‘बहुमतको सरकार ढाल्ने प्रयासमा लागेका नेताहरुलाई आत्मआलोचनाको मौका दिन्छौं’

वीरगंज । उपप्रधानमन्त्री इश्वर पोखरेलले बहुमतको सरकार ढाल्ने प्रयासमा लागेका नेताहरुलाई आत्मआलोचनाको मौका दिइने बताएका छन् । बिहीवार प्रेस संगठन पर्साले वीरगंजमा आयोजना गरेको पत्रकार सम्मेलनमा बाल्दै नेकपा एमालेका समेत रहेका उपप्रधानमन्त्री पोखरेलले माओवादी केन्द्रतर्फ लागेर बहुमतको सरकार ढाल्ने प्रयासमा लागेका वरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ खनाललाई एक पटक आत्मआलोचनाको मौका दिइने बताए ।

उनले पार्टीमा उनीहरुको विषयमा गहन छलफल भइरहेको बताए । ‘माओवादीबाट आएका साथीहरुलाई सम्मानको साथ जिम्मेवारी र पद दिइन्छ भने नेकपा एमालेको लाइन बिर्सेर माओवादीतिर लागेको साथीहरु पनि एमालेमै फर्किनु भएको छ,’ उनले भने, ‘उहाँहरुको बारेमा पनि पार्टीको केन्द्रीय कमिटिमा छलफल गरी जे निर्णय हुन्छ त्यही अनुसार जिम्मेवारी र स्थान दिइने छ ।’

नेपाल भारत सीमा पूर्ण रुपमा खोल्नु पर्ने माग सीमावर्ती क्षेत्रको नागरिकको अवाज उठिरहेको सवालमा उनले स्थनीय जिल्लाका संकट व्यवस्थापन केन्द्रले सीमा खोल्नुपर्ने निर्णय गरेर उच्च स्तरीय संकट व्यवस्थपन समितिमा पठाएपछि आफू उक्त समितिको संयोजकको नाताले गृह मन्त्रालसँग छलफल गरी सीमा खोल्न पहल गर्ने प्रतिबद्धता उनले जनाए । पोखरेल रौतहटको मौलापुर नगरपालिकाको पत्रौरामा महाशिवरात्रिको दिन आयोजित महायज्ञको कार्यक्रममा सहभागी हुन हिजो राति वीरगंज आइपुगेका हुन् ।

प्रतिक्रिया