सोरठी कार्यशाला

भक्तपुर । सोरठी लोक नृत्यको ताल र भेषभूषासम्बन्धी प्रयोगात्मक तथा सैद्धान्तिक ज्ञानको कार्यशाला सुरु भएको छ । नृत्य निर्देशक संघ नेपालको आयोजना तथा नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको सहकार्यमा भक्तपुरमा मंगलबारबाट दुईदिने कार्यशाला भएको हो । नृत्य निर्देशक संघ नेपालका केन्द्रीय अध्यक्ष भुवनदास श्रेष्ठको सभापतित्वमा भएको कार्यक्रममा प्रमुख अतिथिको रुपमा भने प्रतिष्ठानका कुलपति नारायणभक्त श्रेष्ठ ‘रायन’ उपस्थित थिए । त्यस्तै, कार्यक्रममा नेपालका पहिलो नृत्य निर्देशक भैरवबहादुर थापा तथा प्रतिष्ठानका नृत्य विभाग प्रमुख नमुना शर्मा सहभागी थिए ।

लोकनृत्य समालोचक, लेखक तथा अनुसन्धानकर्ता प्रा.डा. मोतीलाल पराजुलीका अनुसार नेपालको मध्यपहाडी भागमा प्रचलित विभिन्न लोकनाटकमध्ये लोकप्रिय लोकनाटक वा गीतिनाट्यलाई सोरठी भनिन्छ । यसलाई स्याङ्जाको दक्षिणपूर्वी भागमा नचरी, पाल्पाको पश्चिमी भागमा नाचन्या भन्दछन् भने पाल्पाकै केही भागमा भने करङ् नाच भन्दछन् । यस्तै, तनहुँमा सोरठीलाई पाङ्दुरे नाच तथा मारुनी नाच पनि भन्ने गर्दछन् । पाङ्दुरे भनेको कोदो हो । कोदो पाक्ने समय (आश्विन, कार्तिक) मा देखाउने नाच भएकाले पनि यसलाई पाङ्दुरे नाच भनिएको हो । मारुनी शैलीमा यो नाच देखाइने भएकाले यसलाई मारुनी नाच पनि भनिन्छ । मारुनी शब्द महारानी शब्दको अप्रभंश रुप हो । सोरठी विशेषगरी गुरुङ, मगर, कुमाले, दरै आदि जातिमा प्रचलित नाच छ । विभिन्न नामले परिचय गराइएता पनि सोरठी मूलतः लोकनाटकका रुपमा रहेको पाइन्छ । रोमाञ्च कथामा आधारित लोकनाटक भएकाले यसमा आनुष्ठानिक तत्व, संगीत तत्व, परम्परागत भेषभूषा, गीतिनृत्य तत्व, संदिग्ध ऐतिहासिकता, मौखिक अभिव्यक्ति आदि विशेषता विद्यमान छन् ।

कार्यक्रममा बोल्दै संघका केन्द्रीय अध्यक्ष श्रेष्ठले भने, ‘नेपालमा रहेका सबै नृत्य निर्देशकले सोरठी लोक नृत्यको नाच, ताल, र भेषभुषाको एकरुपता र यसबारे सैद्धान्तिक रुपमा जान्न आवश्यक छ ।’ उनले नृत्य निर्देशकले आफूले गर्दै आएको नृत्य निर्देशनमा विशेषगरी सोरठी लोक नृत्यको बारेमा आगामी पुस्तालाई हुबहु सिकाउन सकुन् भन्ने उद्देश्य राखेर कार्यक्रमको आयोजना गरिएको जनाए ।

यस्तै, प्रतिष्ठानका कुलपति रायनले भने, ‘पहिलोपटक यो ऐतिहासिक कार्यक्रम भएको छ । हामीले नृत्य निर्देशक संघसँग सहकार्य गरेका छौँ । हामीलाई निकै खुसी लागेको छ । यसले निरन्तरता पाओस् ।’ उनले अहिलेका पुस्तालाई हाम्रो संस्कृतिका बारेमा सिकाई यसको संरक्षण, सम्बद्र्धन र प्रबद्र्धन गर्न यस्तो कार्यक्रमको आवश्यकता पर्ने बताए । समारोहमा देशभरबाट प्रेम लोप्चन, सानेबहादुर राना मगर, पुर्ण नेपाली, रोचक थापा, के.पी. पौडेल, वाद्यवादक तथा नृत्यविज्ञ खड्ग बुढा मगर लगायतका ११० जना नृत्य निर्देशकले सहभागिता जनाएका छन् ।

२०७३ सालमा स्थापित नृत्य निर्देशक संघको हालको कार्यसमितिमा भुवनदास श्रेष्ठ अध्यक्ष, प्रदीपमान श्रेष्ठ वरिष्ठ उपाध्यक्ष, सञ्जय शर्मा राजोपाध्याय उपाध्यक्ष, भावना कार्की महिला उपाध्यक्ष, नृपध्वज खत्री महासचिव, ज्ञानबहादुर महर्जन सचिव, रवि रानामगर सहसचिव, शारदा सोती शर्मा कोषाध्यक्ष, केशव कोइराला सहकोषाध्यक्ष तथा केन्द्रीय सदस्यमा याम गुरुङ, शम्भु शाही, ऋषिकेश श्रेष्ठ, रोहिया महर्जन, प्रमिला कार्की ढकाल र स्वयत्ना योञ्जन रहेका छन् । संघले वार्षिक रुपमा विभिन्न कार्यक्रमको आयोजना गरी यस क्षेत्रमा उल्लेखनीय योगदान पु¥याएका अग्रजलाई सम्मान गर्नुका साथै विभिन्न जानकारीमुलक कार्यक्रम गर्दै आएको छ । कार्यशाला गोष्ठी बुधबार सम्पन्न हुनेछ ।

प्रतिक्रिया