दलको नेतृत्वमा त्यागको भावना आउनुपर्ने : कमल थापा

मकवानपुर । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले मुलुकलाई सवल, समृद्ध र स्वाधिनतालाई अटल राख्न राजनीतिक दलको नेतृत्वले अब निष्ठाको राजनीतिलाई जनताको सेवामा लगाउन आँट गर्नुपर्ने बेला आएको बताएका छन् ।

राप्रपा हेटौँडा उपमहानगरपालिकाका नवनिर्वाचित पदाधिकारीको शपथग्रहण समारोहलाई आज सम्बोधन गर्दै उनले बाह्य शक्तिको दबाब र प्रभावले राजनीतिक दलका नेतृत्वमाथि अनावश्यक हस्तक्षेप बढ्दै गएकामा चिन्ता व्यक्त गरे ।

अध्यक्ष थापाले राष्ट्रमा सबै शक्तिको विचार अटाउन सक्ने मौलिक व्यवस्थाको आवश्यकता परेको चर्चा गर्दै अहिले देशमा सनातन हिन्दू संस्कार र राजसंस्थाको अभिमत बुझेर सबैको सहकार्यबाट नेपाललाई शान्ति क्षेत्रका रुपमा अघि बढाउनुपर्नेमा जोड दिए ।

उनले राजनीतिक नेतृत्वले सत्ताको प्रतिस्पर्धालाई जनताको गास, बास र कपास, शान्ति सुरक्षाको व्यवस्थापन तथा प्रजातन्त्रको सुदृढीकरणका लागि त्याग गर्न आवश्यक रहेको बताए ।

सो कार्यक्रममा केन्द्रीय सदस्य क्रमशः मधु अधिकारी, राजाराम बर्तौला र गणेश थापाले राष्ट्रिय महाधिवेशनका सन्दर्भमा सङ्गठनलाई दरिलो तुल्याउनुपर्ने तथा नेता– कार्यकर्ताले गुटबन्दीबाट अलग भई पार्टीको नीति सिद्धान्त र जनताप्रति सेवाभाव, मन, वचन तथा कर्मले लाग्नुपर्ने विश्वास व्यक्त गरे ।

प्रतिक्रिया