नेपाल पत्रकार महासंघ सर्लाही शाखामा तालाबन्दी, शाखाबाट हुने कुनै पनि गतिविधि अगाडि बढ्न नदिने

सर्लाही । नेपाल पत्रकार महासंघ सर्लाही शाखाले नयाँ सदस्यताका लागि एकलौटी रुपमा गरेको सिफारिसको बिरोध गर्दै सदस्यताबाट बन्चित गरिएका सर्लाहीका कृयाशिल पत्रकारहरुले बिहिवार नेपाल पत्रकार महासंघ सर्लाही शाखामा तालाबन्दी गरेका छन् । नेपाल पत्रकार महासंघ केन्द्रिय समितिले यहि मिति २०७७ चैत २५ गतेका दिन तिनै तह जिल्ला, प्रदेश र केन्द्रका लागि हुन गइरहेको निर्वाचन प्रयोजनका लागि २०७७ साल चैत ९ गते सर्लाही जिल्लाको सदस्यताको प्ररम्भिक नामावली प्रकाशन गरेको प्रती सदस्यताबाट बन्चित गरिएका सर्लाहीका कृयाशिल पत्रकारहरुले गम्भीर आपत्ति जनाएको छ ।

सदस्यताबाट बन्चित गरिएका पत्रकारहरुले यस प्रकारको हैकमवादी प्रवृतिले शाखा, प्रदेश तथा केन्द्रिय कार्यसमितिको गैरजिम्मेवारी र नेतृत्वको असक्षमतालाई दर्साएको भन्दै शाखाका अध्यक्ष विश्वनाथ ठाकुरलाई ज्ञापन पत्र समेत बुझाएका छन् । ज्ञापन पत्रको बोधार्थमा नेपाल पत्रकार महसंघ प्रदेश कार्यालय र नेपाल पत्रकार महासंघ केन्द्रीय कार्यालयलाई पनि उल्लेख गरिएको छ ।

ज्ञापन पत्रमा भनिएको छ, नयाँ सदस्यताका लागि मापदण्ड पुगेकालाई प्रकृयागत रुपमा अगाडि नबढाई लत्याएर विधि विधान र प्रकृया विपरित आस्थाका आधारमा सदस्यता प्रदान गर्नु अलोकतान्त्रिक कदम भएको ठहर गर्दै यस्ता कार्य हामिलाई कदापि स्विकार्य नहुने उल्लेख गरिएको छ । पटकपटक यसका लागि आवाज उठाउदा समेत कुनै सुनुवाइ नभएकोले हामी बाध्य भई तालाबन्दी गरेका छाै । यसर्थ समयमै हाम्राे माग पूरा नभए शाखाबाट हुने निर्वाचन लगायत कुनै पनि गतिविधि अगाडि बढ्न नदिने समेत ज्ञापन पत्रमा उल्लेख रहेको छ । शाखामा तालाबन्दी गर्नु पुर्व सदस्यताबाट बन्चित गरिएका सर्लाहीका कृयाशिल पत्रकारहरु सर्लाहीको सदरमुकाम मलंगवाको जिविस चोक स्थित रहेको जानकी पार्टी प्यालेसमा नेपाल पत्रकार महासंघ सर्लाही शाखाका सह-सचीव सत्य प्रकाश यादव (एसपी यादव) को अध्यक्षतामा बैठक समेत बसेका थिए ।

बैठकमा पत्रकार महासंघ सर्लाही शाखाले नयाँ सदस्यतामा गरेको विभेदपुर्ण व्यवहारले कृयाशिल पत्रकारहरु अन्यायमा परेको ठहर गर्दै यसरी आस्थाका आधारमा विधान विपरीत कार्यलाई तत्काल सच्याउन पटकपटक शाखा, प्रदेश र केन्द्रका पदाधिकारीहरुलाई अनुरोध गर्दा समेत कुनै सुनुवाइ नभएकोले बाध्य भएर महासंघको कार्यालयमा तालाबन्दी गर्ने निर्णय गरिएको थियो । साथै यहि मिति २०७७ चैत २५ गतेका दिन तिनै तह जिल्ला, प्रदेश र केन्द्रका लागि हुन गइरहेको निर्वाचन र चैत २२ गतेका दिन मतदाता नामावली प्रकाश हुनुभन्दा अगाडी नयाँ सदस्यताको सवालमा गरिएको निर्णय नसच्याए शाखाबाट हुने निर्वाचन लगायत कुनै पनि गतिविधि अगाडि बढ्न नदिने लगायतका निर्णयहरु बैठकबाट गरिएको थियो ।

प्रतिक्रिया