विद्युतीय र मेसिनरी सामान खरिद : ८ महिनामा मोवाइल आयात दोब्बर

काठमाडौं । कोरोना कहरका बीचमा पनि विद्युतिय र मेसिनरी सामान खरिद उच्च रहेको देखिएको छ । नेपालको ब्यापार घाटा बढिरहेका बेला विद्युतिय सामान र मेसिनरी सामान खरिद पनि बढेको छ । चालू आर्थिक वर्षमा सबैभन्दा बढि मोबाइल आयात भएको देखिएको छ ।
चालु आर्थिक वर्षको पहिलो आठ महिनामा झण्डै साढे २६ अर्ब रुपैयाँ बराबरको मोबाइल फोन आयात भएको हो । साउनदेखि फागुन महिनासम्म २६ अर्ब ३० करोड ५४ लाख हजार रुपैयाँ बराबरका मोबाइल फोन भित्रिएको भन्सार विभागले जनाएको छ । विभागका अनुसार आठ महिनामा ४९ लाख ९३ हजार थान मोबाइल सेट आयात भएका छन् ।

सबैभन्दा धेरै चीनबाट १६ अर्ब ४२ करोड रुपैयाँ बराबरका ४१ लाख २२ हजार सेट आयात भएका छन् । यस्तै भारतबाट आठ अर्ब ६० करोड रुपैयाँ बराबरका ६ लाख ४९ हजार सेट आयात भएका छन् । भियतनामबाट पनि एक अर्ब पाँच करोड रुपैयाँको मोबाइल फोन आयात भएको छ । बेलायत, अमेरिका, यूएई, कतार, बहराइन, जापान, कोरियालगायतका देशबाट पनि मोबाइल आयात भएका छन् । गएको आर्थिक वर्ष २०७६÷०७७ को पहिलो आठ महिनामा नेपालमा १४ अर्ब ३७ करोड रुपैयाँ बराबरका झण्डै ३८ हजार थान मोबाइल सेट आयात भएको थियो । यो आर्थिक वर्षमा झण्डै दोब्बरले बढेर २६ अर्ब ३० करोड रुपैयाँको मोबाइल फोन सेट आयात भएको हो । यस्तै आठ महिनामै राउटर खरिदका लागि नेपालबाट झण्डै डेढ अर्ब रुपैयाँ बाहिरिएको छ । भन्सार विभागका अनुसार पाँच लाख आठ हजार थान राउटर खरिदका लागि एक अर्ब ३३ करोड ७० लाख रुपैयाँ बाहिरिएको हो ।

यस्तै आठ महिनामा ७३ हजार पाँच सय थान स्मार्ट वाच नेपाल आयात भएको छ । यसको मूल्य १३ करोड १० लाख रुपैयाँ रहेको छ । यस्तै नेटवर्किङ स्विच आयातका लागि ४१ करोड रुपैयाँ बाहिरिएको छ । विद्युतीय सामाग्रीपछि डोजर र एक्साभेटर खरिद पनि निक्कै आकासिएको छ । स्थानीय तहको निर्वाचन भएसँगै डोजर र एक्साभेटर खरिद आकासिएको हो । पछिल्लो पाँच वर्षमा मात्रै झण्डै एक खर्बको रकम बाहिरिएको छ । डाँडाकाँडामा बाटो बनाउनका लागि यी सामाग्री आवश्यक भएकाले खरिद पनि बढेको देखिएको छ । ​चालू आर्थिक वर्षको फागुन मसान्तसम्ममा १ हजार ४ सय ७६ बूलडोजर तथा एक्साभेटर आयात भएको भन्सार विभागले जनाएको छ । विभागका अनुसार यो परिणामको डोजर आयात हुँदा राज्यबाट ८ अर्ब २ करोड ४२ लाख ९७ हजार रुपैयाँ बाहिरिएको छ । अघिल्ला वर्षहरूमा पनि ठूलो परिमाणमा यस्ता डोजर आयात भएको विभागले बताएको छ । यद्यपि कति आयात भयो भन्नेमा भने केही अन्यौलता रहेको विभागका कर्मचारीहरूले बताएका छन् ।

आर्थिक वर्ष २०७४÷७५ मा मुलुकमा ५ वर्षयताकै सबैभन्दा बढी रकम डोजर आयातमा बाहिरिएको छ । यस आर्थिक वर्षमा २९ अर्ब ९५ करोड २४ लाख ३१ हजार रुपैयाँ डोजर आयातमा बाहिरिएको भन्सार विभागको तथ्यांकले देखाएको छ । यो पाँच वर्षयताकै उच्च खर्च हो । आर्थिक वर्ष २०७५÷७६ मा १५ अर्ब ५ करोड ७८ लाख ७७ हजार रुपैयाँ बराबरको डोजर आयात भएको छ । भन्सार विभागको तथ्यांक हेर्दा २०७२ सालमा संविधानमार्फत संघीय व्यवस्था लागू भएयता ८९ अर्ब ४१ करोडभन्दा बढी मूल्यको बूलडोजर र एक्साभेटर आयात भएको देखिन्छ । डोजरका लागि आवश्यक पर्ने बकेट तथा अन्य पार्टसहरू छुट्टै आयात हुने भएकाले त्यसको तथ्यांक यसमा सामेल छैन । त्यसलाई जोड्ने हो भने एक अर्बभन्दा माथिपुग्ने देखिन्छ ।

प्रतिक्रिया