राष्ट्रपतिद्वारा सर्वदलीय बैठक आव्हान

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले लामो समयको अन्तरालपछि सर्वदलिय बैठक आव्हान गरेकी छन् । कोरोना महामारीका कारण यसपटक सर्वदलिय बैठक ढिला गरी बोलाइएपनि राजनीतिक हिसावले ठिक समयमा बोलाएको बताइएको छ । राष्ट्रपति कार्यालय शितल निवासमा मंगलबार अपरान्ह ४ बजे सर्वदलीय बैठक बोलाएकी छिन् । समसामयिक राजनीतिक विषयबस्तु तथा देशको पछिल्लो राजनीतिबारे छलफल गर्नका लागि राष्ट्रपति भण्डारीले संसद्‍मा प्रतिनिधित्व गर्ने दलका नेताहरुलाई बोलाएको उनका स्वकीय सचिव डा. भेषराज अधिकारीले बताए । छलफलमा नेकपा एमाले, नेपाली कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीका शिर्ष नेता र पूर्वप्रधानमन्त्रीहरु सबैलाई आमन्त्रण गरिएको छ ।

पछिल्लो राजनीतिक अवस्था र त्यसको निकास एंव अन्य समसामयिक विषयमा छलफल हुने र दलहरुलाई जिम्मेवार भएर राष्ट्रलाई निकास दिन राष्ट्रपतिले आग्रह गर्ने स्रोतले बताएको छ । सबै दल मिलेर अगाडी बढ्नु नै राष्ट्रको आवश्यकता भएकाले त्यसमा दलहरुको कुरा बुझ्न र सबै दल एकै ठाउँमा बसेर छलफल गरुन् भन्ने उदेश्य राखिएको राष्ट्रपति कार्यालय स्रोतले जानकारी दिएको छ ।

प्रतिनिधिसभा पुनःस्थापनापछि दलहरुबीच एकैठाउँमा बसेर छलफल गर्न सकेका छैनन् । मंगलबारको छलफलले सत्तारुढ र इत्तरमा रहेका दलहरुबीचको सम्वादहिनतालाई अन्त्य गर्ने बताइएको छ । बैठकमा कोरोनाको असरका विषयमा पनि छलफल हुने बताइएको छ । राष्ट्रपति भण्डारीले सोमबार अपरान्ह खोप लगाइसकेकि छन् भने नेताहरुले पनि यसअघि नै लगाईसकेका छन् । पछिल्लो समयमा दलहरुबीच बढेको अविश्वास र सत्ता समीकरणका लागि एक अर्काबीच छलफल भइरहेका बेला राष्ट्रपति भण्डारीले सर्वदलीय बैठक डाक्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

प्रतिक्रिया