खोजखबर

ललिता निवासमा निर्माण भएका टहरा हटाउन निर्देशन

सौर्य अनलाइन २०७७ चैत १२ गते ६:५४ मा प्रकाशित

काठमाडौं । सरकारले बालुवाटारस्थित सरकारी जग्गा भित्र निर्माण भईरहेका घरटहरा रोक्न निर्देशन दिएको छ । निवास क्यापभित्र घर टहरा निर्माणले तिव्रता पाईरहेका बेला भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयले सो कार्य तत्काल रोक्न निर्देशन दिएको हो । भूमिमन्त्री डा. शिवमाया तुम्बाहाङफेले ललिता निवास क्यापभित्र घर टहरा निर्माण नरोकिएको असन्तुष्टि जनाएकी थिइन् । उनले मन्त्रीस्तरको निर्णयबाट घर टहरा निर्माण रोक्न निर्देशन दिएको मन्त्रालयले जनाएको छ । मन्त्रालयले बुधबार नै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र गृह मन्त्रालयलाई पत्र लेख्दै कानूनविपरीत निर्माण भइरहेका संरचनाको काम रोक्न भनेको छ ।

शाखा अधिकृत महेशराज भट्टराईले पत्र लेख्दै नक्सापास र संरचना निर्माण रोक्न पत्राचार गरेका छन् । मन्त्री तुम्बाहाङफेले ललिता निवासको जग्गाबारे अदालतमा मुद्दा चलिरहेकाले त्यसलाई रोक्न निर्देशन दिएको जानकारी दिइन् । सो क्षेत्रमा अहिले पनि घर तथा टहरा बनाउने काम तिव्र रुपमा भईरहेको छ । सरकारले आफु मातहत सो जग्गा ल्याएपनि अदालतमा मुद्दा विचाराधिन अवस्थामा रहेको छ ।

ललितानिवास सरकारी जग्गा व्यक्तिको नाममा बनाएपछि अख्तियार दुरूपयोग अनुसन्धान आयोगले १ सय ७५ जनाविरुद्ध मुद्दा दर्ता गरेको एक वर्ष बढी भएको छ । एक वर्षसम्म आरोपितमध्ये जम्मा १ सय ३० जना अदालतमा उपस्थित भए । तीमध्ये ३ जनालाई पुर्पक्षका लागि थुनामा पठाइएको थियो । अख्तियार दुरूपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख दीपकुमार बस्न्यात, डिल्लीबजार मालपोत कार्यालयका तत्कालीन शाखा अधिकृत कृष्णप्रसाद पौडेल र जग्गा खरिदबिक्रीकर्ता शोभाकान्त ढकाललाई थुनामा पठाइएको हो । तीमध्ये पौडेल धरौटीमा थुनामुक्त भइसकेका छन् ।

प्रतिक्रिया

पछिल्ला अपडेट्स

लोकप्रिय