मासाको जितमा अनिता एक्लैकोे १६ गोल

काठमाडौं । नेपाली खेलाडीको उच्च प्रदर्शनबाट प्रेरित मासा युनाइटेड पाकिस्तानमा जारी नेसनल वुमन्स च्याम्पियनसिपमा लगातार तेस्रो जित निकालेको छ।मंगलबार अनिता केसीको १६ गोलमा मासाले कराची एफसीलाई ३५—० गोलले हराएको छ । मासाको जितमा नेपालकी सरु लिम्बुले १०, गीता राना र गोलकिपर एन्जिला तुम्बापो सुब्बाले समान २ गोल गरिन्। ५ गोल पाकिस्तानी खेलाडीले गरे । नेसनल वुमन्स च्याम्पियनसिपमा ३५–० को जित अहिलेसम्मको फराकिलो अन्तरको नतिजा हो । यसअघि पाकिस्तान आर्मीले २५–० जित निकालेको बताइएको छ ।

मासाले मंगलबार पहिलो हाफमा १५–० को अग्रता लिएको थियो । खेलको पहिलो मिनेटमा नै अरिबाको गोलमा अग्रता बनाएको मासा युनाइटेडले त्यसपछि लगातार जस्तो गोल गरेको हो । गीताले खेलको चौथो मिनेटमा टिमको लागि दोस्रो गोल गरेकी थिइन्। गीताले दोस्रो गोल आठौं मिनेटमा गरिन् । अनिताले खेलको ११, १३ र १६ औं मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरिन् । त्यसपछि उनले १९, ३७ र ४० औं मिनेटमा गोल गर्दै दोस्रो ह्याट्रिक पूरा गरिन् । पहिलो हाफको अन्तिम समयमा सातौं गोल गरेकी अनिताले ५५, ५७, ६०, ७०, ७३, ८७, ८८, ८९ औं मिनेटमा गोल गरिन्। उनले १६ औं गोल भने खेलको अन्तिम समयमा गरिन् ।

त्यस्तै, खेलको ३४, ५० र ५६ औं मिनेटमा गोल गर्दै सरुले पहिलो ह्याट्रिक गरिन् । उनले ६७, ६९ र ७१ औं मिनेटमा दोस्रो ह्याट्रिक गरिन् । ७६, ७८, ९० र खेलको इन्जुरी समयमा गोल गर्दै उनले १० गोल पूरा गरिन् । गोलपिकर एन्जिलाले समेत खेलमा दुई गोल गरिन् । उनले ३९ र ४३ औं मिनेटमा गोल गरिन्। उनले एक गोल पेनाल्टीमा गरेकी थिइन् । यसअघिको खेलमा नेपाली खेलाडी चम्कँदा मासाले हायर एजुकेसन कमिसन टोलीलाई ४–० र सियालकोट सिटीलाई १९–० हराएको थियो । नेपाली खेलाडी पाकिस्तान महिला च्याम्पियनसिप खेल्न पहिलो पटक गएका हुन् ।

प्रतिक्रिया