रुविनाको उत्कृष्ट शतक

काठमाडौं । नेपाली राष्ट्रिय महिला क्रिकेट टोली तथा प्रदेश एककी कप्तान रुविना क्षेत्री बेलबासेको उत्कृष्ट शतकको सहयोगमा मिलन क्रिकेट क्लबले प्रथम उप मेयर कप टि२० महिला क्रिकेट प्रतियोगिता–२०७७ को उपाधि जितेको छ । सोमबार झापाको काकड्भित्ता सरस्वती मैदानमा भएको फाइनलमा मिलन क्रिकेट क्लबले कैलाली क्रिकेट टोलीलाई ८० रनले हराउँदै उपाधि जितेको छ ।

टस जितेर पहिला ब्याटिङ रोजेको मिलन क्रिकेट क्लबले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ५७ रन बनाएको थियो । कप्तान रुविना क्षेत्रीले ६९ बलमा १७ चौका र ३ छक्का सहित १ सय ७ रनको शतकीय इनिङ खेलेकी थिइन् । अप्सरी बेगमले १७ बलमा ४ चौका सहित २३ रनको योगदान दिइन् । काजल श्रेष्ठ शून्य, रोमा थापा १२ र लाखिता राजवंशी १ रनमा आउट भइन् । भट्टले ३, कविता कुँवर र सुरु पुनले १–१ विकेट लिए ।

जितका लागि १ सय ५८ रनको विजयी लक्ष्य पछ्याएको कैलाली ७७ रनमा अल आउट भएको थियो । डली भट्ट २९ बलमा २ छक्का र १ चौका सहित सर्वाधिक २४ रन बनाइन् । आश्मा पुलामी १७ र सोभा रोकाया १० रनमा आउट भए । अन्यले दोहोरो अंकमा रन बनाउन सकेनन् । मिलन क्रिकेट क्लबका एलिसा खदियाले सर्वाधिक ४ विकेट लिइन् । रुविना क्षेत्री र निग्मा तामाङले २–२ विकेट लिए । संगिता राई र निशा शाहले १–१ विकेट लिए ।

मिलन क्रिकेट क्लबमा प्रदेश १ को टोली र कैलालीमा सुदूरपश्चिमका खेलाडी खेलेका थिए । ललितपुर मेयर कप महिला टि२० क्रिकेट प्रतियोगिता तयारीको रुपमा यस प्रतियोगिता आयोजना गरिएको थियो । पाँच खेलको प्रतियोगितामा मिलन क्लबले सबै खेल जितेको छ । प्रतियोगितामा रुविना क्षेत्री सर्वोत्कृष्ट खेलाडी घोषित भइन् । उनले नगद १० हजार प्राप्त गरिन् । उत्कृष्ट ब्याटर रुविना र बलर एलिसा खदिया घोेषित भए । दुबैले ५–५ हजार प्राप्त गरे ।

गत पुषमा दाङको लमहीमा सम्पन्न प्रधानमन्त्री कप राष्ट्रिय महिला टि२० क्रिकेट प्रतियोगितामा नेपाल एपिएफ क्लबलाई हराउँदै प्रदेश एक च्याम्पियन बनेको थियो । ललितपुर मेयर कपमा प्रदेश एक, एपिएफ, सेमिफाइनलबाट बाहिरिएका लुम्बिनी प्रदेश, सुदूरपश्चिम प्रदेशसँगै ललितपुर मेयर–११ को गरि पाँच टोली हुने छन् । ललितपुर मेयर–११ को टोलीमा प्रधानमन्त्री महिला टि२० क्रिकेट प्रतियोगितामा उत्कृष्ट प्रर्दशन गर्ने प्रदेश दुई, बागमती, गण्डकी र कर्णालीबाट खेलाडी मिलेर बनाइने छ । ललितपुर मेयर कपको विजेताले ५ लाख र उप विजेताले ३ लाख प्राप्त गर्ने छन् । प्रतियोगिता औपचारिक मिति घोषणा नभएपनि चैत ७ वा ८ गते देखि सुरु गर्ने तयारी छ ।

प्रतिक्रिया