कोरोना जोखिमले आनीबानीमा सुधार

सुदूरपश्चिम । धनगढी उपमहानगरपालिकाका वीरबहादुर खाती कोरोनाको समस्यापछि बजारमा पाइने खाजा खान डराउँछन् । खानै परेमा धुलोधुवाँ नभएको र सरसफाइ भएको होटेलमा पुगेर एक्लै खाजा खान्छन् । ‘कोरोनाले स्वास्थ्यप्रति सजगता अपनाउन सचेत गराएको छ’, स्थानीय एक होटेलमा भेटिएका उनले भने, ‘छरछिमेकका कतिपय व्यक्ति पनि आफ्नो सरसफाइमा सचेत देखिन थालेका छन् ।’

प्रदेश सरकार, आर्थिक मामिला तथा योजना मन्त्रालयका कर्मचारी सुरज श्रेष्ठ घरबाहिर बजारमा पाइने ‘ड्राइ फुड’ खाजा खानुहुन्न भन्ने चेतना सर्वसाधारणमा बढेको बताउँछन् । उनले भने, ‘घरबाहिर पाइने ड्राइ फुडजस्ता चीज खानुहुन्न भन्ने चेतना जागेको छ, कतिपय युवायुवतीमा पछिल्ला दिनमा मास्क लगाउनमा बेवास्ता गर्ने गरिएको देखिए पनि बुझेका सबैले मास्क लगाउन छाडेका छैनन् ।’ महामारीका रूपमा देखिएको कोरोना भाइरसले उद्योग, व्यापार, व्यवसायलगायत सबै क्षेत्रमा प्रतिकूल प्रभाव परेको छ । यो रोगको समस्यासँगै अधिकांश मानिसको आनीबानी भने फेरिन थालेको देखिएको छ ।

सुदूरपश्चिम प्रदेशमा कोरोना भाइरसको संक्रमण पछिल्ला महिनामा घट्दो क्रममा छ । सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखाका प्रमुख नरेन्द्रसिंह कार्कीले कोभिड–१९ को संक्रमण घट्दो क्रममा रहे पनि जोखिम भने नहटेको बताए । उनले भने, ‘जोखिम नघटिसकेकाले संक्रमित क्षेत्र भारतबाट प्रदेशमा भित्रिनेलाई सीमामा स्थापना गरिएको हेल्थ डेस्कमार्फत स्वास्थ्यसम्बन्धी सचेतनाका साथै १० दिन क्वारेन्टिनमा बस्न सल्लाह दिने गरेका छौँ ।’

प्रदेशमा हालसम्म कोरोना भाइरसका शंकास्पद कुल १ लाख ३७ हजार ३ सय ९२ जनाको पिसिआर पद्धतिबाट स्वास्थ्य जाँच हुँदा १४ हजार ६६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यीमध्ये १३ हजार ८ सय ५८ जना उपचार व्यवस्थापनपछि घर फर्किएको छ । पछिल्ला महिनामा कोरोना भाइरसको नमुना संकलन र परीक्षण सुस्त भएसँगै संक्रमण हुने दरमा पनि कमी आएको छ । लक्षण देखिएको व्यक्ति र संक्रमितको सँगसँगै बस्ने व्यक्तिको मात्र नमुना संकलन र परीक्षण गर्ने पछिल्लो पटकको मापदण्डका कारण नमुना संकलनमा पहिलेको भन्दा कमी आएको स्वास्थ्यकर्मीको भनाइ छ । कोरोनाजस्तो लक्षण देखिने कतिपय व्यक्तिले नमुना जाँच गराउन आनाकानी गर्ने गरेकाले पनि नमुना संकलनमा कमी आएको जनाइएको छ ।

गत पुसमा एक जना संक्रमितको मृत्यु भई जम्मा मृतकको संख्या ५६ पुगेकामा त्यसयता यो रोगका कारणले हुने मृत्यु दर शून्य छ । होम आइसोलेसन र प्रदेश बाहिरका जिल्लामा मृत्यु हुने कतिपयको तथ्यांक भने मन्त्रालयसँग छैन । हाल प्रदेशमा कोरोनाका १ सय ५२ सक्रिय केस होम आइसोलेसनमा बसेका छन् । संक्रमित चार बिरामीमध्ये दुईको महाकाली अस्पताल, एकको जोगबुढा अस्पताल र एकको डडेलधुरा अस्पतालमा उपचार भइरहेको छ ।

संक्रमण दर घट्दा कोभिड–१९ को उपचार व्यवस्थापनका लागि सेती प्रादेशिक अस्पताल धनगढीमा स्थापना गरिएको कोरोना अस्पतालका शय्या खाली छन् । कोरोनाविरुद्धको खोप नेपाल सरकारले सुदूरपश्चिम प्रदेशमा उपलब्ध गराएको पहिलो र दोस्रो चरणमा गरी आजसम्म १ लाख ३७ हजार ९ सय ५० जनालाई दिइसकिएको स्वास्थ्य महाशाखा प्रमुख कार्कीले जानकारी दिए ।

पहिलो चरणमा कोभिड–१९ को उपचार व्यवस्थापनमा खटिने स्वास्थ्यकर्मी, सरसफाइकर्मी, एम्बुलेन्स र शववाहन चालक, शव व्यवस्थापनमा खटिनेलाई यो खोप दिइएको थियो । दोस्रो चरणमा हाल ५५ वर्षमाथिका व्यक्तिलाई यो खोप दिन थालिएको छ । खोपबाट हुन सक्ने सम्भावित असरको व्यवस्थापनका लागि प्रत्येक खोप केन्द्रमा चिकित्सकसहितको टोलीको व्यवस्था गरिएको छ । कम्तीमा पनि प्रत्येक पालिकामा कम्तिमा एक खोप केन्द्रको व्यवस्थापन गरी खोप लगाउने काम भइरहेको छ । खोपको उपलब्धताका आधारमा अन्य उमेर समूहका व्यक्तिलाई पनि यो खोप लगाउने तयारी भइरहेको छ ।

खोप लगाइसकेपछि कतिपयलाई स्वास्थ्यमा समान्य जटिलता उत्पन्न भइरहेको देखिएको छ । ‘खोप लगाउँदा स्वास्थ्यमा हुन सक्ने जोखिमबाट कतिपय डराउन थालेका छन्’, स्थानीयवासी लेखराज ओझाले भने, ‘आफू पनि खोप लगाउने कि नलगाउने भन्नेमा अन्योलमै छु ।’ चिकित्सकहरू भने विश्व स्वास्थ्य संगठन र नेपालको स्वास्थ्य सेवा विभागले स्वीकृत गरिसकेको ‘कोभिशिल्ड’ खोप ढुक्क भएर लगाउन सकिने सुझाव दिन्छन् । कोरोना भाइरस संक्रमणको जोखिम टरेको छैन । कतिपयमा आनीबानी फेरिन थाले पनि तोकिएको मास्क लगाउनेहरू कम हुँदै जाँदा कोरोना संक्रमणको जोखिम यथावत् रहेको हो ।

प्रतिक्रिया