खोजखबर

संकटमा कर्णाली सरकार

एमाले संसदीय दलले सरकारलाई दिएको समर्थन फिर्ता लिएपनि नेपाल समुहले समर्थन कायमै रहेको बताएपछि नयाँ विवाद

सौर्य अनलाइन २०७७ चैत ५ गते ७:२८ मा प्रकाशित

सुर्खेत । नेकपा (एमाले)ले कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाही सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । विहिवारबाट लागु हुनेगरी शाही नेतृत्वको माओवादी केन्द्रको सरकारलाई दिएको समर्थन फिर्ता लिएको हो । वीरेन्द्रनगरमा बसेको एमाले संसदीय दलको बैठकले नेकपा (माओवादी केन्द्र) संसदीय दलका नेता शाहीलाई दिएको समर्थन फिर्ता लिएको निर्णय गरेको छ । बुधबार एमाले प्रदेश संसदीय दलका नेता यामलाल कँडेलको अध्यक्षतामा दलको बैठक बसेको थियो । बैठकमा दलका २० (सभामुखसहित) सदस्यमध्ये केपी ओली समूहका १० सांसद उपस्थित रहेका दलका सचेतक गुलाबजंग शाहले बताए । बैठकले एमालेको तर्फबाट सरकारमा गएका तीनजना मन्त्री प्रकाश ज्वाला, दल रावल र नन्दसिंह बुढालाई पनि फिर्ता बोलाउने निर्णय गरेको उनले जानकारी दिए ।

दलको बैठकमा तीनजना मन्त्रीका साथै माधव नेपाल समूहका सांसद भने सहभागी थिएनन् । समथर्न फिर्ता लिएपछि शाही नेतृत्वको सरकार संकटमा परेको छ । शाहीसँग अब राजीनामा दिने वा प्रदेश सभाबाट विश्वासको मत लिने विकल्प छन् । शाहीको पार्टी माओवादी केन्द्रले भने विश्वासको मत लिने शुरुवाति प्रतिक्रिया दिएको छ । यद्यपी केन्द्रबाट कुनै निर्देशन नगएकाले के गर्ने भन्नेमा अन्यौल छ ।

यता, एमालेको नेपाल समुहले भने सरकारलाई दिएको समर्थन यथावत नै रहेको बताएको छ । नेपाल समुहका नेता एंव मन्त्री ज्वालाले सरकारको समर्थन फिर्ता लिने निर्णय विधानसम्मत नभएको र बहुमतसिद्ध पनि नहुने बताए । ‘निर्णयप्रति सहमति छैन । आधिकारिकता पनि छैन । बहुमत पनि छैन । एमाले संसदीय दल २० जनाको हो । त्यसमा १० जना मात्र उपस्थति भन्ने हल्ला छ’, उनले भने, ‘एमाले संदीय दलले समर्थन फिर्ता लियो भन्ने कुनै अर्थ छैन । दलको विधान नै बनेको छैन । विधानसम्मत बैठक पनि भएन ।’

नेकपा गठनअघि २०७४ फागुनमा तत्कालीन एमालेले संविधानको धारा १६८ (२) अनुसार सरकार गठनको लागि माओवादी केन्द्रका संसदीय दलका नेता शाहीलाई समर्थन दिएको थियो । उक्त धारामा कुनै दलको स्पष्ट बहुमत नरहेको अवस्थामा दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त प्रदेश सभा सदस्यलाई मुख्यमन्त्री नियुक्त गर्न सकिने उल्लेख छ । तत्कालीन अवस्थामा एमालेका २० र माओवादी केन्द्रका १३ सांसदको समर्थनमा शाही मुख्यमन्त्री नियुक्त भएका थिए ।

प्रतिक्रिया

पछिल्ला अपडेट्स

लोकप्रिय