म्याड्रिडको ६ अंकको अग्रता

मड्रिड । स्पेनिस ला लिगामा एट्लेटिको म्याड्रिडले स्पष्ट ६ अंकको अग्रता लिएको छ । बुधबार राति घरेलु मैदानमा एक गोलले पछि परेको स्थिति उल्ट्याएर एथलेटिको बिल्वाओमाथि २–१ को जित निकाल्दै शीर्षस्थानमा स्पष्ट अग्रता कायम गरेको हो । एट्लेटिकोको २६ खेलबाट ६२ अंक रहेको छ । समान खेलबाट दोस्रो स्थानमा रहेको बार्सिलोनाको ५६ अंक छ । तेस्रो स्थानमा रहेको रियल म्याड्रिडको ५४ अंक छ । पराजित बिल्वाओ ३३ अंक जोडेर आठौं स्थानमा रहेको छ ।

वान्डा मेट्रोपोलिटानोमा घरेलु टोलीको जितमा मार्काेस लोरेन्टे र लुइस सुआरेजले गोल गर्दा बिल्वाओका इकर मुनिएनको गोल सान्त्वना बन्यो । खेलको २१औं मिनेटमा इकर मुनिएनको गोलबाट बिल्वाओले अग्रता लिएको थियो । उनले इनाकी विलियम्सको पासमा गोल गरेका थिए ।

पहिलो हाफको इन्ज्युरी समयको थप गरिएको दोस्रो मिनेटमा मार्काेस लोरेन्टेले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए । उनले थोमस लेमारको पासमा गोल गरेका थिए । ५१औं मिनेटमा लुइस सुआरेजले पेनाल्टीमार्फत गोल गर्दै एट्लेटिकोलाई २–१ को अग्रता दिलाए । त्यसपछि पनि बिल्वाओलाई दवावमा राखेपनि थप गोल निस्कन नसक्दा एट्लेटिको २–१ ले विजयी हुन सफल भयो ।

प्रतिक्रिया