भारततर्फ रोकिएन इन्धन तस्करी

काठमाडौं । नेपाल आयल निगमको ढुवानीकर्ता जय गौरीशंकर ढुवानी सेवा प्रालिको नाममा रहेको ट्यांकरलाई नेपाल प्रहरीले गत फागुन २ गते नियन्त्रणमा लियो । उक्त ट्यांकरको चेम्बर र फ्युल ट्यांकमा एक हजार ३६० लिटर डिजेल अनधिकृतरुपमा भारततर्फ लैजाँदै गरेको भेटिएपछि प्रहरीले कारवाही गरेको थियो । यसपछि निगमले सो ट्यांकरमा इन्धन भर्ने पर्साको जगरनाथपुरस्थित श्वेता आयल सेन्टरलाई निगमले सिलबन्दी गरी कारवाही प्रक्रिया अगाडि बढायो । इन्धन चोरीमा संलग्न उक्त ट्यांकरलाई पनि निगमले पेट्रोलियम पदार्थ ढुवानी नियमावली, २०७३ (तेस्रो संशोधन) अनुसार कारवाही प्रक्रिया गर्यो ।

केही महिनाअघि भारतबाट पेट्रोल लोड गरी आएका दुई ट्यांकरमा फल्स चेम्बर बनाई इन्धन चोरी तस्करी गरी ठगी गरेको पाइएपछि निगमले थप अनुसन्धान गर्न प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) लाई पत्र काट्यो । प्रहरी अनुसन्धनबाट उक्त दुई ट्यांकरले फल्स चेम्बर बनाई इन्धन लुकाइ भारत लगेर बेच्ने र निगमलाई हानी नोक्सानी पु¥याएर ठगी गरेको पुष्टि भयो । सो प्रकरणमा संलग्न बाराका अमलेखगञ्ज–६ का अजय लामा र विकेश लामालाई पक्राउ गरी ब्यूरोले अनुसन्धान प्रक्रिया अगाडि बढाएको छ ।

केही दिनअघि सशस्त्र प्रहरी बल (एपिएफ)को टोलीले कपिलवस्तुको कृष्णनगर नगरपालिका–२ बाट विभिन्न सात ट्यांकरमा फल्स बटम बनाएर अवैधरुपमा भारत लैजाँदै गरेको अवस्थामा चार हजार २०० लिटर डिजेल बरामद ग¥यो । बरामद गरिएको डिजेल कृष्णनगर भन्सार कार्यालयमा बुझाइएको छ । भारतभन्दा नेपालमा पेट्रोलियम पदार्थको मूल्य सस्तो हुँदा पछिल्ला केही समययता नेपालबाट भारततर्फ इन्धन चोरी तस्करी भइरहेको घटनाक्रमले पुष्टि गरेको छ । नेपाल–भारत खुला सिमानाको फाइदा उठाउँदै लुकीछिपी भारततर्फ इन्धन तस्करी हुँदै आएको छ । सीमावर्ती भारतीय क्षेत्रमा भन्दा नेपालमा पेट्रोल प्रतिलिटर ३३ रुपैयाँ ४२ पैसा र डिजेल प्रतिलिटर ३९ रुपैयाँ ६१ पैसा सस्तो छ । खुला सीमाना र भारतमा भन्दा नेपालमा इन्धनको मूल्य सस्तो हुँदा नेपालबाट भारततर्फ इन्धन तस्करी भइरहेको निगमका अधिकारीको स्वीकारोक्ति छ ।

सीमा क्षेत्रबाट भारततर्फ पेट्रोलियम पदार्थको चोरी तस्करी बढेसँगै निगमले गत महिना सबै प्रादेशिक कार्यालयलाई परिपत्र गर्दै सीमानाकामा हुने पेट्रोलियम पदार्थको अपचलन नियन्त्रणको कार्ययोजना कार्यान्वयन गर्न निर्देशन दियो । इन्धन तस्करी रोक्न कार्यालयलाई दैनिक सीमानाका क्षेत्रका न्यूनतम पाँच वटा पेट्रोलपम्पको निरीक्षण, आफ्नो बिक्री क्षेत्रभित्र परेका तथा नेपाल–भारत सीमानाकादेखि हुलाकी राजमार्गसम्मका पेट्रोल पम्प, हुलाकी राजमार्गमा अवस्थित पेट्रोलपम्प तथा हुलाकी राजमार्गबाट उत्तरतर्फ न्यूनतम पाँच किलोमिटर क्षेत्रभित्रका पेट्रोलपम्पको बिक्री अनुगमन गर्न निर्देशन दिइएको निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी बताए ।

‘गाडीको फ्युल ट्यांकीमा मात्र इन्धन भर्न पाउने, भारततर्फ जाने ट्यांकर, ट्रक, टेलर, ट्याक्टरलगायत सवारी साधनको सिमानामा जाँच गर्न स्थानीय प्रहरीसँग अनुरोध गरी जाँच गर्ने र भारतीय ठूला सवारी साधनलाई फ्युल ट्यांकीमा बढीमा १०० लिटर मात्र इन्धन दिने व्यवस्था गरिएको छ’, उनले भने । सीमा क्षेत्रका पेट्रोल पम्पलाई ड्रम, जर्किन तथा अन्य उपकरणमा पेट्रोल, डिजेल बिक्री वितरण गर्न रोक लगाइएको उनले बताए । पानी तान्ने पम्प तथा अन्य कृषि उपकरण र मेशिन सञ्चालन गर्ने प्रयोजनका लािग जर्किनमा बिक्री वितरण गर्नुपर्ने भएमा पेट्रोल पम्पले किसानका लािग आवश्यक मासिक परिमाणको घोषणा गर्नुपर्ने र लगत राखी बिक्री गर्नुपर्नेछ ।

पेट्रोलियम पदार्थ तस्करी गर्ने, ढुवानीमा अपचलन गर्ने ट्रक तथा ट्यांकरलाई पेट्रोलियम पदार्थ ढुवानी विनियमावली, २०७३ र पेट्रोलपम्पलाई बिक्रेता नियमावली, २०७५ अनुसार कारवाही गरिएको उनले बताए । ढुवानी विनियमाली २०७३ ले ट्रक ट्यांकरमा स्वीकृत मापदण्डबाहेकका अन्य फिटिङ्स जडान गरी निगमलाई हानी पुर्याएको भेटिए हानी नोक्सानीको दोब्बर रकम ढुवानीकर्ताबाट असुल गरिने व्यवस्था गरेको छ । ढुवानी अपचलन गर्ने ट्रक तथा ट्यांकरलाई ढुवानीमा बन्देज लगाउन सकिनेछ । त्यस्तै निगमको निर्देशनविपरीत इन्धन बिक्री गर्ने बिक्रेताको इजाजत खारेजी गर्न सक्नेसम्मको व्यवस्था रहेको छ ।

नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासंघका महासचिव विश्वप्रसाद अर्याल नेपाल–भारत खुला सीमाका कारण पेट्रोलियम पदार्थको अवैध कारोबार भइरहेको स्वीकारछन् । ट्यांकरमा स्वीकृत मापदण्डविपरीतका संरचना बनाएर चालक नै इन्धन तस्करीमा संलग्न भएको पाइए पनि कतिपय घटनामा निगमका कर्मचारीको पनि संलग्नता रहेको उनको जिकिर छ । पेट्रोलियम पदार्थको चोरी तस्करी नियन्त्रण गर्न र संलग्नलाई कडा कारवाही गर्नुपर्नेमा जोड दिँदै उनी त्यसमा आफूहरुको सहयोग रहने बताए ।

प्रतिक्रिया