जिम्बावेमाथि अफगानिस्तानको क्लिनस्विप

काबुल । अफगानिस्तानले जिम्बावेविरुद्ध तीन टि२० आई सिरिज क्लिनस्विप गरेको छ । तेस्रो टि२० आई खेलमा जिम्बावेलाई ४७ रनले पराजित गर्दै अफगानिस्तानले क्लिनस्विप गरेको हो । जितको लागि १ सय ८४ रनको विजयी लक्ष्य पछ्याएको जिम्बावेले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १ सय ३६ रन बनायो ।

जिम्बावेका सिकन्दर राजा २९ बलमा २ चौका र १ छक्का सहित सर्वाधिक ४१ रनमा अविजित रहे । रायन र्बुल ३१ बलमा १ चौका र ३ छक्का सहित ३९ रनमा अविजित रहे । तरिसै मुसकान्डाले ३० र सेन विलियम्सले १४ रन बनाउन बाहेक अन्यले राम्रो प्रदर्शन गर्न सकेनन् । अफगानिस्तानका करिम जान्तले सर्वाधिक २ विकेट लिए ।

त्यसअघि शेख जायद स्टेडिम आबूधाबीमा टस हारेर पहिला ब्याटिङ थालेको अफगानिस्तानले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ८३ रन बनाएको थियो । अफगानिस्तनका नाजिबुल्लाह जद्रान ३५ बलमा ५ चौका र ५ छक्का सहित ७२ रनमा अविजित रहे । उस्मान घानी ३९, कप्तान अस्गर अफगान २४, कामिर जान्त २१ र रहमानुल्लाह गुर्बाज १८ रनमा आउट भए । जिम्बावेका मुर्जाबानी र रिचर्ड नगारावाले २–२ विकेट लिए । पहिलो खेलमा अफगानिस्तान ४८ रन र दोस्रो ४५ रनले विजयी भएको थियो ।

प्रतिक्रिया