एमालेका चार नेताले ओलीले सोधेको स्पष्टीकरणको जवाफ नबुझाउने संकेत

काठमाडौं । नेकपा एमालेमा पार्टी हितविपरित काम गरेको भन्दै अध्यक्ष केपी ओली पक्षले वरिष्ठ नेता माधव नेपालसहितका नेतालाई तीन दिने स्पष्टीकरण सोधे पनि जवाफ भने नपाउने भएका छन् । अवैध केन्द्रीय कमिटीलाई स्पष्टीकरण सोध्ने अधिकार नै नभएको भन्दै उनीहरुले जवाफ नदिने भएका हुन् ।

अध्यक्ष ओली पक्षले नेता नेपाल, भीम रावल, सुरेन्द्र पाण्डे र घनश्याम भुषाललाई तीन दिनभित्र जवाफ दिन भन्दै सोमबार प्रष्टीकरण सोधेको पत्र पठाएका छन् । तर नेपालसहितका नेताले प्रष्टीकरण नदिने प्रष्ट गरे । साविक एमालेका उपाध्यक्ष रावलले आफूहरु कार्वाही भोग्न तयार रहेको तर स्पष्टीकरण नबुझाउने प्रतिक्रिया दिइसकेका छन ।

नेपाल पक्षीय नेता योगेश भट्टराईले नेपालसहितका नेताहरुलाई स्पष्टीकरण सोधिएकोमा आपत्ति जनाउँदै प्रश्न सोध्नेहरु नै लाखौं प्रश्नको घेरामा रहेको प्रतिक्रिया दिए ।

भट्टराईले सामाजिक सञ्जाल ट्विटरमार्फत सोध्नेहरु स्वयं लाखौं प्रश्नको घेरामा रहेको उल्लेख गरेका छन । गत चैत्र ७ गते नेपाल पक्ष अनुपस्थित रहेको केन्द्रीय कमिटी बैठकमा प्रधानमन्त्री एवं अध्यक्ष केपी ओलीले नेता नेपालसहित चार जना नेतालाई स्पष्टीकरण सोध्ने निर्णय गराएका थिए ।

प्रतिक्रिया