‘नेपालीलाई निरीह बनाउन खोजियो’

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली नागरिकलाई फेरि एक पटक निरीह बनाउन खोजिएको बताएका छन्। नेपाल राष्ट्रिय उद्योग व्यापार संगठनको राष्ट्रिय भेलालाई तथा प्रशिक्षण कार्यक्रमलाई काभ्रेपलाञ्चोकको धुलिखेलमा बोल्दै प्रचण्डले नेपालीलाई नराम्रोसँग हेप्न थालेको आभास हुन थालेको बताए। कार्यक्रमा बोल्दै प्रचण्डले अहिले फेरि एक पटक निरीह हुन थाल्या हौँ कि नराम्रोसँग हेपिन थाल्या हो भन्ने भएको बताए । नेपालीहरूको निर्णय गर्ने अधिकार खोसिन थालिएको अनुभुति हुन थालेको बताए।

‘तिमीहरू निरीह हौ। निरीह नै रहिराख्न सक्छौ भन्न पो खोजिएको हो? ‘तिमीहरूले बढी गर्‍यौ, परिणाम भोग्न तयार होऊ’ भनेर धम्की नै आउन थाल्या हो कि? तिमीहरु आफ्नोबारेमा निर्णय गर्न पाउँदैनौ। हामी गर्दिन्छौँ। तिमीहरू निर्णय मान्न मात्रै पर्छ भनेर आदेश पालक बनाउन खोजिएको हो कि?,’ कार्यक्रममा उपस्थित दर्शकदीर्घातिर देखाउँदै प्रचण्डले भने, ‘तपाईंहरूलाई कस्तो लाग्छ? थाहा छैन। नेतृत्वमा भएको हुनाले मलाई अलि बढी छटपटी र पीडाबोध भएको छ।’

पुस ५ गते संसद् मात्रै भंग नभएको बताउँदै प्रचण्डले संविधानलाई च्यातेर कागजस्को खोस्टो बनाउने दुस्साहस गरिएको दाबी गरे। ‘प्रतिनिधि सभा विघटन गर्दा संविधानमा सार्वभौम नेपाली जनताको अधिकारको अपहरण गरियो। त्यो पहिला जस्तो मध्यावधि निर्वाचन जस्तो मात्रै होइन। नेपाली जनताले त्यसैमा साथ दिए सफल भयौँ,’ प्रचण्डले भने, ‘तर अझैपनि खतराको कालो बादल आकाशमा मडारिएकै छ। नेपाली जनताले आफ्नो चनाखोपन र राजनीतिक चेतनालाई दह्रो बनाउँदै एकताबद्ध भएनौँ भने खतरा हुन सक्छ।’

प्रतिक्रिया