राष्ट्रपतिको बंगलादेश भ्रमण : नेपाललाई नयाँ पारवहन मार्ग

काठमाडौं । नेपालले बंगलादेशसँग सहज ठानिएको नयाँ पारवहन मार्ग पाउने भएको छ । नेपाली बस्तु निर्यात र विदेशीवस्तु आयात गर्न सहज ठानिएको रोहनपुर–सिंहबाद रेलरुट पारवहन मार्ग पाउने भएको हो । बंगलादेश र भारतको सिमा जोडिएको यो रुटबाट यसअघि नेपालले सामान ल्याउन लैजान पाएको थिएन ।

भारतको कोलकत्ता बन्दरगाह भन्दा बंगलादेशको बन्दरगाहसम्म पुग्न यो रुटले सहज बनाउने अपेक्षा गरिएको छ । नेपालले सन् २०११ देखि यो मार्ग प्रयोगगर्न अनुमति माग गरेको थियो । तर, बंगलादेशतर्फ ब्रोडगेज नभएका कारण अनुमति पाएको थिएन । बंगलादेशले अक्टुबरमै अनुमति दिईसकेकाले अहिले त्यहाबाट खरिद गरेर ल्याइएको मल पनि सोही रुटबाट आएको हो । राष्ट्रपति विद्यादेवी भण्डारीको चैत्र ९ र १० गते हुने बंगलादेशको राजकीय भ्रमणका बेला औपचारिक रुपमा सम्झौता हुने भएको छ । परराष्ट्रमन्त्री प्रदिपकुमार ज्ञवालीले शुक्रबारको प्रतिनिधिसभा बैठकमा राष्ट्रपति भण्डारीको बंगलादेशको जानकारी गराउदै पारवहन सम्झौता हुन लागेको जानकारी गराए ।

उनले दुईदिने राजकीय भ्रमणमा केही महत्वपूर्ण एजेन्डामा सहमति हुनसक्ने जानकारी संसदलाई गराए । ‘भ्रमणका बेला केही महत्वपूर्ण सहमतिहरूमा पनि हामी निष्कर्षमा पुग्ने अपेक्षा गरेका छौँ । बंगलादेशले हामीलाई एउटा नयाँ पारवहन मार्ग दिने पनि सम्भावना रहेको छ’, उनले भने । नेपालले हाल बंगलादेशबाट दुई वटा पारवहन मार्ग प्रयोगको अनुमति पाएको छ । बिरल–राधिकापुर मार्ग र काँकडभिट्टा–फुलबारी–बंगलाबन्ध मार्ग रहेका छन् । बिरल–राधिकापुर मार्ग खासै प्रयोगमा आएको छैन । काँकडभिट्टा–फुलबारी–बंगलाबन्ध मार्ग भने रोहनपुर–सिंहबाद मार्ग भन्दा दुरीका हिसाबले छोटो रहेको छ ।

रोहनपुर–सिंहबाद मार्गमा रेल कनेक्सन नहुँदा लामो बाटो घुमेर सामान आयात–निर्यात हुने गरेका थिए । जसले गर्दा ढुवानीमा लामो समय लाग्ने र खर्चिलो समेत हुने गरेको जानकार बताउछन् । नेपालका लागि बंगलादेशका राजदूत डा. वंशीधर मिश्रले राष्ट्रपतिको भ्रमणमा रोहनपुर–सिंहबाद रेलरुट पारवहन मार्गको अनुमतिबारे औपचारिक निर्णय घोषणा हुनलागेको बताए । उनका अनुसार भविष्यमा उक्त मार्ग तेस्रो देशबाट आयातका निम्ति पनि उत्तम विकल्प हुनसक्छ ।

बंगलादेशसँग सीमा नजोडिएका कारण नेपालले पारवहन मार्गसम्म पहुँचका निम्ति भारतीय भूभागको प्रयोग गर्नुपर्छ । रोहनपुर–सिंहबादको हकमा भारतले यसअघि नै उसको रेलमार्ग प्रयोगको अनुमति दिइसकेको छ । जसले गर्दा नेपाललाई यो पारवहन मार्गले तेस्रो देशमा निर्यात र आयात गर्न सहज पुग्ने देखिन्छ । यो पारवहन सबैभन्दा छोटो र कम खर्चिलो हुन सक्ने बताइन्छ ।

भारतसँग कोलकाता र विशाखापट्नम अनि चीनसँग पनि चारवटा पारवहन मार्ग प्राप्त भइसकेको छ । बंगलादेशसँगको व्यापारमा हाल नेपाललाई घाटा भइरहेको छ । यो आर्थिक वर्षको सात महिनाको आँकडा हेर्दा नेपालले करिब ३६ करोड रुपैयाँ बराबरको निर्यात गरेको छ भने ३ अर्ब रुपैयाँभन्दा धेरैको आयात गरिरहेको छ । यो रुटको प्रयोग गरेर नेपालले बंगलादेशमा निर्यात बढाउनुपर्ने उद्योगी व्यवसायीहरुको भनाई छ । तर, बंगलादेशले नेपालबाट निर्यात हुने बस्तुमा अत्याधिक गैर भन्सार शुल्क लगाउने गरेका कारण व्यापार असन्तुलन भईरहेको छ ।

प्रतिक्रिया