक महिना लामो संघर्षपछि अन्ततः अस्पतालले शुक्रबार राति उनलाई मृत घोषित गरेको हो । ‘शुक्रबार बिहानदेखि उहाँको मुटुले समेत काम गर्न छाडेको थियो । उपचारका सबै प्रयास जारी राखिएकै अवस्थामा उहाँको निधन भएको हो’, नर्भिक अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. राजीव झाले भने ।

फागुन १४ गते घरमै स्वास्थ्य समस्या देखिएपछि जोशीलाई वीर अस्पताल लगिएको थियो । वीरले उनलाई नर्भिकमा रेफर गरेको थियो । मस्तिष्कघातको समस्या देखिएपछि अस्पतालले सुरुदेखि नै भेन्टिलेटरको सहायतामा उपचार गरिरहेको थियो । कांग्रेस केन्द्रीय सदस्य जोशी पूर्वमन्त्री र पूर्वसांसद पनि हुन् । जोशीको पार्थिव शरीरलाई शनिबार पार्टी कार्यालयमा राखेर श्रद्धाञ्जली दिने कार्यक्रम छ । जोशीको निधनप्रति कांग्रेस सभापति शेरबहादुर देउवालगायतका नेताहरुले दुःख व्यक्त गर्दै श्रद्धान्जली दिएका छन् । कांग्रेसका सभापति देउवाले जोशीको निधनमा दुःख व्यक्त गरेका छन् । ‘उहाँको निधनको खबरले मर्माहित छु । कांग्रेसले एक इमान्दार र निष्ठावान नेता गुमाएको छ,’ देउवाले भनेका छन् ।

प्रतिक्रिया