सगरमाथा चढ्ने आरोही बढ्ने

काठमाडौं । कोरोना भाइरसका कारण बन्द रहेको सगरमाथा आरोहण खुल्ला भएसँगै आरोहीको संख्या बढ्ने संकेत देखिन थालेको छ । कोरोना कै कारण चीनले सगरमाथा आरोहण बन्द गरेपछि नेपालतर्फ ओराहीको संख्या बढ्ने देखिएको हो । चीन तिव्वततर्फको बाटोबाट सगरमाथा आरोहण गराउने एजेन्सीहरुका अनुसार करिव एकसयजना भन्दा बढी आरोही नेपालतर्फ बृद्धि हुने जानकारी गराएका छन् । तिब्बततर्फबाट बन्द भएपछि त्यहाबाट चढ्ने आशा गरी बसेका आरोही अन्तत नेपालतर्फ बाटै चढ्ने तयारी गरिरहेका छन् । सरकारले अहिलेसम्म बहराइनको एक टोलीलाई विश्वको सर्वोच्च शिखर सगरमाथा चढ्ने अनुमति दिइसकेको छ ।

तिव्वततर्फ आरोहण सञ्चालन गर्ने सेभेन समिट क्लव ट्रेकका प्रमुख मिङमा शेर्पाका अनुसार तिव्वततर्फ आरोहण बन्द भएपछि १३ जना सगरमाथा र १३ जना ल्होत्से गरी २६ जना आरोही नेपालतर्फ आएका छन् । अर्का कम्पनी सेभेन समिट ट्रेकका प्रमुख मिङमा शेर्पाका अनुसार चीनतर्फको बाटो हुँदै आरोहण गर्ने २० जना आरोही नेपाल तर्फबाटै आरोहण गर्ने तयारीमा जुटेको बताए । आरोही बढ्ने देखिएपछि पर्यटन विभागले पहिलो पटक सगरमाथा आधार शिविरमा डाक्टर पठाउने भएको छ । विभागले सन् २०२१ को वसन्त ऋतुमा डाक्टर पठाउन लागिएको जनाएको छ । पर्यटन विभागकी निर्देशक मिरा आचार्यले वसन्त ऋतुको आरोहण समयमा पहिलो पटक दुई जना डाक्टर सगरमाथा आधार शिविरमा पठाउन लागिएको बताइन् । डाक्टरहरूले आरोहीको आपतकालिन समस्या समाधान गर्ने छन् । आधार शिविरमा जाने डाक्टर स्वास्थ्य सेवा विभागले खटाउने छ ।

चीनको तिव्वततर्फ र नेपालतर्फबाट मात्र सगरमाथा आरोहण हुने गर्छ । करिकोप्लर कम्पनी, सेभेन समिट क्लव, फुर्तेम्वाज एडभेन्चर, आइसल्याण्ड ट्रेक लगायतले सबैभन्दा धेरै आरोही तिव्वततर्फबाट आरोहण गराउने गरेको छ । यस वर्ष भने नेपालतर्फबाट आरोहण गर्ने भएको जनाएको हो । कोरोना भाइरसको महामारीले पर्वतारोहण पर्यटनमा असर पुर्याए पनि यो वसन्त ऋतुमा सगरमाथा आरोहण गर्ने आरोहीको संख्या तीन सय जनाभन्दा बढी हुने सेभेन समिटले जनाएको छ ।

कामदार, गाइड र आरोही गरी करिव दुई हजार जनाभन्दा बढी आधारशिविर पुग्ने छन् । क्याम्प दुई भन्दा माथिको बाटो बनाउने जिम्मा समेत लिएको सेभेन समिटबाट बहराइनका राजकुमार सहित ८० जना आरोहीले सगरमाथा आरोहण गर्ने तयारीमा नेपाल आइसकेको छ । पायोनियर एडभेन्चर ट्रेकबाट १७ जना आरोही आरोहण गर्ने जनाएको छ । सगरमाथा, ल्होत्से, नुप्से र पुमोरी हिमाल आरोहणका लागि आधारशिविर एउटै प्रयोग हुने भएकाले आधारशिविरमा मानव चाप बढ्ने भएको छ ।

६९ जना माउन्टेन गाइड र ४३ जना सैनिकले बैसाख र जेठ महिनामा यि हिमालहरुबाट फोहोर संकलन गर्ने तयारी भएको छ । सगरमाथा आरोहणका लागि नेपालतर्फ सहज र सुरक्षित हुने भन्दै आरोहीहरु आउने गरेका छन् । ताजा खानेकुरा खान पाउने, तत्काल रेस्क्यू हुने, शेर्पाहरुको सामूहिक सहकार्य हुने, सुरक्षित आरोहण बाटो, भरपर्दो डोरी प्रयोग र ट्राफिक जाम रोक्न दोहोरो बाटो निर्माण हुने भएकाले आरोहीको रोजाइ नेपालतर्फ हुने गरेको छ । लकडाउनकै समय ४५ जना आरोहीले नौ वटा हिमाल आरोहण गरेको पर्यटन विभागको तथ्यांक छ । विभागका अनुसार वसन्त ऋतुमा आरोहणका लागि नुप्सेको लागि चार जना र मनास्लुका लागि एक जना आरोहीले आरोहण अनुमति लिएका छन् ।

प्रतिक्रिया