कोरोनाको दोस्रो लहर

नेपालमा पनि कोरोना संक्रमणको दोस्रो लहर सुरु हुने संकेत देखिएको छ । पछिल्लो एक साताको तथ्यांकले खतरनाक संकेत देखाएको छ । गत माघदेखि नै घट्दो क्रममा रहेको संक्रमणदर चैतको पहिलो सातासम्ममा दैनिक ४७ जनासम्ममा झरेको थियो । संक्रमण वृद्धिदर दैनिक करिव ६ हजारबाट घटेर दैनिक ४७ जनामा झर्दै गर्दा जनजीवन साम्यान्य जस्तै बनेको थियो । तर, यसैसातादेखि फेरी बढेको छ । चैत ९ गते आइतबार १ सय ७ जना नयाँ संक्रमित थपिएकोमा १० गते सोमबार १ सय २५ जना थपिए, ११ गते मंगलबार १ सय ८८ जना थपिए । गत वर्ष चैत ११ गते सरकारले लक डाउनको घोषणा गर्दै गर्दा मुलुमभरी जम्मा दुई जना संक्रमित भएका थिए ।

छिमेकी मुलुक भारतमा संक्रमण ह्वात्तै बढेका कारण नेपालमा पनि त्यसको प्रभाव पर्ने आँकलनका साथ गत वर्ष सरकारले लक डाउन आरम्भ गरेको थियो । सरकारले गरेको उक्त अनुमान सही सावित भयो । यस वर्ष पनि युरोपेलीदेशहरूमा फैलिएको दोस्रो चरणको कोरोना संक्रमण भारतमा प्रवेश गरिसकेको छ । छिमेकी मुलुक भारतमा फागुनको अन्त्यतिर दैनिक पाँच÷सात हजार नयाँ संक्रमित थपिने गरेकोमा चैतको पहिलो सातादेखि नै बढ्दै बढ्दै नयाँ संक्रमितको संख्या दैनिक ५० हजारभन्दा माथि थपिन थालेको छ । दैनिक हजारौंको संख्यामा संक्रमित बढेस“गै भारतमा कोभिड नियन्त्रण तथा रोकथामका मापदण्डलाई कडाइका साथ लागू गरिएको छ । भारतमा कार्यरत नेपालीहरू फेरी लक डाउन हुने हल्लाले स्वदेश फर्कन थालेका छन् । उनीहरू स्वदेश फर्कने क्रम सुरु भएस“गै नेपालमा पनि संक्रमितको संख्या ह्वात्तै बढेको हो ।

आवतजावत नियन्त्रण गर्न धेरै नै कठिन हुने खुला सिमाना रहेको भारतमा संक्रमण द्रुत गतिमा बढेसँगै नेपालमा पनि संक्रमण फैलिन सक्ने चिन्ता विज्ञहरूले प्रकट गरेका छन् पछिल्लो समय स्वास्थ्य–सुरक्षाका मापदण्ड कसैले पनि राम्रोसँग अपनाएको देखिएको छैन । स्वास्थ्य सुरक्षाका मापदण्ड कडाइका साथ लागू गर्ने तयारीमा सरकारले ढिलाइ गरिरहेको छ । ठूला–ठूला सभा तथा सम्मेलनमा रोक लगाउने र भिडभाड नगर्न निर्देशन जारी गर्दै गम्भीरताका साथ कार्यान्वयन गर्न ढिलाइ भइसकेको छ ।

फागुपूर्णिमा पर्व यही चैत १५ र १६ गते परेको छ । यो पर्वका बेला नेपाल र भारतमा धेरै लापरवाही तथा सबैभन्दा बढी भिडभाड हुने गर्छ । फागुपूर्णिमामा हुने लापरवाही र भीडभाड नियन्त्रण तथा व्यवस्थित गर्न सरकारले तत्काल सुरक्षाकर्मी परिचालन गर्नुपर्छ । सार्वजनिक रूपमा आह्वान गरेर मात्रै पुग्दैन । यस सन्दर्भमा झारा टार्ने काम नेपाल र भारत दुवै देशका सरकारले नगरुन् । विगतमा जस्तै लक डाउनको घोषणा गर्ने तर त्यसलाई गम्भीर रूपमा सदुपयोग तथा कार्यान्वयन गर्न नसक्ने अवस्था फेरी दोहोरियो भने अर्को दुर्भाग्य हुनेछ । विगतको लक डाउनले निम्न वर्गका श्रमजीवीहरू भोकभोकै मर्न वाध्य भएको तथा सानाव्यवसायीहरू टाट फल्टेको, धेरैको रोजगारी गुमेको यर्थाथताबाट सरकारले पाठ सिक्नु जरुरी छ । अब फेरी त्यस्तै अर्को लक डाउन मुलुकले थेग्न सक्ने अवस्था छैन ।

त्यसैले लक डाउनभन्दा पनि सुरक्षाका अन्य भरपर्दा विकल्पतर्फ सरकारले सोच्नुपर्छ । कोरोना संक्रमणको दोस्रो लहरस“ग कसरी जुध्ने ? भन्ने सन्दर्भमा सरकारले विज्ञ, व्यवसायी तथा श्रमजीवीका प्रतिनिधिहरूस“ग छलफल गर्नुपर्छ । साथै भारतबाट फर्कने नेपालीहरूका विगतबाट पाठ सिक्दै क्वारेन्टाइनको उचित व्यवस्था गर्नुपर्छ । विगतमा जस्तै क्वारेन्टाइनका नाममा यातना गृह बनाइयो भने कोही पनि बस्दैनन् । त्यसैलै विदेशबाट आउनेका निम्ति सुविधाजनक क्वारेन्टाइनको व्यवस्था गर्न ढिलाइ नहोस् । यो एक वर्षको अवधिमा अधिकांश पर्यटन व्यवसायी तथा पर्यटन मजदुरहरू टाट पल्टेका छन् । व्यवसायीहरूका निम्ति सरकारले थोरै भए पनि राहतको घोषणा गरेको छ, तर मजदुरहरूप्रति सरकार उदासिन देखिएको छ । पर्यटन व्यवसायका सन्दर्भमा सरकार अरू धेरै गम्भीर हुनुपर्ने देखिएको छ ।

प्रतिक्रिया