‘बि’ डिभिजन लिग : सातदोबाटोले आरसिटीलाई हरायो

काठमाडौं । दुई खेलअघि नै लिग च्याम्पियन बनेको सातदोबाटो युथ क्लबले लिगको अन्तिम खेलमा रानी पोखरी कर्नर टिम (आरसीटी) लाई १–० ले पराजित गर्दै सुखद अन्त्य गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा बिहीबार भएको खेलमा सातदोबाटोको जितमा मल्दिना आङ्थुपोले दोस्रो हाफमा गरेको गोल नै निर्णायक बन्यो । ३४औं मिनेटमा कप्तान अमर डंगोलको प्रहारलाई सातदोबाटोका गोलरक्षक सनम राईले डाइभ दिदै बचाउदा रानी पोखरी कर्नर टिम (आरसीटी) अग्रता लिनबट चुक्यो । ६७औं मिनेटमा उज्वल शाहीको हेडर प्रयास गर्दा गोलरक्षक सरोज तामाङ अघि बढ्दा मल्दिना आङथुपोले भलीमा गोल गर्दै सातदोबाटोलाई १–० को अग्रता दिलाए ।

त्यसपछि थप गोल निस्कन नसक्दा सातदोबाटो १–० ले विजयी हुन सफल भयो । पराजित आरसिटी ११ खेलबाट १३ अंक जोडेर आठौं स्थानमा रह्यो । लिगमा १२ टोलीको सहभागिता रहेको लिगबाट सातदोबाटोे शीर्ष डिभिजनमा बढुवा हुदा पुल्चोका स्पोर्टिङ क्लब ५ अंक जोडेर रेलिगेसनमा प¥यो । सातदोबाटोले लिगमा ११ खेलबाट २८ अंक जोड्यो । लिगमा सातदोबाटोले ९ जित १ बराबरी र १ हारको नतिजा निकाल्यो । सातदोबाटो मध्यपुरसँग २–१ ले पराजित भएको थियो ।

लिग च्याम्पियन बनेसँगै सातदोबाटो युथ क्लबले १५ लाख रुपैयाँ हात पारेका छन् । दोस्रो स्थानमा रहेको खुमलटार युथ क्लबले १० लाख रुपैयाँ तथा तेस्रो र चौथो भएको बाँसबारीले ८ लाख र ब्वाइज युनियनले ५ लाख हात पारेका छन् । खुमलटारका अन्जल श्रेष्ठ उत्कृष्ट गोलरक्षक, बाँसबारीका शिव गुरुङ उत्कृष्ट डिफेन्डर, सातदोबाटोका दिनेश राई उत्कृष्ट मिडफिल्डर, खुमलटारका सविन केसी उत्कृष्ट फरवार्ड र सातदोबाटोका सनोज श्रेष्ठ उत्कृष्ट प्रशिक्षक चुनिए । उनीहरु सबैले समान २५ हजार रुपैयाँ हात पारे । विजेतालाई ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जन, अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष कर्माछिरिङ शेर्पालगायतले पुरस्कृत गरे ।

प्रतिक्रिया