बेपत्ता झा दम्पत्तिको शव भेटियो : महिलापछि पुरुषको हत्या !

महोत्तरी । ओछ्यानबाटै बेपत्ता भएका पीपराका झा दम्पतीको शव विहिवार भेटिएको छ । शव बोरामा पोको पारेर गाडेको अवस्थामा भेटिएको हो । स्थानीयले दिएको सुचनाका आधारमा उनिहरुको शव भेटिएको प्रहरीले जानकारी दिएको छ । गत फागुन ११ गते राति पीपरा गाउँपालिका–५ सहोडकाबाट ६६ वर्षीय मुसाफिर झा र उनकी श्रीमती ६० वर्षीया गीता देवी ओछ्यानसहित बेपत्ता भएका थिए । महोत्तरीको पिपरा गाउँपालिकाकै अतरार नजिक रहेको पुलको नजिक माटो पुर्ने काम भइरहेको थियो । ट्रयाक्टरले माटो पुर्ने तथा एक्साभेटरले माटो खन्ने काम गरिरहेको अवस्थामा शव देखिएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । प्रदेश–२ का प्रदेश प्रहरी कार्यालयका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) धिरजप्रताप सिंहका अनुसार पोखरीजस्तै नयाँ माटो भरिएको खेतमा ५ फिट खाल्डो खनेर बोरामा शव पुरिएको अवस्थामा भेटिको बताए । शव छिट्टै गलोस् भन्ने उद्देश्यले ४ वटा नूनका प्याकेट समेत राखिएको उनले बताए ।

शव खाल्डोबाट निकाल्नमा संलग्न एक जना प्रहरी अधिकारीका अनुसार शव २ वा ३ दिनअघि मात्र त्यहाँ गाडिएको जस्तो देखिएको थियो । ‘कतै अन्य ठाउँमा यसअघि राखेको जस्तो देखिएको छ,’ ती प्रहरी अधिकारीले भने, ‘यसअघि कहाँ राखिएको थियो, कहिले हत्या गरियो भन्ने कुरा अब थप अनुसन्धानबाट खुल्नेछ ।’ महिलाको शव धेरै बढी गलेको छ भने पुरुषको शव तुलनात्मक रूपमा कम गलेको छ । मृतकका आफन्तले शव गाडिएको ठाउँमा रहेको कपडा, चुरा तथा लहठीका कारण शव पहिचान गरेका थिए । मृतक मुसाफिरले लगाएको टिसर्टको आधारमा समेत शवको सनाखत गरिएको छ ।

प्रहरीले एक महिनादेखी बेपत्ता उनिहरुको खोजी गर्न ४२ वटा पोखरीमा ‘सर्च’ गरेको थियो । पीपरा आसपासका पोखरीमा कुनै सामानमा बाँधेर शव डुवाइएको हुन सक्ने आशंकाले पोखरीमा सर्च गरेको डीआईजी सिंहले बताए । ‘सुतेकै ठाउँबाट ओछ्यानसहित बेपत्ता भएका दम्पती जीवित नरहेको आशंकासहित हामीले तीन वटा विषयमा अनुसन्धान केन्द्रित गरेका थियौं’, डीआईजी सिंहले भने, ‘हामीलाई कि पोखरीमा डुबाइएको छ, कि इटा भट्टामा र कि त नयाँ सडकमा पुरिएको हुनसक्छ भन्ने थियो ।’ प्रहरीले खोजीका क्रममा पीपराका तीन वटा पोखरीको पानी नै सुकाएको थियो भने ४२ वटामा जाल र ¥याफ्टिङ (बोट)बाट खोजेको थियो । यस्तै प्रहरीले महोत्तरीका ८ वटा इटाभट्टामा पनि खोजी गरेको डीआईजी सिंहले बताए । कंकाल भेटिएकै ठाउँमा झा दम्पतीको लुगालगायतका सामानहरु समेत भेटिएका छन् । शव गाडिएको स्थानको सडक केही समय पहिले मात्रै खनिएको थियो । दुवै जनाको शव एकै ठाउँमा भेटिएको हो ।

झा दम्पतीलाई बेपत्ता पारेको आशंकामा केही दिनअघि ३ छिमेकीसहित चारजनालाई जिल्ला प्रहरी कार्यालय महोत्तरीले पक्राउ गरी सार्वजनिक गरेको थियो । पीपरा गाउँपालिका ५ का ५२ वर्षीय रामबाबु यादव, उनका छोराद्वय २६ वर्षीय सुरेन्द्र यादव र २४ वर्षीय राजेन्द्र यादव तथा भारत विहारको मधुवनी घर भइ महोत्तरीकै बनौलीमा बस्दै आएका हरेन्द्र ठाकुरलाई प्रहरीले सार्वजनिक गरेको हो । तर, उनीहरुले भने घटनामा आफूहरुको संलग्नता स्वीकार गरेका छैनन् । प्रहरीले भने आफ्नो अनुसन्धानबाट उनीहरुकै संलग्नता देखिएको आरोप लगाउँदै आएको छ ।

स्थानीय रामबाबु यादवको घरमा फेला परेको रगतको छिटा र मृतक गीतादेवी झाको घरमा पाइएको रगतको छिटाको नमूना संकलन गरेर परीक्षणका लागि पठाइएको थियो । दुवै नमूना एकै मानिसको रहेको भन्ने रिपोर्टबाट प्रमाणित भएपछि रामबाबु यादवले नै अपहरण गरेको निष्कर्ष प्रहरीले निकालेको थियो । त्यसबाहेक पोलिग्राफ परीक्षण गर्दा समेत उनीहरूले पटक–पटक झूटा बोलेको कुरा पाइएको डीआईजी सिंहले बताए । भारतीय नागरिक शर्मा गाउँपालिकाको बनौलीमा जग्गा प्लटिङ गर्ने तथा घर बनाएर बिक्री गर्ने कारोबारी हुन् । स्थानीय रामबाबु यादव उनका लागि एजेन्टको रूपमा काम गरेर जग्गा खरिद–बिक्री गराउने कम गर्दै आएका थिए । उनले त्यहाँ धेरै जग्गा लिएको भए पनि बाटोका लागि भन्दै मुसाफिर झाबाट १४ कठ्ठा जग्गा खरिद गर्न दबाब दिँदै आएका थिए । तर पनि मुसाफिर झाले जग्गा कुनै पनि हालतमा नबेच्ने अडान लिएका कारण उनको अपहरण गरी हत्या गरेको हुनसक्ने आशंकामा प्रहरीले पक्राउ गरेको थियो ।

प्रतिक्रिया