समालोचना ‘मञ्जिल चुम्ने यात्रा’ मा भीम

                     तेजविलास अधिकारी

भीम कुमाखी जनकलाकार हुन् । भीमको जन्म २०३९ माघ २६ गते सल्यानको कालागाउँमा भएको हो । दुई दशकभन्दा लामो समय नेपालको सांस्कृतिक क्षेत्रमा योगदान दिइसकेका भीमले आफ्ना अनुभवलाई ‘मञ्जिल चुम्ने यात्रा’ कवितासङ्ग्रहमा कविताका रूपमा प्रकट गरेका छन् । जनयुद्ध कालदेखि २०७० को पहिलो वर्षसम्मका कविता यस सङ्ग्रहमा परेका छन् ।

सङ्ग्रहभित्र जम्मा ५२ ओटा कविता सङ्कलित रहेका छन् । सङ्ग्रह आकर्षक कलेवरसाथ ११६ पृष्ठ कविताको पाठ र १६ पृष्ठ भूमिका आदिले भरिएको छ । कविको लेखकीय भूमिकाबाहेक समालोचक रमेशप्रसाद भट्टराई र कवि मातृका पोखरेलको सटिक भूमिकाले पुस्तकभित्रको रचना आधारलाई राम्ररी पुष्टि गरेको छ । सङ्ग्रहभित्रका कविता सबै नै गद्य संरचनाका छन् । कविताले विशेष कालखण्डको विषयवस्तुलाई राम्ररी उधिनेको पाइन्छ ।

केही विषय क्षेत्र
ढिँडो ओडाल्ने हातहरूले
चिराग सल्काएको दिन
सिस्नो टिप्ने डालोमा
बम बारुद भण्डारण गरेको दिन
लालुपाते फक्रने पखेरीमा
रगतका फाल्साहरू जमेको दिन
प्रिय सखा !
यो सपथ हामीले शिरोपर गरेकै हौं
त्यो मञ्जिल चुम्नै पर्छ !!

कविताको पछिल्लो बाह्य आवरणमा आएका यी हरफबाटै हामी बुझ्न सक्छौं । कवि नेपालको भूमिमा चलेको न्याय र समानता प्राप्तिको आन्दोलनको एउटा विशिष्ट रूप जनयुद्धको विषयभित्र कविता कलामा दत्तचित्त छन् । कवि कुमाखी कवितालाई सांस्कृतिक यात्राको वैचारिक हतियारका रूपमा स्थापित गरेरै छोड्छन् ।

धेरै ठूलो सभालाई गीत–सङ्गीत पस्कने भीम आफ्नो स्वरलहरीलाई कवितामय बनाउने यात्रामा कविताको सिर्जना गर्न पुग्दछन् । समाजभित्र आज पनि समस्याका थुप्राहरू उचालिइरहेकै छन् । त्यो थुप्रोलाई उधिनेर पल्टाउन सबल भएको वैचारिक यात्राको एउटा कडीको रूपमा जनयुद्ध स्थापित भएको छ ।

वर्षौंको राजतन्त्रलाई जनबलको माध्यमबाट लडाएर देशमा जनताका छोराछोरी नै राष्ट्रप्रमुख हुने व्यवस्थाका निम्ति मात्र नभई आधारभूत जनताका अधिकारको प्राप्तिको निम्ति लड्नेहरू आज पनि पीडामा छन् । बिचौलियाले सत्तालाई देश लुट्ने माध्यम बनाइरहेको परिवेशमा त्यो शिखर लम्कने यात्राको कुरा गर्नु गफजस्तो पनि लाग्न सक्दछ ।

आधार तहबाट अधिरचनामा धक्का दिने गरी वैचारिक चेतना उठाउन सके हिजो जनबलमा भएको जनयुद्धको सार्थकता हुनेतर्फ कवि भीमको ध्यान गएको छ । देशभित्र देश खोज्न बाध्य लाखौं नेपाली वर्गीय असमानताको मूल समस्यामा परिरहेको तथ्यलाई एकएक कविताले सम्बोधन गर्ने चेष्टा गरेको छ । कवितालाई आजको समय आँखाले हेर्दा उठेको वा उदाएको खुशी पनि विस्तारै त खोसिँदै छैन ? प्रश्न गर्न मन लाग्छ ।

काला बादलका छिर्काहरू
मानव बस्तीभन्दा टाढा भागिरहेछन्
दुःखीहरूको पसिनामा राज गरेर
आँसुमा आनन्द लुटिरहेका महलका लुटेराहरू
कुर्सीमा बसेर शोषणको खेती गर्नेहरू
पल प्रतिपल हारिरहेको बखत (सहपाठीहरूप्रति पृ. ५)

समय प्रतिगमनको शिकार भइरहेको छ । अब अर्कै कविता चाहिने भएको छ । हुन त नेपाली परिवर्तन आजका मितिसम्म त्यति धेरै दुर्घटित हुन पाएको छैन । जनता खबरदारी गरी नै रहेका छन् । तथापि गणतन्त्र, समावेशी, समानुपातिक प्रतिनिधित्वको सिद्धान्त, धर्मनिरपेक्षता तथा यसभित्रका यावत् सकरात्मक पक्ष हामीले कामना गरेर मात्रै जोगिने होइन कि जस्तो हुन पुगेको छ ।

नेताहरूको लहडी यात्रा र स्वघोषित एकताले देशलाई खासै ऊर्जा दिन सकेको छैन । पक्कै पनि पात्रजस्तो परे पनि जनताको छोराछोरी राज्यको प्रमुख पदमा पुग्ने प्रबन्ध भएकै छ । सामान्य सुधारले मात्र खासै नतिजा नदिनेमा हामी स्पष्ट छौं भन्ने भाव पनि कविताहरूमा उठेका छन् ।

धेरै बकबास भयो
सर्वोच्चताको सवालमा
बहसले सीमा नै नाघ्यो
लोकतन्त्रको मुद्दामा
चर्चाको कुनै लेखाजोखा नै भएन
तर सत्य गुमनाम बनिरह्यो (पृ. ११ ‘तिम्रो कू र मेरो सडकयात्रा’)

कहिले संवैधानिक राष्ट्रपतिले ‘कू’ गर्ने त कहिले कार्यकारी प्रधानमन्त्रीले संविधानमै नभएको अधिकार प्रयोग गरेर देशलाई भीडन्तमा लैजाने प्रयास भइरहेकै छ । कविताले जनअधिकारको उडाल्नो भाँचिने गरी हुने ‘कू’ को विरोध मात्र गरेका छैनन् उनले त जनतालाई जागृत गराएर कहिल्यै ‘कू’ हुनै नसक्ने स्थितिमा नलगी हुँदैन भन्ने चासो राखेका छन् ।

कवि परिवर्तनको संवाहक बन्न पाएकोमा गर्बिलो महसुस गर्दै प्रतिक्रान्तिका मतियारहरूलाई दुत्कार्न मात्र चाहन्नन् । उनले त कुनै पनि स्थितिमा एक थोपा रगत रहेसम्म प्रतिक्रियावादीको बहुरूपी तिकडमलाई परास्त गरेरै छाड्ने विचार व्यक्त गरेका छन् ।

म रोइरहेको पल
उनी अट्टाहास गर्दै
रमाइरहेको देखें
म हाँसिरहेको पल
उनी परेली छचल्काएर (म र उनी पृ. ९८)

कवि मानौं आफ्नो भलो चिताउने प्रेमीहरूको कटाक्षजस्तो गरी देशको यावत् विषयलाई कलात्मक ढङ्गबाट प्रस्तुत गर्न पुग्दछन् । आफूले देखेको सपना देश र जनताका लागि प्रस्तुत गर्न खोज्दा परम्परामा रमाउने धुपौरेहरू त्यसको प्रतिकारमा उत्रन खोजेको सङ्केत गरेका छन् ।

समयसँगै सही बाटो खोजेर हिँड्न सक्ने अवस्थाको निम्ति तयार हुन अरुलाई प्रेरित गरेको विषय यहाँ उद्घाटित भएको छ । कवि आफ्नो आस्था र विश्वासको पदचाप जता र जहाँ पुगे पनि त्यहाँ वर्गीय माया खोज्ने कर्ममा अभ्यस्त देखिन्छन् । तानसेनको सम्मानमा कविले यसरी प्रस्तुत गरेका छन्;

तिमी ध्वस्त छौ तानसेन
खरानी बनेका छौ
इतिहासमा कता कता
ध्वंसभित्र सुन्दरता पाइने रहेछ
त्यही कुरूपताभित्रको सुन्दरतामा
तिमी आज बाँच्यौ (पृ. १०६)

तानसेन दरबार जनयुद्धको क्रममा ध्वस्त भयो । तर त्यसले जनयुद्धलाई अप्रत्यक्ष ढङ्गले सहयोग पु¥यायो । कतै भौतिक संरचना ध्वंश हुँदा त्यसले वैचारिक यात्रालाई फराकिलो पार्दै जान मद्दत गरेको विषय यहाँ उठाइएको छ । कविताले उठान गरेको विषय युद्ध साहित्यको खोज अनुसन्धानको विषयसमेत बन्न पुगेको छ ।

बैरीहरूको गिद्दे दृष्टि र यातनामा
झुक्दै नझुकी
नयाँ संसारका जग बनेका
लाल थवाङ गाउँहरू
तिम्रो महानताको निम्ति
सर्वहारा वर्गको पक्षमा
तिमे पनि गीत गाइरहेछन्
र भनिरहेछन् अभिवादन तानसेन (पृ. १०७)

अढाई सय वर्षको राजतन्त्रको जग हल्लाउने र ढाल्ने काम गणतन्त्रका सिपाहीहरूले गरेकै हुन् । त्यसमा पनि रुकुम, रोल्पा, सल्यान, कालिकोट, गोरखा, सिन्धुपाल्चोक जस्ता जिल्लाले जनयुद्धको अग्रमोर्चामा हजारौं योग्य नागरिकको बलिदानी दिँदै इतिहास रचेको सन्दर्भमा आसपासको जिल्लामा भएका दर्जनौं आक्रमण र प्रतिरोधको यात्राले देशको एउटा कालखण्डलाई थप ऊर्जा दिएकोतर्फ विषय केन्द्रित भएको छ । कविताको अर्थलाई आजको सापेक्षतामा हेर्दा नेतृत्व बिग्रदै जाँदा विधि भत्किदै गएकोतर्फ पनि जोड्नु वाञ्छनीय देखिन्छ ।

कवि भीम कुमाखी नेपाललाई समुन्नत पार्नको लागि केही दिनको यात्राले पुग्दैन यो निरन्तरताको लागि प्रत्येक नागरिकको राजनीतिक चेत उच्च हुन जरुरी छ भन्दछन् । कविका प्रत्येक जसो कविताले वर्तमान सामाजिक अवस्थामा रहेको भेदभावपूर्ण व्यवहारबाट फरक व्यवहारतर्फ लैजान अर्का व्यावहारिक युद्ध जित्नु पर्ने ठट्टा गरेका छन् । सहिदलाई सम्झनेबित्तिकै लालुपाते र लालुपातेलाई देख्नेबित्तिकै सहिद सम्झने कवि लालुपातेमा सहिदको रगत जाज्वलिएको पाउँछन् ।

लालुपाते
तिमी पहराको छाङ्गोमा
दुखियाको आँगनीमा
हिजो रातै भएर फुलेकी देख्थे
तिम्रो यौवन
वीर सन्ततिहरूका
अमूल्य रगतका छिर्काहरूले होला
आज झन् गाढा बनेको देखिरहेछु । (पृ. ४९, लालुपाते)

आज झन् सहिदलाई सम्झनुपर्ने समय हो । नेताहरू बरालिरहेको समयमा सहिदको सपना कसरी पूरा होला । शक्ति र सत्तामा आँखा गढिरहेको नेतृत्वको ध्यान सहिदको बलिदानीतर्फ कसरी मोडिएला ? अनगिन्ति प्रश्नहरू एकैचोटि कवि उठाई दिन्छन् । सायद यही प्रश्नहरूको उत्तर खोज्नका लागि पनि यी कविता पढ्न जरुरी छ । प्रश्न नै उठ्दैन भने कसरी समाधान होला नेपाली समाजको विविध समस्या ।

हेर्नुपर्छ गहिरिएर अब व्यक्तिको लहड वा सनकको भरमा व्यवस्थालाई भ्रष्ट बनाउने विषय क्षमायोग्य हुन सक्दैन भन्ने गहन भाव कवि लालुपातेलाई प्रतीकको रूपमा प्रयोग गर्दै प्रस्तुत गर्दछन् । कवितासङ्ग्रहमा कवि भीमले कुनै कुनै कविता अमूर्त जस्तो लाग्ने तर अर्थ नै खोज्नु पर्ने खालका पनि प्रस्तुत गरेका छन् ।

कवि आफूलाई क्रान्तिकारी आशावादी यात्री ठानिरहँदा पनि उनका कविताले कतै कतै घुमाउरो पाराले निराशा त प्रकट गरेको छैन ? झुक्दोरहेछ हिमाल पनि जस्ता कविताबाट प्रकट भइरहेझै लाग्दछन् । हुन त सबै ठाउँमा क्रान्तिको जयजयकार र सबै ठाउँमा प्राप्तिका कुरा पनि त राख्न सकिन्न ।

अन्त्यमा
‘मञ्जिल चुम्ने यात्रा’ कवितासङ्ग्रहभित्रका कविताहरूको सर्वेक्षणात्मक पठन गर्दा कविको कविताप्रतिको आकर्षण विचार सम्प्रेषणको गतिलो माध्यम सावित भएको छ । कवि विषयलाई विविध हिसाबले सम्प्रेषण गर्न सफल भएका छन् ।

कतै आक्रोशको व्यवस्थापन कविताकै माध्यमबाट भएको छ त कतै आशाको सञ्चार । कतै विषयको विस्तार भएको छ कतै अर्थको सङ्कुचन । जे होस् कवि आफ्नो सिर्जना यात्रामा लामो समयदेखि परिस्कार पूर्ण प्रगतिशील स्वरहरूलाई घन्काउँदै अगाडि बढेको प्रमाण ‘मञ्जिल चुम्ने यात्रा’ कवितासङ्ग्रह हो ।

प्रतिक्रिया