महासंघका सदस्यहरुको नामावलीमा प्रेस मञ्चको आपत्ति

सर्लाही । नेपाल पत्रकार महासंघले सोमबार सार्वजनिक गरेको सदस्यहरुको नामावली महासंघको विधान विपरीत रहेको भन्दै जनता समाजवादी पार्टी निकट पत्रकारहरुको संगठन ‘प्रेस मञ्च नेपाल’ ले मंगलबार प्रेस विज्ञप्ति जारी गर्दै तत्काल सच्याउन माग गरेको छ ।

महासंघको विधानलाई लत्याएर केन्द्रीय समितिले जिल्ला शाखाहरूको अधिकारलाई कुण्ठित गरी केन्द्रीय अध्यक्ष एवं महासचिवले राजनीतिक आस्थावाट अभिप्रेरित भएर आ–आफ्नो संगठनको मतदाता बढाउने उद्देश्यले जिल्ला शाखाहरुको सर्वसम्मत निर्णय विपरित क्रियाशील पत्रकारहरुलाई बेवस्ता गरी नवीकरण तथा नयाँ सदस्यता वितरणमा गरेको धांधलीपूर्ण रवैयाप्रति गम्भीर ध्यानाकर्षण भएको र उक्त गल्ती तत्काल सच्याउन हाम्रो माग रहेको प्रेस मञ्च नेपालका महासचिव निमेष कर्णले जानकारी गराए ।

महासचिव कर्णका अनुसार, आज एक प्रेस विज्ञप्ति जारी गरि नामावली सच्याउन माग गरेको हो । यदि माग तत्काल सम्बोधन गरिएन भने केन्द्र, प्रदेश र जिल्ला शाखाहरूको आगामी निर्वाचन समेतलाई अवरूद्ध गर्ने गरी प्रेस मञ्च नेपाल सशक्त आन्दोलन गर्न बाध्य हुने उनले बताए ।

महासचिव कर्णद्वारा जारी गरिएको प्रेस विज्ञप्तिमा भनिएको छ, ‘केन्द्रीय समितिले जारी गरेको नामावली अनुसार मुलुक भरिकै प्रायः शाखाहरुको निर्णयलाई बाईपास गर्दै आफुखुसी मनपरी र विधान विपरीत नामावली सार्वजनिक गर्नु घोर निन्दनीय कार्य रहेको छ । नेपाल पत्रकार महासंघ मुलुक भरीका पत्रकारहरुको आस्था रहेको साझा संस्था हो र यस संस्थालाई भोटको राजनीतिका निम्ति प्रयोग गर्नु अत्यन्तै दुर्भाग्यपूर्ण छ ।

तसर्थ महासंघको विधानले केन्द्र, प्रदेश तथा जिल्ला शाखाहरुलाई प्रदान गरिएको अधिकार र दायित्वलाई हृदयंगम गर्दै केन्द्रले गरेको यो विभेदपूर्ण निर्णय अविलम्ब सच्याउन केन्द्रीय समितिलाई आग्रह गर्दछौं । महासंघकोे प्रतिष्ठा र गरिमामा समेत आँच आउने गरि गरिएको यस प्रकारको अवैधानीक कृयाकलाप कुनै पनि हालतमा स्वीकार्य हुन सक्दैन । अन्यथा केन्द्र, प्रदेश र जिल्ला शाखाहरूको आगामी निर्वाचन समेतलाई अवरूद्ध गर्ने गरी प्रेस मञ्च नेपाल सशक्त आन्दोलन गर्न बाध्य हुने व्योहोरा यसै विज्ञप्ति मार्फत जानकारी गराउन चाहन्छौँ ।’

प्रतिक्रिया