देउवाको मुर्खता

नेपाली कांग्रेसका सभापति एवं संसदीयदलका नेता शेरबहादुर देउवा गत मंगलबार विराटनगरमा संवाददाताहरूसँग एक्कासि जंगिए । सार्वजनिक कार्यक्रमलाई संवोधन गरी बाहिर निस्कँदै गरेका देउवालाई संवाददाताहरूले सोधेका थिए, ‘नेपाली कांग्रेस सरकारमा कहिले जान्छ ?’ देउवाले जवाफ दिए, ‘जनताले प्रतिपक्षमा बस्ने म्यान्डेट दिएका छन्, त्यसैले तत्काल सरकारमा जाने कुरा हुँदैन ।’ संवाददाताले पुरक प्रश्न सोधे, ‘सरकारविरुद्ध अविश्वासको प्रस्ताव ल्याउने तयारी गर्दै हुनुहुन्छ होइन र ?’ यो प्रश्नपछि देउवा ‘कसरी ल्याउने हामीले अविश्वासको प्रस्ताव ?’ भन्दै जंगिन थाले । अनुहारको हाउभाउ हेर्दा देउवाको रौद्ररूप स्पष्ट देखिन्थ्यो । यसपटक मात्रै होइन, मिडियाकर्मीले देउवाको रौद्ररूप धेरैपटक सामना गरेका छन् । प्रधानमन्त्री भएका बेला बिबिसी नेपाली सेवाको साझा सवालमा कार्यक्रममा देउवा भयंकर असहिष्णु बनेर प्रस्तुत भएको श्रव्यदृश्य निकै भाइरल बनेको थियो । केही वर्ष अघि तिहारको बेला नेपाल प्रेस युनियनको एक टोली द्यौसीभैलो कार्यक्रमका सिलसिलामा देउवा निवास बूढानीलकण्ठ पुगेको थियो । सहभागी एक सक्रिय पत्रकारलाई इंगित गर्दै देउवाले भने, ‘यो फेरी यहाँ किन आयो ? निकाली हाल यसलाई ।’ मिडियाकर्मीप्रति देउवा असभ्य तथा असहिष्णु बनेर प्रकट भएका यस्ता घटना अनगिन्ती छन् ।

लोकतन्त्र भएको मुलुकमा निजी कम्पनीको गतिविधिमा समेत प्रश्न गर्ने अधिकार पत्रकारलाई हुन्छ । त्यसमा पनि पत्रकारले सोध्ने प्रश्न भनेको उसको निजी मामिला होइन, जनताले उठाएको प्रश्न सोध्ने माध्यम अर्थात प्रतिनिधि पात्र हुन् पत्रकार भनेका । राजनीतिक दल कुनै पनि व्यक्ति या परिवारका निजी कम्पनी होइनन् । मुलुकभरीका जनताका साझा संस्था हुन् । कुन राजनीतिक दलका के के गतिविधि भइरहेका छन् ? जान्न पाउने नैसर्गिक अधिकार जनतालाई हुन्छ । जनतालाई यो अधिकार भएन भने बहुदलीय लोकतन्त्रको औचित्य नै समाप्त हुन्छ । आवधिक निर्वाचनमा जनताले राजनीतिक दल तथा तिनले अघि सारेका उम्मेदवारलाई मतदान गर्नु नै लोकतन्त्रको मुख्य विधि हो । दलहरूका गतिविधि तथा दलका नेताको इतिवृतान्त जनताले थाह पाउनै पर्छ । जनताले थाहा पाउने माध्यम भनेकै मिडियाकर्मी हुन् । दलका नेताहरूले आफ्ना नकरात्मक गतिविधि लुकाउने र सकरात्मक गतिविधिलाई मात्रै जनसमक्ष लैजाने प्रयास गरिरहेका हुन्छन् । नेताहरूको यो प्रयासलाई चिर्ने दायित्व मिडियाकर्मीकै हो ।

लोकतन्त्रप्रति असल नियत भएका नेताहरू मिडियाकर्मीलाई आफ्नो बर्गमित्र ठानिरहेका हुन्छन् । जुन नेताले मिडियाकर्मीलाई बर्ग दुश्मन ठान्छ, त्यो नेताबाट लोकतन्त्र सुरक्षित हुन सक्दैन । उदाहरणका लागि नेपाली जनताले ३० वर्ष लगातार संघर्ष गरेर ०४६ सालमा प्राप्त गरेको बहुदलीय संसदीय व्यवस्थालाई देउवाले ०५९ जेठ ८ गते अपदस्थ गरिदिएका थिए । साविकको संसद् विघटन गरी अर्को निर्वाचन अनिश्चितकालसम्म स्थगित गरेको पृष्ठभूमी बोकेका नेता हुन् देउवा । वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले पनि गत पुस ५ गते त्यही इतिहास दोहो¥याउने प्रयास गरेका थिए । ओलीको यो प्रयासलाई देउवाले भित्रभित्रै साथ दिइरहेको विश्लेषण राजनीतिका ज्ञाताहरूले गरेका थिए । देउवामाथि अहिले पनि जनताले यो आशंका गरेका छन् । यस्तो आशंकालाई निवारण गर्ने प्रयास देउवाले गरेनन् भने उनले नेतृत्व गरेको पार्टी नेपाली कांग्रेसको साख अझै घट्दै जान्छ । नेपाली कांग्रेसको साख घट्दै जानु भनेको अहिलेको परिस्थितिमा लोकतन्त्रको पनि साख घट्नु हो । किनकी अहिलेसम्म पनि लोकतन्त्रलाई साधन र साध्य दुवै मान्ने भरपर्दो पार्टी नेपाली कांग्रेसको विकल्पमा अर्को तयार भइसकेको छैन ।

गैरवामपन्थी कित्तामा रहेको मुलुकको ठूलो तप्का अहिले पनि नेपाली कांग्रेसकै वरिपरि छ । लोकतन्त्रप्रति बेइमानी गर्ने नियत बोकेको व्यक्तिका हातमा नेपाली कांग्रेसको नेतृत्व पुगेको आशंका जनताले गर्नु भनेको लोकतन्त्र कमजोर हुनु हो । त्यसैले नेपाली कांग्रेसका सभापति देउवाले आपूm लोकतन्त्रप्रति इमानदार भएको सन्देश जनतालाई दिनुपर्छ । यो सन्देश दिने माध्यम भनेकै मिडिया हो । मिडियामाथि यसरी असहिष्णु बनेर प्रकट हुनु मुर्खता हो ।

प्रतिक्रिया