‘उर्जामा त्रिपक्षीय सहयोग सुदृढ पारौं’

ढाका । राष्ट्रपति विद्यादेवी भण्डारीले ऊर्जा व्यापारका लागि नेपाल, बंगलादेश र भारतबीचको त्रिपक्षीय सहयोगलाई सुदृढ पार्नु आवश्यक भएको बताएकी छन् । बंगलादेशका राष्ट्रपिता बंगबन्धु शेख मुजिबुर रहमानको जन्मशतवार्षिकीका अवसरमा ढाकास्थित ‘नेशनल परेड स्क्वायर’मा आयोजित ‘नेपाल–बंगलादेश सम्बन्ध र बंगबन्धुको जन्म शतवार्षिकी’ विषयमा विशिष्ट अतिथिका रुपमा सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले विकासको आवश्यकता परिपूर्ति गर्न नेपालको जलविद्युत् र बंगलादेशको प्राकृतिक ग्यास महत्वपूर्ण साधन बन्ने सक्ने बताइन् ।

दुवै देशले यसअघि नै ऊर्जा सहयोगसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर गरिसकेकाले व्यापार, पारवहन, ऊर्जा, सम्पर्क सञ्जाल, पर्यटन, शिक्षा, संस्कृति एवं जनस्तरको सम्बन्ध अभिवृद्धि गरी आपसी सहकार्य र सहयोगलाई विस्तार गर्न राष्ट्रपतिले आह्वान गरिन् । राष्ट्रपति भण्डारीले व्यापार अड्चनको निवारण, पूर्वाधारको विकास एवं सहज बजार पहुँचले व्यापार सम्बन्धलाई उल्लेख्य रुपमा बढाउन सक्ने जनाउँदै दुवै देशलाई लाभदायी हुने गरी व्यापार घाटा न्यूनीकरण गर्दै लैजानुपर्नेमा जोड दिइन् ।

‘बहुपक्षीय मञ्चहरुमा आपसी समर्थन र सहयोगका माध्यमबाट हाम्रा दुई मुलुकका समान हितहरु प्रवद्र्धन गर्नका लागि पनि हामी उत्तिकै सक्रियतापूर्वक लागिरहेका छौँ’, राष्ट्रपति भण्डारीले भनिन्, ‘सम्पर्क सञ्जाल विस्तार गर्न काठमाडौँ–ढाका खण्डमा उडानहरु थप्न र बंगलादेशको शइदपुर र नेपालको विराटनगरजस्ता ठूला शहरबीच हवाई सम्पर्क स्थापना गर्न सकिन्छ ।’

भारत र बंगलादेशसँग नेपालका नदीहरुको आबद्धताबाट जलमार्ग विकास गर्न सहयोग पुग्ने जनाउँदै उनले सडकमार्गको स्तरोन्नति र रेलमार्गको विकास एवं तिनको आबद्धताले पनि यस प्रक्रियामा अर्थपूर्ण योगदान दिन सक्ने बताएन् । राष्ट्रपति भण्डारीले बंगलादेशको रोहनपुरमा सामान भण्डारण गरी रेल पारवहनद्वारा द्विपक्षीय व्यापार प्रवद्र्धन गर्ने समझदारी प्रक्रिया अगाडि बढेकामा खुशी व्यक्त गरिन् ।

दुवै देशको प्राकृतिक सौन्दर्य, ऐतिहासिक तथा पुरातात्विक क्षेत्र एवं सांस्कृतिक सम्पदाको सम्पन्नताका कारण नेपाल र बंगलादेशले पर्यटन क्षेत्रमा आपसी सहयोग विस्तार गरी लाभ लिन सक्ने बताउँदै राष्ट्रपति भण्डारीले बंगलादेशी पर्यटकले नेपालका हिमाल, हराभरा उपत्यका, अपार जैविक विविधता र महत्वपूर्ण ऐतिहासिक, पुरातात्विक तथा सांस्कृतिक क्षेत्रको भ्रमणबाट लाभ लिन सक्ने जनाइन् । नेपाली पर्यटकले बंगलादेशका सुन्दर समुद्री तट, सदाबहार समुद्री वनस्पतिका सुन्दर वन र सांस्कृतिक एवं ऐतिहासिक क्षेत्रको भ्रमण गर्न सक्ने उनले बताइन् ।
बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदले राष्ट्रपति बंगबन्धुको जन्मशतवार्षिकीको गत वर्ष भिडियो सन्देशका माध्यमबाट उद्घाटन समारोहलाई शुभकामना दिएकोमा राष्ट्रपति भण्डारीप्रति आभार व्यक्त गर्दै बंगलादेश स्वतन्त्रताको आन्दोलनमा नेपाली नेता र जनताले नैतिक सहयोग तथा हतियारसमेत दिएको स्मरण गरे ।

बंगलादेशका प्रधानमन्त्री शेख हसिनाले नेपाल र बंगलादेश दुवैले मध्यम आय भएको मुलुकमा एकैसाथ स्तरोन्नति गर्न लागेकामा खुशी व्यक्त गर्दै आफ्नो देशको स्वतन्त्रताको आन्दोलनमा भएको नेपालको सद्भावप्रति धन्यवाद व्यक्त गरिन् । बंगलादेश स्वतन्त्र मुलुक भएपछि मान्यता दिनेमध्ये नेपाल एक अग्रणी मुलुक भएकाले पनि आफूहरु नेपालप्रति सँधै ऋणी रहेको उनको भनाइ थियो ।

यसअघि राष्ट्रपति भण्डारीसँग ढाकास्थित होटेल कन्टिनेन्टलमा बंगलादेशका प्रधानमन्त्री हसिनाले शिष्टाचार भेटवार्ता गरेकी थिइन् । यस्तै, विदेशमन्त्री डा अब्दुलले राष्ट्रपतिसँग अलग्गै शिष्टाचार भेटवार्ता गरेका थिए । राष्ट्रपति भण्डारी राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) को विशेष विमानबाट सोमबार बिहान यहाँ आइपुगेकी हुन् । (रासस)

प्रतिक्रिया