किकर्स फुटबल क्लिनिक यसै साता सुरु हुने

काठमाडौं । काठमाडौं किकर्स फुटबल क्लिनिक यसै साता सुरु हुने भएको छ । काठमाडौं किकर्स फुटबल क्लिनिकको आयोजनामा शुक्रबारबाट क्लिनिक सुरु हुने मंगलबार आयोजित पत्रकार सम्मेलनमा किकर्सका अध्यक्ष नवीन पाँडेले जानकारी दिए । पहिलो चरणमा शुक्रबादेखि आइतबार सम्म दैनिक २ घन्टाको क्लिनिक हुने बताइएको छ । जसमा ६ देखि ९ वर्ष, १० देखि १३ वर्ष र १४ देखि १६ वर्ष समूहका बालबालिकालाई अलग अलग प्रशिक्षणमा सहभागी गराइनेछ ।

तल्लो तहबाट फुटबल सिकाउने उद्देश्यका साथ किकर्सले स्कटल्यान्डका लि मेनसनलाई प्रशिक्षक नियुक्त गरेको छ । सन् १९९४ देखि मेनसनले प्रशिक्षकको रुपमा स्कटल्यान्ड, अमेरिका, जापान, फिलिपिन्स र लाओसका विभिन्न क्लबमा प्रशिक्षण दिइसकेको बताइएको छ ।
युईएफएका बी लेभेलका प्रशिक्षक मेनसनले २०१९ मा फिलिपिन्सको राष्ट्रिय महिला टोलीको सहायक प्रशिक्षक र सहायक व्यवस्थापकको भूमिका निर्वाह गरेका थिए । पहिलो चरणको प्रशिक्षण पछि आफ्ना बच्चाहरुलाई लामो समय प्रशिक्षण गराउन चाहने अभिभावकसँगको परामर्शमा ३ महिना, ६ महिना र एक वर्ष प्रशिक्षणको तालिका सार्वजनिक गरिने किकर्सले जनाएको छ ।

खेलाडी उत्पादनको उद्देश्यसहित सुरु हुने प्रशिक्षण बुढानिकण्ठ नगरपालिकाकास्थित कपअन स्पोर्टस् सेन्टर (सिएमसी) मा सञ्चालन हुने बताइएको छ । किकर्सले ४ वर्षयता प्रशिक्षण सञ्चालन गर्दै आएपछि पछिल्लो समय कोभिड १९ का कारण स्थगित भएको थियो ।

प्रतिक्रिया