गर्मी सगै बिद्युत माग बढ्यो

काठमाडौं । गर्मीसंगै बिद्युत माग बढेको छ । पछिल्लो केही समयदेखि स्थिर देखिएको विद्युत गर्मी बढेसगै बढेको हो । चैत महिनामा भारतबाट दैनिक आयात हुने विद्युत न्युनतम एक करोड ३२ लाख युनिटदेखि अधिकतम एक करोड ६० लाख युनिटसम्म रहेको प्राधिकरणले जनाएको छ । तराइमा गर्मी बढेर विद्युत खपत बढे पनि हिमाली क्षेत्रको तापक्रम नबढ्दा अपेक्षित परिमाणमा हिउँ पग्लिन नसक्दा खोलामा पानीको सतह बढन सकेको छैन । उत्पादन बढाउन चाहिने जलस्तर नहुँदा हिउँ खोलाको पानी उपयोग गर्ने आयोजनाहरू पूर्ण क्षमतामा चल्न सकेका छैनन्। विद्युत खपत बढ्दा सोझै आयातको हिस्सा बढाउनु परेको प्राधिकरणको भनाइ छ । यस अघि हिउँदमा अधिकतम एक करोड ५० लाख युनिटसम्म आयात पुगेपछि परिमाणमा क्रमशः कमी आइरहेको थियो ।

अहिले तराईमा गर्मी सुरु भएसँगै फ्रिज, पंखा लगायतका विद्युतीय उपकरणको प्रयोग बढेपछि माग पनि दिनदिनै उकालो लागेको हो । माग उकालो लागेपनि प्राधिकरण र निजी क्षेत्रका आयोजनाको उत्पादनमा कुनै पनि सुधार देखिएको छैन । अहिले प्राधिकरणको उत्पादन न्युनतम ४५ लाख युनिट देखि अधिकतम ५४ लाख युनिट सम्म पुगेको छ । निजी क्षेत्रको उत्पादन भने न्युनतम ४६ लाख देखि ५० लाख युनिटकै आसपास रहेको छ ।

तर कूल विद्युत खपत भने दुई करोड ६० लाख युनिट पुगेकाले भारतबाट एक करोड ६० लाख युनिट विद्युत आयात गरीरहेको प्राधिकरणले जनाएको छ । गर्मी सुरु भएको र हिउँदमा पानी नपरेका कारण गर्मी पनि अत्यधिक बढ्न सक्ने भएकाले प्राधिकरणलाई विद्युत माग व्यवस्थापन गर्न थप चुनौती हुने देखिएको छ ।

प्रतिक्रिया