नेपाल–खनाल समूहको राष्ट्रिय कार्यकर्ता भेला आज सकिँदै

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ खनाल समूहको राष्ट्रिय कार्यकर्ता भेला आज सकिँदैछ । दिउँसो छलफल गरेपछि बिहीबार अपरान्ह साँढे ५ बजे पत्रकार सम्मेलन गरेर भेला सम्पन्न गरिने प्रचार प्रसार संयोजक योगेश भट्टराईले जानकारी दिए ।

हिजो देखि ललितपुरको सानेपास्थित हेरिटेज गार्डेनमा शुरु भएको भेला महत्वपूर्ण निर्णय गर्दै सकिने बताइएको छ । पुराना कम्युनिष्ट नेताहरुलाई समेत मञ्चमा उपस्थित गराएर शुरु भएको भेलाको उद्घाटन सत्रमै नेताहरुले अध्यक्ष केपी शर्मा ओलीले नेकपा हुँदै एमालेलाई पनि विभाजन र बिसर्जन गर्न लागेको आरोप लगाएका थिए ।

खनाल–नेपाल पक्षको भेलालाई ओली समूहले समेत गम्भीरताका साथ हेरेको बताएको छ । प्रधानमन्त्री एवम् अध्यक्ष ओलीले पार्टी विधान संसोधन गरी आफूइतरका नेताको जिम्मेवारी खोसेपछि माधव नेपाल समूहले राष्ट्रिय भेला बोलाएको थियो ।

भेलाको पहिलो दिन नेताहरुले एमालेको इतिहास, संगठन र विचारका विषयमा धारणाहरु राखेका थिए । भेलामा सहभागी भएका देशभरका नेता–कार्यकर्ताको सुझाव र भावनाअनुसार निर्णय हुने नेताहरुको भनाइ छ । यो समूहले अध्यक्ष ओलीकै अहंकार, आडम्बर र गुटगत कार्यशैलीका कारण एमाले विग्रह र विभाजनको संघारमा पुगेको बताएका थिए ।

प्रतिक्रिया