संसदमा सांसदलाई भाडा : प्रत्येक अधिवेशनमा २७ लाख खर्च

काठमाडौं । प्रतिनिधिसभाको प्रत्येक अधिवेशनमा सांसदले जिल्ला आउन जानका लागि भाडा वापत २७ लाख रुपैयाँ भन्दा बढि लिने गरेका छन् । प्रतिनिधिसभाका २७५ सांसदमध्ये १२६ र राष्ट्रिय सभाका ५९ सदस्यमध्ये ४१ सांसदले उक्त भाडा लिईरहेका छन् । संघीय संसद् सचिवालयले प्रत्येक अधिवेशन आव्हान हुँदा सांसदलाई गृहजिल्लाबाट काठमाडौं आउने र अन्त्यपछि जिल्ला फर्किनका लागि हवाई जहाज वा गाडीका लागि रकम उपलब्ध गराउने गरेको छ । टाढा नजिकको जिल्ला हेरेर रकम वितरण गर्ने गरिएको सचिवालयले जानकारी दिएको छ । अधिवेशन आह्वान भएपछि प्रत्येक अधिवेशनमा एकतर्फीका रुपमा १३ लाख ५५ हजार ९९६ रुपैयाँ टिकटबापत खर्च हुने गरेको छ । सोही रकम अधिवेशन सकिएपछि सांसदहरू घर फर्किने बेला खर्च हुने संसद् सचिवालयले उपलब्ध गराएको तथ्यांकमा उल्लेख छ ।

२०७४ सालमा भएको प्रतिनिधिसभा निर्वाचनपछि अहिलेसम्म ६ वटा अधिवेशन सकिएका छन् भने सातौ अधिवेशन सुचारु भईरहेको छ । ६ वटा अधिवेशनका लागि सम्पूर्ण सांसदलाई भाडा उपलब्ध गराईसकेको सचिवालयले जानकारी दिएको छ । संघीय सांसदहरूको प्लेन टिकट भाडामा मात्र १ करोड ६९ लाख २९ हजार ६१२ रूपैयाँ खर्च भएको छ । यो खर्च छैटौं बैठकसम्मको मात्र रहेको संघीय संसद्का सूचना अधिकारी तथा सहायक प्रवक्ता दशरथ धमलाले जानकारी दिए ।

प्रतिनिधि सभाका १ सय २६ जना सांसदले टिकट बापत एक तर्फको १० लाख २७ हजार १ सय ६६ रूपैयाँ खर्च पाउने गरेका छन् । आउदा र जाँदा गरेर २० लाख ५४ हजार ३३२ रूपैयाँ खर्च हुने गरेको तथ्यांकमा उल्लेख छ । त्यसैगरी राष्ट्रिय सभामा कुल ४१ जना सांसदले एकतर्फी ३ लाख २८ हजार ८३० रुपैयाँ खर्च लिने गरेका छन् । दुवैतर्फी टिकट गरेर ६ लाख ५७ हजार ६६० रूपैयाँ खर्च हुने गरेको छ । सहायक प्रवक्ता धमलाले ऐन अनुसार नै सांसदलाई अधिवेशन डाकिएको शुरूको बैठक तथा अधिवेशन सकिएर घर फर्किने बेलाको आतेजाते भाडा दिने गरेको बताए ।

सांसदले काठमाडौंमा बस्नका लागि कोठाभाडा समेत पाउने गरेका छन् । काठमाडौं उपत्यकाका सांसदले सो उक्त सुविधा लिएका छैनन् । सबैभन्दा बढि एक सांसदले २१ हजार पाँच सय र सबैभन्दा कम १ हजार ४७५ रुपैयाँ लिने गरेको देखिएको छ । सबैभन्दा बढी रकम रंगमती शाहीले पाउने गरेकी छन् । हुम्लाबाट प्रतिनिधित्व गर्ने शाहीलाई एकपटकमा प्लेन टिकटबापत सबैभन्दा बढी २१ हजार ५०० रूपैयाँ उपलब्ध गराउने गरिएको छ । निकै टाढा पुग्नुपर्ने भएकाले उनलाई बढी भाडा उपलब्ध गराउने गरिएको सचिवालयले जनाएको छ । सबैभन्दा कम भने धादिङ घर भएका खेमप्रसाद लोहनीले १ हजार ४७५ रुपैयाँ लिने गरेका छन् ।

संसद सचिवालयले प्रत्येक अधिवेशन प्रारम्भ र अन्त्यमा सांसदलाई गृहजिल्ला आउन जान भाडा उपलब्ध गराउने गर्दछ । सबैभन्दा बढि एकतर्फी साढे २१ हजार र कम १४ सय लिने गरेका छन्

राष्ट्रिय सभामा सबैभन्दा बढी शेरबाहादुर कुँवर र चक्रप्रसाद स्नेहीले जनही १४ हजार ६ सय ५० रूपैयाँ पाउने गरेका छन् । त्यसपछि महेशकुमार महराले १४ हजार ५० रूपैयाँ, हरिराम चौधरीले १३ हजार ७ सय रूपैयाँ, तारादेवी भट्टले १३ हजार ६५० रूपैयाँ पाउने गरेका छन् । सबैभन्दा कम रकम पाउने सांसद बिमला घिमिरे हुन् । उनले ३ हजार ५ सय रूपैयाँ पाउने गरेकी छन् ।

संघीय संसद् सचिवालयका एक कर्मचारीले दिएको जानकारी अनुसार कतिपय सांसदले यस्तो सुविधा छ भनेर थाहा नपाएको बताए । धेरैजसो सांसदलाई उक्त सुविधा पाउनेबारे जानकारी नभएका कारण राज्यकोषको रकमको केही बचत समेत भएको छ । धेरैजसो सांसदहरू आफ्नै गाडी नभए रिजर्भ गरेर आएको हुनाले रिजर्भबापतको रकम समेत माग्ने गरेका छन् । तर गाडी वा प्लेनको टिकटबापतको रकम मात्र दिने प्रावधान भएका कारण रिजर्भ गरेर आएपनि निर्धारित भाडा रकम मात्र दिने गरिएको छ ।

एकातर्फ जुन स्थानमा विमानस्थल छैन, त्यस क्षेत्रका सांसदहरूले नजिकको छिमेकी जिल्लाको विमानस्थलबाट काठमाडौं आउने जाने गरेका कारण प्लेन भाडा दिने गरिएको छ । अर्कातर्फ कतिपय सांसदलाई त्यो कुराको जनाकारी नभएका कारण गृहजिल्लामा विमानस्थलमा नभएर छिमेकी जिल्लामा भएपनि बसबाट नै आउने÷जाने गरेको तथा त्यसबापत मात्र खर्च लिने गरेका छन् ।

प्रतिक्रिया