भैरवको अभिनन्दन

काठमाडौ । वरिष्ठ पत्रकार एवं लेखक भैरव रिसाल (१९८५) लाई अभिनन्दन गरिने भएको छ । शंकर लामिछाने प्रतिष्ठानले प्रसिद्ध निबन्धकार शंकर लामिछानेको ९४औँ जन्मोत्सव समारोहमा रिसाल (१९८५) लाई अभिनन्दन गर्ने निर्णय गरेको हो । आगामी ५ चैतमा एक समारोहको आयोजना गरी रिसालसहित दया फाउन्डेसनलाई सम्मान गर्ने प्रतिष्ठानले जनाएको छ ।

रिसालका साधुलाई सुली (जेल डायरी), लोग्ने स्वास्नी र केही मित्रका चिठी (सन् २००१) लगायतका कृति तथा विभिन्न फुटकर रचना प्रकाशित छन । त्यस्तै, दया फाउन्डेसनले सामाजिक रुपमा शिक्षा, स्वास्थ्य र सस्कृति लगायतका क्षेत्रमा योगदान दिँदै आएको छ । साथै फाउन्डेसनले शंकर लामिछाने प्रतिष्ठानलाई समेत सहयोग प्रदान गर्दै आएको छ । यसैगरी अग्रज स्रष्टा गणेश रसिकलाई नगद पचास हजार राशिसहितको शंकर लामिछाने निबन्ध पुरस्कार प्रदान गर्ने निर्णय गरेको प्रतिष्ठानका अध्यक्ष राधेश्याम लेकालीले बताए ।

उनका अनुसार प्रतिष्ठानले निबन्धकार प्रतीक ढकाललाई नगद पच्चीस हजार राशिसहितको शंकर लामिछाने युवा निबन्ध पुरस्कार प्रदान गर्ने निर्णय गरेको छ । स्रष्टा रसिकका सस्मरण कृति ‘जब सिस्नुहरु टेक्दै हिंडे’ (२०५५), ‘दश गजामा उभिएर’ (२०६३) लगायत कृति प्रकाशित छन् । नियात्राकार ढकालका वियोन्ड द हिमालयज (२०५९), हिमालपारी पुगेपछि (२०६१), सेती पनि काली पनि (२०६३), सगरमाथाको आधारशिविरबाट (२०६३) लगायतका पुस्तक प्रकाशित छन् ।

प्रतिक्रिया