लेकाली र सैनिकको बराबरी

नेपालगन्ज । एन्फा प्रेसिडेन्ट लिग फुटबलमा सैनिक फुटबल क्लब झापा र लेकाली युवा क्लब जुम्लाले १–१ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् । बराबरीपछि दुबै टोलीले लिगमा अंकको खाता खोलेका छन् । नेपालगन्ज रंगशालामा पहिलो हाफमा झापाको सैनिक युथबाट प्रशान्त अवस्थीले ३८औं मिनेटमा गोल गर्दा लेकालीका भुपेन्द्र शाहीले बराबरी गोल फर्काएका थिए । लेकालीका गोलरक्षक पुजन होना म्यान अफ द म्याच घोषित भए ।

सैनिकका प्रशिक्षक प्रवेश कटुवालले पेनाल्टीलाई सदुपयोग गर्न नसक्दा बराबरीमा रोकिनु परेको बताए । दोस्रो हाफमा पुजन उपरकोटीको पेनाल्टी प्रहारलाई लेकालीका गोलरक्षक पुजन होनाले विफल पारेका थिए । लेकालीका प्रशिक्षक युवराज शाहीले टोलीको समन्वय मिल्दै गएकोले खेलमा सुधार हुँदै गएको बताए ।

शनिबार लुम्बिनी प्रदेशको च्याम्पियन धम्बोझी र सुदुरपश्चिमको स्टार सिटी युवा क्लब कैलालीबिच पहिलो खेल हुनेछ । दोस्रो खेल प्रदेश नम्बर –२ को मनकामना युवा क्लब रौतहट र बागमति प्रदेशको धादिङ समाज (धादिङ) बिच प्रतिस्पर्धा हुनेछ । चैतको १५ गते सम्म चल्ने प्रतियोगितामा प्रदेश नम्बर १ को सैनिक फुटबल क्लब झापा, प्रदेश नम्बर २ को मनकामना युवा क्लब रौतहट, प्रदेश नम्बर ३ को धादिङ समाज धादिङ, प्रदेश नम्बर ४ बाट त्रिवेणी युवा क्लब लमजुङ, लुम्बिनी प्रदेशबाट धम्बोझी युवा क्लब बाँके, प्रदेश नम्बर ६ को लेकाली युवा क्लब जुम्ला र सुदुर पश्चिम प्रदेशको स्टार सिटी युवा क्लब कैलालीले प्रतिस्पर्धा गरिरहेका छन् । प्रतियोगिताको विजेताले १० लाख रुपैयाँ र उपविजेता टोलीले ५ लाख रुपैयाँ पाउनेछन् । प्रतियोगिताको शिर्ष चार टोलीले राष्ट्रिय लिगमा प्रतिस्पर्धा गर्नेछन् ।

प्रतिक्रिया