बूँदलाई गजल पुरस्कार

काठमाडौं । नेपाली गजल क्षेत्रका महत्वपूर्ण योगदान दिएका प्राज्ञ बूँद राना पुरस्कृत भएका छन् । अभिनव साहित्य समाजले यस वर्षको वेदमणि अभिनव गजल पुरस्कार प्राज्ञ बूँद राना र अभिनव सम्मानबाट आख्यानकार नारायण ढकाललाई सम्मान गरेको हो । समाजको २२९औँ साहित्यिक शृंखलाका अवसरमा शनिबार जोरपाटीमा आयोजित कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति डा जगमान गुरुङले पुरस्कार एवं सम्मान प्रदान गरे । सो अवसरमा समाजका अध्यक्ष गोविन्दप्रसाद घिमिरे ‘वेदमणि’ ले कोरोनाबाट प्रभावित भई एकान्तवासमा रहेका बेला लेखेको महाकाव्य ‘अछूत’ को विमोचनसमेत गरिएको थियो ।

कार्यक्रममा उपकुलपति डा. गुरुङले काठमाडौं उपत्यकाको काँठे संस्कृतिको अध्ययन अनुसन्धानमा अभिनव साहित्य समाजले काम गर्नुपर्ने धारणा राख्दै त्यस कार्यमा सहयोग गर्न प्रतिष्ठान रहेको बताए । कार्यक्रममा सम्मानित व्यक्तित्वद्वयले साहित्यिक गतिविधिको प्रशंसा गर्दै हौसला प्रदान गरेको मन्तव्य राखे । पत्रकार एवं साहित्यकार विजय चालिसे, साहित्यकार कोषराज न्यौपाने र बमबहादुर जितालीले पुरस्कार एवं सम्मानले स्रष्टालाई हौसला मिल्ने बताए । मेनका पोखरेल आचार्यले सम्मानित व्यक्तित्वद्वयको कृतित्व र व्यक्तित्वका विषयमा र परशुराम पराजुलीले लोकार्पित पुस्तकका विषयमा प्रकाश पारेका थिए । साहित्यकार घिमिरेले कोरोना भाइरस संक्रमित भएका बेलाका अनुभव पुस्तकमा उतारेको जनाइएको छ ।

कार्यक्रममा २२९औँ नियमित कवि गोष्ठीअन्तर्गत सुशील आचार्य, बद्रीप्रसाद सुवेदी, गोविन्द महत, डा शेषराज आचार्य, ओम कोइराला, मानन्धर अभागी, खोलोघरे साइलो, सिर्जना शर्मा, दिव्यलक्ष्मी पोखरेल, शान्ति रिसाल, दुर्गा अधिकारी, अच्युत पौडेल चिन्तन, गणेश खतिवडालगायत कवि एवं कवयित्रीले कविता वाचन गरेका थिए । सयभन्दा बढी साहित्यकारको उपस्थिति रहेको सो कार्यक्रममा दर्जन बढी स्रष्टाले रचना वाचन गरेका थिए । प्रत्येक महिनाको अन्तिम शनिबार समाजले जोरपाटीमा कवि गोष्ठी आयोजना गर्दै आएको छ ।

प्रतिक्रिया